कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ग्यास सुरक्षित रूपमा कसरी प्रयोग गर्ने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे खाना पकाउने ग्यास विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भए । हरिकलाको बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भयो । स्वास्थ्य अवस्था जटिल रहेका चन्द्रलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

ग्यास सुरक्षित रूपमा कसरी प्रयोग गर्ने ?

बिहीबार नै दाङ तुलसीपुरमा पनि खाना पकाउने क्रममा ग्यासको सिलिन्डर पड्किँदा २ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १६ लहलौरा निवासी ५० वर्षीया कुसुम केसीले सञ्चालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यास ‘लिक’ भएर पड्किँदा दुई जना घाइते भएका हुन् ।

केही घण्टाको अन्तरालमा भएका यी दुवै घटनाले सिलिण्डरको गुणस्तर र सुरक्षित प्रयोगबारे प्रश्न खडा भएका छन् । म्याद नाघेको सिलिन्डर र ग्यास सिलिन्डर प्रयोगबारे पर्याप्त जानकारी नहुँदा बर्सेनि यस्ता घटना दोहोरिने गरेका छन् । जानकारका अनुसार ग्यास सिलिन्डरको हाइड्रोलिङ/हाइड्रो स्टाटिक प्रेसर टेस्ट नहुनु, कमसल रेगुलेटर, कमसल पाइप तथा उचित रुपमा जडान नहुनु र सचेतना कमीले दुर्घटना बढेको हो ।

नेपाल आयल निगमका एलपी तथा एभिएसन विभाग निर्देशक नेत्रप्रसाद काफ्लेका अनुसार मुलुकभर ५९ ग्यास उद्योग छन् । ती ग्यास उद्योगका १ करोड ११ लाख सिलिन्डर बजारमा छन् । ती ग्यास सिलिन्डरको परीक्षण, प्रयोगविधि र सचेतनाको अभावले दुर्घटना हुने गरेको उनले बताए । ग्यास विक्रेता महासंघका अध्यक्ष चन्द्र थापाले सामानकाे गुणस्तरमा पहिले ध्यान दिनुपर्ने बताए । आईएसओबाट मान्यता पाएको रेगुलेटर र तारले जेलिएकाे पाइप मात्रै प्रयोग गर्न उनी सुझाउँछन् । ‘बजारमा कमसल रेगुलेटर र ग्यास पाइप प्रशस्तै पाइन्छ, आईएसओ अंकित रेगुलेटर र तारले जेलिएको पाइप प्रयोग नगर्दा पनि दुर्घटना भएको छ,’ थापाले भने । सिलिन्डरको भल्बाट पनि ग्यास लिक हुने सम्भावना रहेकाले उपभोक्ताले भल्ब कुच्चिएको वा बांग्गिएको अवस्थामा फिर्ता गर्नुपर्ने उनी बताउँछन् ।

रेगुलेटर र पाइप स्वदेशमा पनि उत्पादन हुने गरेका छन् । धेरैजसोले गुणस्तरको मापदण्ड पालना नगर्न सक्ने भएकाले त्यससम्बन्धी निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उनले बताए । गुणस्तर तथा नापतौल विभागका अनुसार ग्यास पड्किनुमा विभिन्न कारण छन् । धेरैजसो ग्यास 'लिक' रेगुलेटर भल्बबाटै हुने गरेको विभागका महानिर्देशक दिनानाथ मिश्रले बताए । उपभोक्ताले गुणस्तरीय रेगुलेटर र पाइप सही रुपमा फिटिङ गर्नुपर्नेमा उनले जोड दिए । 'पाइप, रेगुलेटर र चुलोमा फिटिङ सही तरिकाले नहुँदा ग्यास लिकेज हुन सक्छ यसप्रति एकदमै सजग हुनुपर्छ' उनले भने ।

सिलिन्डर किन्दा पनि केही आधारभूत पक्ष उपभोक्ताले बुझ्नैपर्ने उनले बताए । 'भल्बका कारण पनि जोखिम हुने भएकाले सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य हुनुपर्छ' उनले भने । सिलिन्डरको बडी लिकेजले पनि दुर्घटना निम्तिन सक्ने उनले बताए ।'सिलिन्डरको बडी लिकेजका सन्दर्भमा, ग्यास उद्योग, वितरक, डिलरमा समेत स्टोर हुने हुँदा लिकेज भइहालेमा थाहा हुन्छ ।' मिश्रले भने, ‘सिलिन्डर प्रयोग गर्दा म्याद नाघे/ननाघेको पनि हेर्नुपर्छ ।’

उनका अनुसार सिलिन्डरको माथिल्लो सतहको भित्री बारमा म्याद लेखिएको हुन्छ । म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा लेखिएको हुन्छ । एउटा अक्षरले तीन महिनालाई जनाउँछ । ‘ए लेखिएको भए जनवरीदेखि मार्चसम्मको महिनालाई बुझाउँछ । त्यसैगरी, बी, सी र डीको अवधि ३ महिनाका दरले क्रमश तोकिएको हुन्छ । त्यसपछि दुई अंक (जस्तै २३, २४, २५, २६, २७, २८ ) लेखिएको हुन्छ । यसले म्याद सकिने अंग्रेजी मितिलाई जनाउँछ । यदी ए २४ लेखिएको भए सन् २०२४ को मार्चसम्म मात्रै त्यो सिलिन्डर प्रयोगको उपयुक्त म्याद हो । महानिर्देशक मिश्रले त्यो मिति हेरेर मात्रै खरिद गर्न सुझाव दिन्छन् ।

खरिद बाहेक घरमा प्रयोगका बेला पनि सावधानी अपनाउनुपर्ने जानकार बताउँछन् । ग्यास लिकेज भएको गन्ध आएमा तुरुन्त रेगुलेटर बन्द गरी, पूरै सिलिन्डर चिसो कपडाले बेरेर वा सेफ्टी क्याप लगाएर खुल्ला ठाउँमा लैजानुपर्ने र प्रहरीलाई जानकारी गराउनुपर्ने मिश्रले बताए । कोठामा ग्यास लिक भएर गन्ध आएको अवस्थामा बिजुलीका स्विच नथिच्ने, सलाई, लाइटरजस्ता आगो उत्पन्न हुने सामग्री बाल्न नहुने उनले बताए । बरु झ्याल ढोका लागेको अवस्था भएमा खोल्नुपर्छ । विभागका अनुसार खाना पकाइरहँदा चुलो बले नबलेको, ग्यासको गन्धबारे पनि उपभाेक्ता सजग भइरहनुपर्दछ, चुलो बलिरहेका बेला अन्य काममा लाग्नु हुँदैन । सिलिन्डरभन्दा चुलाे केही उचाइमा राखेर प्रयोग गर्ने । सिलिन्डर कोल्ट्याउने वा ढलाएर प्रयोग नगर्ने, खाना बनाइसकेपछि चुलोसँगै रेगुलेटर बन्द गर्नुपर्छ । त्यस्तै बढीमा ३/३ वर्षमा वा म्याद सकिएपछि रेगुलेटर र पाइप फेर्नुपर्छ । विभागका अनुसार उद्योगहरूले पनि सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५/५ वर्षमा गर्नुपर्छ । तर उद्योगहरूले यसको परीक्षणमा कति ध्यान दिएका छन् भन्नेबारे पनि सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने मिश्रले बताए । परीक्षणको क्रममा सिलिन्डरमा कैफियत देखिए तत्काल नष्ट गर्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित : फाल्गुन ४, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?