कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

घट्न थाल्यो ब्याजदर

स्प्रेडदरको व्यवस्थाका कारण कर्जाको ब्याजदर पनि घट्ने, व्यक्तिगत मुद्दती खातामा वैशाखदेखि अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज पाइने
कमल नेपाल

काठमाडौँ — वाणिज्य बैंकहरूले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको हो । संघको नयाँ निर्णयपछि ग्राहकले बैंकबाट पाउने ब्याजदर एकल अंक (१० प्रतिशतभन्दा कम) मा झर्ने भएको छ । व्यक्तिगत मुद्दती खातामा बैंकले वैशाखदेखि अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् । 

घट्न थाल्यो ब्याजदर

गत पुस मसान्तसम्म व्यक्तिगत मुद्दती खातामा अधिकतम १२.१३३ प्रतिशतसम्म ब्याज दिँदै आएका वाणिज्य बैंकहरूले माघदेखि लागू हुने गरी ११ प्रतिशतमा झारेका थिए । वैशाखदेखि लागू हुने गरी थप १.१ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् । संस्थागत खातामा वैशाखदेखि बैंकले ७.९ प्रतिशतसम्म ब्याज दिनेछन् । हाल संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज छ । व्यक्तिगतभन्दा संस्थागत मुद्दतीको ब्याजदर २ प्रतिशत विन्दु कम हुनुपर्ने व्यवस्था छ । त्यस्तै साधारण बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याज दिनेछन् ।

हाल बैंकहरूले बचतमा न्यूनतम ६ प्रतिशत ब्याज दिँदै आएका थिए । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले निक्षेपको स्रोतका रूपमा रहेको रेमिट्यान्स, शोधनान्तर स्थितिलगायत बाह्य सूचकमा सुधार आएकाले ब्याजदर घटाइएको बताए ।

‘यो आर्थिक वर्षमा कर्जा प्रवाह बढ्न सकेको छैन, केही ब्याजदर घटाएर पनि सन्देश दिन खोजेका हौं,’ उनले भने । दुई कारणले कर्जाको ब्याजदर पनि वैशाखदेखि नै घट्ने उनको भनाइ छ । ‘माघदेखि लागू हुने गरी बैंकले बचत तथा मुद्दती खाताको ब्याजदर घटाएकाले आधार दर घट्दा कर्जाको ब्याजदर वैशाखदेखि घट्छ,’ उनले भने, ‘हाल ४.४ प्रतिशत रहेको स्प्रेडदर वैशाखदेखि ४.२ मा झार्नुपर्ने व्यवस्थाअनुरूप सोभन्दा माथि भएकाले कर्जाकै ब्याज घटाउने हो ।’

बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याज र ऋणीबाट लिने औसत ब्याजको अन्तर नै स्प्रेडदर हो । राष्ट्र बैंकले यस्तो दर चैत मसान्तसम्म ४.२ र असार मसान्तसम्म ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । यस कारण साउनदेखि कर्जाको ब्याजदर अझै घट्ने छ ।

‘वैशाखदेखि निक्षेपमा घटेको ब्याजदरले आधार दर थप घट्दै जानेछ, जसले गर्दा असार मसान्तमा आधार दर गणना गर्दा सोअनुरूप साउनदेखि कर्जाको ब्याजदर थप घट्नेछ,’ उनले भने । हाल वाणिज्य बैंकहरूले कुनै पनि ऋणीबाट १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् ।

बुधबार बिहान बैंकहरूले वैशाखदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारले ९२ अंकको छलाङ मारेको छ । कारोबार सुरु भएदेखि नै बढेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशतले बढेर १९६३ अंकमा पुगेको हो । परिसूचक मात्रै नभई कारोबार रकमसमेत दोब्बर भएको छ । बुधबार कुल १ अर्ब ९७ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । मंगलबार ९४ करोड रुपैयाँको कारोबार भएको थियो । बुधबार कारोबार भएका सबै २१८ कम्पनीको सेयर मूल्य बढ्यो ।

बैंकिङ ६६, विकास बैंक १९७, फाइनान्स १०८, होटल तथा पर्यटन ११८, जलविद्युत् १२०, जीवनबिमा ४४२, उत्पादन २१८, माइक्रो फाइनान्स १७२, निर्जीवन बिमा ३४३, अन्य ४७ र व्यापार उपसमूह ८४ अंक बढे । आइतबार १८३८ अंकसम्म झरेको सेयर बजारले सो विन्दुमै टेवा पाएर बढ्न सक्ने कतिपयको अनुमान छ । त्यसअघि दुई पटकसम्म सोही अंक नजिक बजारले टेवा पाउँदै आएको थियो । सोमबार ५, मंगलबार २७ र बुधबार ९२ अंक गरी तीन दिनमा बजार १२४ अंकले बढिसकेको छ ।

ब्याजदर घट्नु तथा राष्ट्र बैंकको सकारात्मक प्रतिक्रिया आउँदा बजारलाई सकारात्मक प्रभाव परेको सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले बताए । ‘अब ब्याजदर घट्दै जाने देखिन्छ, अर्कोतर्फ राष्ट्र बैंकका उच्च अधिकारीहरूले पनि बैंकिङ क्षेत्र सुरक्षित रहेको प्रतिक्रिया दिँदै आएका छन्,’ उनले भने, ‘यसले सकारात्मक माहोल बन्न गएको छ ।’ सेयर बजार तल्लो विन्दुमा आएकाले यतिबेला जोखिम पनि कम रहेको उनले बताए । ‘एकातिर अहिले सस्तो मूल्यमा सेयर पाइएको छ, अर्कोतर्फ वातावरण पनि सहज बन्दै गएको अनुभूति भएको छ,’ उनले भने ।

२०७८ भदौ २ गते ३१९८ अंकसम्म पुगेको सेयर बजार त्यसयता घटेर बारम्बार १८ सय नजिक झरेको थियो । उच्च विन्दुबाट बजार ओरालो लाग्दा २० महिनामा सेयर लगानीकर्ताले १६ खर्ब रुपैयाँ बराबरको सम्पत्ति मूल्य गुमाएका छन् । २०७८ भदौ २ गते ४४ खर्ब ६८ अर्ब पुगेको बजारको पुँजीकरण हाल (बुधबार) २८ खर्ब ५५ अर्बमा झरेको छ ।

भारत र अमेरिकामा पनि ब्याज नबढ्ने संकेत

भारत र अमेरिकाले पनि अब ब्याजदर नबढाउने संकेत गरेका छन् । भारतीय रिजर्भ बैंकको मोनिटरी पोलिसी कमिटीले हालै आफ्नो रिपो दर ६.५० प्रतिशत यथावत् राख्ने निर्णय गरेको छ ।

भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले वित्तीय स्थिरतामा थप जोखिम निम्तिन नदिन रिपो दरलाई यथावत् राख्नुपर्ने आवश्यकता रहेकाले हाललाई परिवर्तन नगरिएको बताएका छन् । त्यस्तै, अमेरिकी केन्द्रीय बैंक (फेड) का अध्यक्ष जेरोम पावेलले ब्याजदरको वृद्धि अब अन्तिम चरणमा रहेको बताएका छन् ।

हालै फेडले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर ४.७५ देखि ५ प्रतिशतसम्म कायम गरेको छ । मूल्यवृद्धि घटाउने लक्ष्यस्वरूप अमेरिकाले सन्दर्भ ब्याजदर बढाउँदै आएको थियो । तर पावेलले हालै बढेको सन्दर्भ ब्याजका सम्बन्धमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘मूल्यवृद्धि तत्कालै नभई लामो अवधिमा २ प्रतिशतको सीमामा ल्याउने लक्ष्य रहेकाले अहिले हतार गर्नु पर्दैन ।’

हाल यो दर ५ प्रतिशत छ । पछिल्ला महिना अमेरिकाको मुद्रास्फीति दर घट्दै गएको छ । पावेलले ब्याजदरमा चालिएको कदमले नै मुद्रास्फीति दर घटेको दाबी गर्दै आएका छन् ।

प्रकाशित : चैत्र ३०, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?