बिचौलियाले चलाएको देश

मञ्जु भट्ट

केही वर्षअगाडि जग्गा खरिदपछि नामसारी गर्न बिहान १० बजे नै भक्तपुर मालपोत कार्यालय पुग्यौं । तीन बज्दासम्म जति दौडधूप गर्दा पनि जग्गा पास हुन सकेन । केही न केही कारण देखाई काम रोकिराखे कर्मचारीले । अन्तमा ‘आज ढिलो भइसक्यो, भोलि आउनू’ भने ।

बिचौलियाले चलाएको देश

महिलाका नाममा जग्गा पास गराउँदा छुट हुने भएकाले दुई महिनाको दुधेबालक दिनभरि पोकाको दूधको भरमा छोडेर गएका थियौं । यता छातीमा दूध चर्केर सहन नसकिने भएको थियो भने उता बच्चा आमाको दूध खान नपाएर तड्पिएको थियो । मालपोत कार्यालयमा बाहिरैदेखि प्रत्येक कोठामा बिचौलियाको राज देखिन्थ्यो । पैसा तिर्ने हो भने त्यही दिन काम हुन्छ भनिरहेका थिए । हामी बिचौलियालाई पैसा खुवाउने विचारमा थिएनौं । भाग्यवश, आफ्नै जिल्लाका, डोटेली भाषा पनि मिल्ने कर्मचारीसँग भेट भयो । उनले सजिलै आधा घण्टामै हाम्रो काम गरिदिए । माइतीको चरो पनि प्यारो हुन्छ भन्छन्, हो रहेछ ।

खरिदार, सुब्बा, अधिकृतलगायतका कर्मचारीमाथि अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दर्ता गराएका मुद्दा बढ्दै गइरहेका हाम्रै आँखा अगाडि देखिन्छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै सार्वजनिक गरेअनुसार भ्रष्टाचारमा नेपाल १८० देशमध्ये १०८ औं स्थानमा परेको छ । सयमा ३५ अंक मात्रै पाएर देश अति भ्रष्टाचार हुने मुलुकमै गनिएको छ । ठूलठूला कम्पनीले राजस्व ठगेर देश लुटिरहेका घटना बाहिर आउँछन् । कर्मचारीदेखि नेतासम्मले जनता ठगिरहेका छन् । नुनदेखि सुनसम्म, अस्पतालदेखि मसानघाटसम्म, सहकारीदेखि समाज सेवासम्म जताततै जनता लुटिएका छन् ।

मालपोत कार्यालयमा बिचौलियालाई प्रहरीले धेरैचोटि समातेर कारबाही गरेका रहेछन् । तर छुटेपछि उनीहरू यस्तै काममा लाग्दा रहेछन् । मालपोत, यातायात, भन्सारजस्ता कार्यालयमा अहिले पनि जनताले आफ्नो काम गराउन सकस छ । काम समयमा हुँदैन । अहिले सामान्य रूपमा काम भएन र बिचौलियाले दुःख दियो भनी फोन गर्दा अख्तियारले रेस्पोन्स गर्छ र सोधखोज गर्छ । कतिपय काम अनलाइन नै हुँदा लाइन बस्नुपर्दैन ।

केही दिनअघि मात्रै हाम्री छोरीको १४ वर्षे बिमा अवधि पूरा भएपछि जम्मा भएको साउँ र बोनसबापत आउने पैसा लिन राष्ट्रिय बिमा संस्थान, रामशाह पथ पुग्यौं । केही दिनअगाडि हामी श्रीमान्–श्रीमतीको बिमा अवधि पूरा भएपछि प्रत्येकको २–२ लाखको बिमामा बोनससहित गरेर झडै ४–४ लाख फिर्ता पाएका थियौं । छोरीको पनि त्यस्तै होला भन्ने ठानेका थियौं । तर छोरीको १४ वर्षे बिमाको अवधि पूरा भए पनि वर्षको ४० हजारको हिसाबले साउँको मात्रै पैसा फिर्ता पाउन पनि ५ वर्ष लाग्छ भनियो । बोनसबापतको पैसा फिर्ता पाउन त सात वर्ष कुर्नुपर्ने रहेछ । छोरी २१ वर्ष पुगेपछि मात्रै बोनसबापत पाउने पैसा फिर्ता हुने भनियो । सबै पैसा अहिले नै झिक्नेभन्दा पनि १४ वर्षसम्म जम्मा गरेको पैसाको बोनसका रूपमा पाउने १ लाख ७० हजारमा १ लाख त काटिँदो रहेछ । १४ वर्ष जम्मा गरेको २ लाखको जम्मा ७० हजारजति मात्रै बोनसबापत पाइन्छ भन्दा अचम्ममा पर्‍यौं । अब छोरीको १४ वर्षको बिमाको पूरै पैसा फिर्ता पाउन सात वर्ष कुनै बोनस, ब्याजबिना नै कुर्नुपर्ने भयो । सायद यस्तै झन्झटिलो भएर होला, बालबालिकाको बिमा हुन छोडेको । यसै वर्ष राष्ट्रिय बिमा संस्थानले बालबालिकाको बिमा स्थगित गरेको रहेछ ।

बिमाको उद्देश्य अचानक हुने दुर्घटना, बिरामीका कारण नागरिकमा पर्न जाने आर्थिक भार कम गर्नु हो । कलेज पढाउन जाँदा बानेश्वरमा सडक दुर्घटनामा परी ८ वर्ष अगाडि मेरो साथीको ज्यान गयो । जीवन बिमा गरेका कारण परिवारलाई थोरै भए पनि राहत मिल्यो । मेरा दाइ भारतको बेङलुरुमा सडक दुर्घटनामा पर्नुभयो । दुर्घटना भएको तीन दिनपछि होस आयो । अफिसले बिमा गराइदिएका कारण उहाँलाई उपचारमा धेरै सजिलै भयो ।

जीवन, निर्जीवन बिमा गर्नु राम्रो भए पनि यसबाट नागरिकले सहुलियत सजिलै, समयमै पाउनुपर्छ । बिमाबापत पैसा पाउनकै लागि अनेक ठाउँ धाउनुपर्ने बाध्यता रोकिनुपर्छ । बिमा प्राधिकरणको तथ्यांकअनुसार, चालु आिर्थक वर्षको दोस्रो त्रैमाससम्म ६ अर्ब ५४ करोड ८८ लाख बराबरका ५३ हजार ११३ बिमा पोलिसी सरेन्डर भएका छन् । यीमध्येमा राष्ट्रिय बिमा संस्थानका मात्रै ६ हजारभन्दा बढी छन् । जनताको आर्थिक स्थिति सबल नहुनु, बिमा जबरजस्ती गराइनु तथा भनेअनुसार सजिलै सहुलियतबापतको रकम नपाउनुले पोलिसीहरू सरेन्डर भइरहेका छन् । म पनि छोराको जीवन बिमा गराउने उद्देश्यले गएकी थिएँ । तर अब कसैको पनि बिमा नगराउने विचारमा पुगें ।

सेयर बजारमा लगानी गर्नेहरूको पीडा पनि कम छैन । विश्वमै ठूला व्यापारीदेखि संघसंस्था, स्कुल, कलेज, व्यक्ति सबैले सेयरमा लगानी गरेका छन् । यसैबाट धनी पनि बनेका छन् । सेयरले देशलाई पनि राजस्वमा सहयोग गर्दै आएको छ । यही सेयर बजारमा दुई पैसा जोगाएर लगानी गर्नेहरूले भने आफूले किनबेच गर्दा समयमा पैसा पाउँदैनन् । सेयर बेचेको रहेछ भने ट्रेडिङ गरेको २४ घण्टाभित्र सेयर ट्रान्सफर गर् भनेर ब्रोकर अफिसबाट फोन वा मेसेज आइसक्छ । २४ घण्टाभित्र सेयर ट्रान्सफर गर्न सकिएन भने २० प्रतिशत पेनाल्टी तिर्नुपर्छ । तर लगानीकर्ताको खातामा सेयर बेचेको पैसा आउन भने साधारणतः एक हप्ता लाग्छ । सेयर बेचेको प्रत्येकचोटि ब्रोकर शुल्क, सरकारलाई कर तिर्दा पनि किन ब्रोकरको अफिसबाट समयमै पैसा भुक्तानी हुँदैन ? जता गए पनि जनताले केही न केही कष्ट भोगेकै हुन्छन् ! सबैतिर बिचौलिया हाबण्ण्ण् ीभएकाले यस्तो भएको हो ।

प्रकाशित : माघ २३, २०८० ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?