२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'लाइब्रेरी पर्व'को महत्त्व र राष्ट्रिय लेखक दिवसको औचित्य

अभिव्यक्ति र प्रकाशन स्वतन्त्रताको विम्ब पनि हो पुस्तकालय । यस अर्थमा लाइब्रेरी पर्वको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक आयाम र प्रभावको मूल्याङ्कनस्वरूप नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने आधार भेटिन्छ ।
रत्नमणि नेपाल

‘हामी त्यो हौं जे हामी मनाउँछौं’ भन्ने एउटा भनाइ छ । यस भनाइले मानिसले सामूहिक रूपमा गर्ने गर्व र आन्तरिक रूपमा चाहने मौलिकतालाई संकेत गर्दछ । मानिस सामूहिकता रुचाउँछ । सामूहिकताबाटै उसले निजी भावना अभिव्यक्त पनि गर्दछ ।

'लाइब्रेरी पर्व'को महत्त्व र राष्ट्रिय लेखक दिवसको औचित्य

मानिसले समाजमार्फत आफूलाई मौलिक रूपमा परिभाषित गर्ने र आफ्नो ऐतिहासिक, सांस्कृतिक र अर्थराजनीतिक सामर्थ्यको वैधता पुष्टि गर्ने क्रममा विभिन्न मूल्यहरूको स्थापना गर्ने गर्दछ । त्यस्ता विभिन्न मूल्यहरूमध्ये कुनै विशेष घटना, व्यक्ति वा सन्दर्भको सम्झनामा दिवस या जयन्ती मनाउने प्रचलन एक विशिष्ट संस्कृतिका रूपमा देखापर्दछ । यस्तो प्रचलन नेपाली समाजको पनि अभिन्न पाटो रहेको छ । यसै क्रममा नेपाली लेखक संघले वैशाख १६ का दिनलाई राष्ट्रिय लेखक दिवसका रुपमा मनाउने निधो गरेको छ । यस लेखमा वैशाख १६ मा लेखक दिवस मनाउने सन्दर्भमाथि सङ्क्षेपमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

वैशाख १६ लाइब्रेरी पर्वकोे सन्दर्भ

वैशाख १६ गते नेपाली भाषा–साहित्यको इतिहासमा लाइब्रेरी पर्वको रुपमा परिचित विशिष्ट घटनासँग सम्बन्धित दिन हो । लाइब्रेरी पर्व बि.सं १९८७ सालको घटना थियो । त्यसबेला राणा प्रधानमन्त्री श्री ३ महाराज भीमशम्शेर थिए । राणा शासकहरूमध्ये पनि भीमशम्शेर कठोर मानिन्थे तथापि उनैले देशमा नेपाली, हिन्दी, अङ्ग्रेजी र नेवारीमा भाषाको उन्नति गर्न भनेर इस्तिहार जारी गरे । यो खबर पाएर काठमाडौंका केही युवाहरूले पठन संस्कृतिको विकास तथा देशविदेशका कुरा थाहा पाउन एउटा पुस्तकालयको आवश्यकता महसुस गरे । उनीहरुमा जनस्तरबाट पुस्तकालय स्थापना गरी वादविवाद तथा देशविदेशका सूचना लिने मञ्च खडा गर्ने सोच पलायो । यता काठमाडौंका केही नेवारी भाषी सचेत युवाहरूमाझ मातृभाषा नेवारी भाषाको साहित्यको पुनर्जागरण गर्नुपर्‍यो भन्ने चेतना पलाउँदै थियो । यस्तो चेतना जाग्नुमा भारतको बंगाल प्रान्तमा मातृभाषालाई दिइएको प्राथमिकताको विशेष प्रभाव रहेकोे थियो । यसरी पुस्तकालयको आवश्यकता महसुस गर्ने र मातृभाषाको उन्नति चाहने सबै युवाहरू भारतमा भइरहेको अंग्रेज धपाउ अभियान र त्यसले ल्याएको नवजागरणसँग सुपरिचित नै थिए । उनीहरू मध्ये योगवीरसिंह कंसाकार, तुलसी मेहर र भर्खर मात्र भीमशम्शेरको अनुमतिले नेपाल प्रवेश गर्न पाएका कृष्णप्रसाद कोइराला मुख्य थिए ।

त्यसरी छलफलमा सहभागी युवाहरूबीच सरस्वती गुठी नामक संस्था खोली सामाजिक कार्य गर्ने अनि भारतमा भइरहेको क्रान्तिबारे काठमाडौंका युवाहरूलाई सुसूचित गर्ने उद्देश्यमा पनि छलफल भयोे । उनीहरूले त्रिचन्द्र कलेजका साथै भारतबाट अध्ययन गरेर फर्केका अन्य पढेलेखेका युवाहरूलाई पनि पुस्तकालय स्थापना गर्ने उक्त अभियानमा सामेल गराउन चाहे । त्यस्तो पुस्तकालय महेन्द्रबहालमा राख्ने योजनासहित ४५ जना युवाहरूले श्री ३ भीम शम्शेरसमक्ष निवेदन पेस गर्न हस्ताक्षर अभियान चलाए । हस्ताक्षर गराउने मुख्य जिम्मा बैकुण्ठप्रसाद लाकौलले पाएका थिए ।

केही समयपश्चात हस्ताक्षर संकलन समेत भईवरी दरबारमा पत्र बुझाइयो । तर हस्ताक्षर नगर्ने रामचन्द्र अधिकारी नामक अर्का युवाले हस्ताक्षरकर्ता युवाहरूको अभियान राजनीतिक उद्देश्यको भएको र उनीहरूले श्री ३ को गाथगादी ताकेका छन् भन्ने उजुरी दरबारमा चढाए । यसरी सरस्वती गुठी नामक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय खोल्ने कार्यलाई राजनीतिक आवरणको आरोप लागेपछि दरबारले पत्रका हस्ताक्षरकर्ता सबैलाई पक्राउ गर्न उर्दी जारी गर्‍यो । अधिकांश हस्ताक्षरकर्ताहरूलाई पक्राउ गरी बयान लिने क्रममा उक्त घटनालाई 'लाइब्रेरी पर्व' भनी मुद्दा जाहेर भयो । बि‍. सं १९८७ साल वैशाख १६ र १७ गते दुई दिन गरी पुस्तकालय खोल्ने अभियानका युवाहरूलाई पक्राउ गरियो ।

त्यसरी पक्राउ परेका युवाहरूलाई दरबारबाट बिभिन्न सजाय तोकियो । ती मध्ये उमेश शाहलाई देश निकाला र मैनाबहादुर, खड्गमान, रंगनाथ आदिलाई जन्मकैदको सजाय सुनाइएको थियो । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद कोइरालालगायतलाई रु. १०० जरिवाना र अबका १२ वर्ष जनस्तरका कुनै कार्य गर्ने छैन भन्ने कागज गराई छोडिएको थियो । राज खानदानका भएर पनि दुनियाँका छोराहरूका साथ हिँडेको भनी जितेन्द्र बहादुर शाह र पद्म शाहलाई जनही रु. १००० जरिवाना गरिएको थियो । पुस्तकालय खोल्न पाऊँ भनी पत्रमा हस्ताक्षर गर्ने ४५ जना युवाहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद कोइराला, चित्तधर हृदय, योगवीरसिंह कंसाकार, वैकुण्ठप्रसाद लाकौल, तुलसी मेहर, शंकरप्रसाद नेपाल, महेन्द्रविक्रम शाह, शंकरदेव पन्तजस्ता साहित्य, भाषा, शिक्षा तथा सामाजिक सांस्कृतिक क्षेत्रमा प्रसिद्ध युवाहरू थिए ।

लाइब्रेरी पर्व : राष्ट्रिय लेखक दिवसको औचित्य

लाइब्रेरी पर्व नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक तथा भाषिक इतिहास समेट्ने एक बहुआयामिक घटनाका रूपमा देखापर्दछ । उक्त घटना तात्कालिन राणा प्रधानमन्त्री भीमशमशेरको देशमा बहुभाषाको उन्नति होस् भन्ने मनसायको उपज देखिन्छ । यसले राजनीतिक, साहित्यिक, सामाजिक तथा सांस्कृतिक चेतना भएका युवाहरूको सामूहिक अभियानको प्रतिनिधित्व समेत गर्दछ । अझ महत्वपूर्ण कुरा त लाइब्रेरी पर्व मातृभाषाको संरक्षण र मातृभाषी साहित्यको उत्थानसँग सम्बन्धित घटना देखापर्दछ । सरस्वती गुठी नामक सामाजिक संस्थाको स्थापनासँग समेत लाइब्रेरी पर्व जोडिन्छ । यो पर्वले नेपाली लेखक/स्रष्टाहरूले सामूहिक रूपमा दण्ड र सजाय पाएको बृहत घटनाको प्रतिनिधित्व गर्दछ । साथै राजनीतिक सामाजिक आधुनिकिकरणका लागि पठन संस्कृतिको आवश्यकता र महत्व रहेको विषय पनि लाइब्रेरी पर्वले सम्बोधन गर्दछ ।

यस हिसाबले हेर्दा लाइब्रेरी पर्वलाई नेपाली लेखक साहित्यकार तथा बुद्धिजीवीहरू सहभागी भएको एक ऐतिहासिक तथा बहुआयामिक अभियानको रुपमा लिन सकिन्छ । यस पर्वले सामाजिक संस्था, साहित्य, राजनीति, समाज, संस्कृति र मातृभाषाको प्रत्यक्ष रुपमा सम्बोधन गरेको देखिन्छ । लेखन, प्रकाशन तथा वैचारिक स्वतन्त्रता जस्ता पक्षहरु समेत लाइब्रेरी पर्वले समेट्ने देखिन्छ । लेखकहरूका लागि त पुस्तकालय जीवित बिम्ब नै हो । नेपालमा राजनीतिक दल गठन हुनुभन्दा अगाडिको अभियान भएको हुनाले लाइब्रेरी पर्व घटित भएको समयमा वैचारिक आधारमा लेखक बुद्धिजीवीहरू विभाजित भएको पनि देखिंदैन । यस अर्थमा उक्त पर्व सबै लेखक साहित्यकारहरूका लागि साझा पर्वका रुपमा देखापर्दछ । पुस्तकालय लेखकहरूका लागि एउटा जीवित संस्था हो भने सामाजिक हिसाबले सूचना र जागृतिको केन्द्र । अभिव्यक्ति र प्रकाशन स्वतन्त्रताको विम्ब पनि हो, पुस्तकालय । यस अर्थमा लाइब्रेरी पर्वको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक आयाम र प्रभावको मूल्याङ्कनस्वरूप नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने आधार भेटिन्छ ।

लाइब्रेरी पर्व कि मकैको खेती काण्ड ?

राष्ट्रिय लेखक दिवसकै प्रसङ्गमा सुब्बा कृष्णलाल अधिकारी लिखित मकैको खेतीको सन्दर्भ पनि बहसमा आउनु स्वाभाविक छ । १९७७ सालमा मकैको खेती शिर्षकको पुस्तक लेखेबापत अधिकारीलाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले जेल हालेका थिए । अन्य विराम र जेलको चिसो समेतको प्रभावले अधिकारीमा निमोनियाको संक्रमण भयो र जेलमै उनको मृत्यु भयो । नेपाली साहित्यकार लेखकहरूले सुब्बा कृष्णलाल अधिकारीलाई प्रथम लेखक सहिद मानेको पनि पाइन्छ । तर लाइब्रेरी पर्व र मकैको खेती काण्डलाई तुलना गर्दा दुवैका आयाम, प्रभाव र उपलब्धिलाई पनि हेरिनुपर्दछ । जबकि लाइब्रेरी पर्व ४५ जना चेतनशील युवाहरूको सामुहिक प्रयत्न थियो भने मकैको खेती कृष्णलाल अधिकारीको एकल । मकैको खेती पुस्तकलाई इतिहासकारहरूले कृषि अर्थशास्त्रको विषय समेत मानेको अवस्थामा लाइब्रेरी पर्वले भने लेखक–बुद्धिजीवी, पुस्तक, सामाजिक संस्था, मातृभाषी साहित्य, राजनीतिक जागरण र सामाजिक सांस्कृतिक रूपान्तरणजस्ता बहुक्षेत्रको प्रतिनिधित्व गर्दछ । सजायको कोणबाट हेर्दा लाइब्रेरी पर्वमा संलग्न लेखकहरुलाई देश निकाला, जन्म कैद र १०० देखि १००० रुपैयाँ सम्म जरिवाना गरिएको छ । यस अर्थमा मकैको खेती काण्डकोभन्दा लाइब्रेरी पर्वको प्रभाव स्वाभाविक रूपमा व्यापक र दीर्घकालीन देखिन्छ ।

अन्य विविध दिवस मनाइआइएको सन्दर्भमा लेखक दिवसले मुख्यगरी लेखक स्रष्टाहरूका लागि उच्चतम प्रेरणा प्रदान गर्दछ । त्यसबाट नेपाली भाषा साहित्य कलाका साथै समग्र वाङ्मयलाई नै उचित लाभ हुने कुरामा विश्वस्त हुन सकिन्छ । यसकार्यले पुरानो पुस्ताको मूल्याङ्कन र आउँदो पिंढीको सम्बर्धनमा समेत योगदान पुर्‍याउँछ । भाषा साहित्य र संस्कृतिको उत्थानका लागि लेखक दिवस नेपाली समाज र राष्ट्रका लागि सरल र सहज माध्यम पनि हुनसक्छ । यसकारण आज वैशाख १६ को दिनमा राष्ट्रिय लेखक दिवस मनाउन लेखक स्रष्टाहरूमात्र नभएर राज्यले पनि उचित चासो लिनु आवश्यक देखिन्छ ।

प्रकाशित : वैशाख १६, २०८० १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?