कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औद्योगिक धुलोको नाममा सुर्ती आयात, अनुसन्धानमा ढिलाइ

भूषण यादव

वीरगन्ज — आयातकर्ताले तेस्रो मुलुकबाट औद्योगिक धुलोको नाममा सुर्ती आयात गरेको पाइएको छ । कम्बोडियाबाट भारत हुँदै वीरगन्ज सुक्खा बन्दरगाह आएको दुईवटा कन्टेनर जाँचपास गर्ने क्रममा औद्योगिक धुलोको सट्टा सुर्तीलगायत अन्तशुल्कजन्य सामान बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

औद्योगिक धुलोको नाममा सुर्ती आयात, अनुसन्धानमा ढिलाइ

दुईवटा कन्साइनमेन्टमा उस्तै–उस्तै प्रकृतिका सामान आएका छन् । अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले कार्यालयले आयातकर्ताको नाम सार्वजनिक गरेको छैन ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार औद्योगिक धुलो घोषणा गरिएका दुईवटा कन्टेनरबाट सुर्ती बरामद भएको हो । उनका अनुसार गलत घोषणा गर्ने आयातकर्तालाई ७ करोड ७५ लाख रुपैयाँ जरिवाना गर्ने कार्यालयको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

दुईवटै कन्टेनरमा सुर्ती ल्याएका आयातकर्ताको मालवस्तु जाँचपास गर्ने क्रममा एउटा कन्टेनर भन्सारको रातो मार्ग (रेड लेन) मा स्वघोषणा भएको थियो भने दोस्रो कन्टेनर पहेँलो मार्ग (यलो लेन) मा परेको थियो । ‘भन्सार जाँचपास हुने क्रममा रातो मार्गमा परेको सामानको कागजपत्रका साथै भौतिक परीक्षण पनि गरिन्छ,’ सूचना अधिकृत न्यौपानेले भने, ‘पहेँलो मार्गमा आएका सामानको कागजात मात्र जाँच गर्ने गरिएको छ ।’ भन्सार कार्यालयका अनुसार जाँचपासका लागि रातो मार्गमा स्वघोषणा भई कैफियत फेला पर्दा सामान जफत गरी सय प्रतिशत जरिवाना गरिन्छ भने पहेलो मार्गमा गलत घोषणा गरेको फेला पर्दा सामान जफत गरी २ सय प्रतिशत जरिवाना गर्ने प्रावधान रहेको छ ।

‘रातो मार्गमा जाँचपास भएको सामान जफत गरी ३ करोड ४४ लाख र पहेँलो मार्गमा जाँचपास भएको सामान जफत गरी ४ करोड ३१ लाख रुपैयाँ जरिवाना निर्धारण गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ न्यौपानेले भने, ‘अनुसन्धान सकिएपछि आयातकर्तालाई जानकारी गराउँछौँ ।’ आयातकर्ताले खटाएका प्रतिनिधि, इन्टरमोडल, क्वारेन्टाइन, प्रहरीको रोहबरमा गत वैशाख अन्तिम साता सुक्खा बन्दरगाह भन्सार कार्यालयले सामान चेक गरेको थियो ।

अनुसन्धानमा ढिलाइ

औद्योगिक धुलो बोकेको कन्टेनर चेकका लागि आयातकर्ताले गत २०७९ साउन १८ मा कागजपत्र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पेस गरेका थिए । आयातकर्ताले कागजात पेस गर्दा अन्तशुल्क इजाजत पत्र प्राप्त गरेको थिएनन् । स्वघोषणा गर्ने क्रममा एउटा कन्टेनर रातो मार्गमा र अर्को पहेँलो कन्टेनरमा परेको थियो । सामानको जोखिम हरेर भन्सारले ‘एचएस कोड’ अनुसार नै सामानको वर्णीकरण गरिदिएको हुन्छ । आयातकर्ताले स्वघोषणा गर्दा एचएस कोडको आधारमा सामान रातो मार्ग, पहेँलो मार्ग र हरियो मार्गमा चेक हुने गरेका छन् । औद्योगिक धुलो स्वघोषणा भएको एउटा कन्टेनर रातो मार्गमा परेपछि भौतिक परीक्षण हुँदा सुर्ती बरामद भएको थियो ।

झन्डै १० महिनाअघि सामानको गलत घोषणा गरी आयातकर्ताले जाँचपास गराउन खोजेका थिए । औद्योगिक धुलोको नाममा सुर्तीलगायत अन्तशुल्कजन्य सामान ल्याएको बरामद हुँदा पनि भन्सारले जाँचमा ढिलाइ गरेको छ । १० महिनापछि मंगलबार अनुसन्धान अधिकृतले प्रारम्भिक रिपोर्ट भन्सार कार्यालयमा बुझाएका छन् । सूचना अधिकृत सन्तोषकुमार न्यौपानेले कार्यालयले यसअघि तोकेका अनुसन्धान अधिकृतले काम नगरिदिएकाले ढिलाइ हुन पुगेको बताए ।

भन्सार कार्यालयका एक अधिकृत औद्योगिक धुलोको नाममा सुर्ती ल्याएको कन्साइनमेन्ट अनुसन्धानका लागि यसअघि जसलाई जिम्मेवारी दिइएको थियो, उनले सेवानिवृत्त हुने बेला विवादित विषयमा हात नहालेको हुन सक्ने बताए । ती अधिकृत भने सेवानिवृत भइसकेका छन् ।

गत वैशाख १८ मा कार्यालयले अर्को अनुसन्धान टोली बनाएको थियो । उक्त टोलीले मंगलबार रिपोर्ट भन्सार कार्यालयमा बुझाएको हो । ‘ठूलो जरिवाना लगाउँदा हतार–हतार नगरी विधि प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ,’ सुक्खा भन्सारका सूचना अधिकृत न्यौपानेले भने, ‘यसअघि जुन अफिसरलाई अनुसन्धान गर्न तोक लगाइएको थियो, उनले काम नै गरेनन्, रिटायर्ड भए, अर्को अफिसरको टोलीले अनुसन्धान गरी फाइल बुझाएको छ ।’ आयातकर्तालाई सुनवाइको मौका दिई जरिवाना असुल गरिने भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८० १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?