२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

वायु प्रदूषण विपद्‍को जोखिम

वायु प्रदूषणले हुने विपद्‍लाई पनि नेपाल सरकारले विपद्को सूचीमा सूचीकृत गरी तत्सम्बन्धी नीति र कार्यक्रम ल्याउन ढिलो भइसकेको छ । यस्ता कार्यक्रमले तत्कालको आपतकालीन अवस्थाको व्यवस्थापन र दीर्घकालीन समाधानका उपाय पनि कार्यान्वयनमा ल्याएर जोखिम कम गर्न सकिन्छ ।
वसन्त गिरी

विगत केही दिनदेखि लगातार काठमाडौं‌को वायु गुणस्तर अत्यन्तै अस्वस्थ स्तरमा पुगेको छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी प्रदूषण बढेको छ । विभिन्न स्थानमा रहेका वायु गुणस्तर मापक यन्त्रले वायु गुणस्तर सुचकांक २०० भन्दा बढी पनि देखाइराखेका छन् ।

वायु प्रदूषण विपद्‍को जोखिम

यो अवस्थामा प्रदूषणले कुनै न कुनै किसिमको स्वास्थ समस्या हुनसक्छ । छाला र आँखा चिलाउने, आँखा पिरो हुने, धुँवा गन्ध आउने र एलर्जी बढेको तपाईंहरुले पनि ख्याल गर्नु भएको होला । केटाकेटी रुघाखोकीले सताइएका छन् ।

स्वास्थ संवेदनशिलता भएका व्यक्तिहरुलाई त अरु जटिलता पनि थपिएको छ । कान्तिपुरमा प्रकाशित खबर अनुसार कान्ति बाल अस्पतालमा ६०% बिरामी प्रदूषणसँग सम्बन्धित छन् । वीर र त्रिवि टिचिङ अस्पतालमा पनि छाती र घाँटी संक्रमणका बिरामीको संख्या हालैका दिनमा बढेको छ ।

यसैपनि काठमाडौंको वायु गुणस्तर अस्वस्थ नै रहन्छ । हामीले दुई दशकको वायु प्रदूषणको तथ्यांक विश्लेषण गरेर दुइवर्ष अघि एट्मोस्फेरिक रिसर्च जर्नलमा अनुसन्धान नतिजा प्रकाशित गरेका थियौ‌ं । जसअनुसार काठमाडौंको वायु गुणस्तर औसतमा वार्षिक ३७% दिनहरुमा अस्वस्थ हुने गरेको छ । अझ जाडो मौसममा करिब ८५% दिनहरुमा वायु गुणस्तर अस्वस्थ पाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा वायु प्रदूषणले वर्षेनि करिब ६७ लाख बढी मानिसको मृत्यु हुन्छ । उच्च रक्तचाप, धुम्रपान र अनिकालपछि विश्वमा मानव मृत्युको चौथो अग्रणी कारण वायु प्रदूषण रहेको छ । दक्षिण एसियामा मसिना धुलोका कणलाई मानव मृत्युदर जोखिमको तेस्रो मुख्य कारकको रुपमा हेरिएको छ । नेपालको हकमा वायु प्रदूषणले प्रत्यक वर्ष करिब ४० हजार मानिसको मृत्यु हुने अनुमान गरिएको छ । यो मृत्यु २०१५ मा आएको भूकम्पले गरेको मानवीय क्षति भन्दा पाँच गुणाजति हो । अझ सजिलो गरेर भन्दा वायु प्रदूषणको कारणले नेपालमा दैनिक एक सय जनाभन्दा बढी व्यक्तिको मृत्यु हुने गर्छ । यसबाट समग्रमा पर्ने आर्थिक भार अझ डरलाग्दो देखिन्छ ।

तत्कालको वायु प्रदूषण वन डढेलोले हो भन्ने तथ्य उपग्रहबाट खिचिएका तस्बिरहरुबाट प्रष्ट हुन्छ । पानी नपर्ने र बेस्सरी हावाहुरी नआउने हो भने यो प्रदूषण अरु केही समय लम्बिन सक्छ । जलवायु परिवर्तनले खडेरी र तापक्रम बढ्दै जाँदा भविष्यमा वन डढेलो पनि बढ्ने देखिएको छ । वायु प्रदूषण उत्पन्न विपद्‍को घटनाहरु आगामी वर्षहरुमा बढ्दै जाने अनुमान गरिएको छ ।

वायु प्रदूषण उत्पन्न विपद्‍

नेपाल सरकारले २०७६ मा पारित गरेको काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले वायु प्रदूषण सुचकांक ३०० भन्दा बढी भएको अवस्थालाई विपद्‍ मान्न सकिने प्रस्ताव गरेको छ । यो खतरनाक र आपतकालीन अवस्था हो । अहिले प्रदूषण सूचकांक ३०० को नजिक पुगेको देखिन्छ । यसलाई विपद्‍ आउनसक्ने चेतावनीको रुपमा लिनुपर्छ । नेपालका अन्य स्थानहरुमा पनि वायु गुणस्तर निकै खराब अवस्थामा पुगेको छ ।

नेपाल विपद्‍को जोखिम भएका देशहरुको सूचीमा शीर्ष स्थानमा रहेको छ । करिब ८०% भन्दा बढी जनसंख्या विपद्‍को जोखिममा रहेको मानिन्छ । तर अहिलेसम्म वायु प्रदूषणले उत्पन्न हुने आपतकालीन अवस्थालाई विपद्‍ मानेको छैन र विपद्‍ जोखिमको सूचीमा राखिएको छैन । नेपालमा अहिले सूचीकृत विपद्‍बाट जति मृत्यु हुन्छ त्यो भन्दा बढी वायु प्रदूषणको कारणले हुन्छ ।

दुई वर्षअघिको चैत्रमा पनि वायु प्रदूषणको कारणले काठमाडौंको वायु प्रदूषण सूचकांक ४११ सम्म पुगेको थियो । त्यो विपद्‍को अवस्था हो । मेरा अनुसन्धान सहकर्मी विनोद पोखरेलको समूहले गरेको अध्ययनले विगत २० वर्षमा लागेको वन डढेलोको तुलनामा त्यतिबेला १० गुणा बढी डढेलो लागेको पाइएको थियो । चार दिनसम्म विद्यालयहरू बन्द गर्न सिफारिस गरिएको थियो । कति विद्यालय बन्द भए तर बाँकी भएनन् । सोही समयमा एयरपोर्टमा भिजिबिलिटी एक किलोमिटरभन्दा कम हुँदा कैयौं उडानहरुमा अवरोध आएको थियो ।

तर यस्तो अवस्थामा जोखिम न्यूनीकरण गर्न चालिने कदम- जस्तो विद्यालय बन्द कसले गर्ने स्पष्ट छैन । त्यसका लागि हाम्रा संयन्त्रहरु तयार भएको देखिँदैन । आपतकालीन अवस्था आउँदा कुन निकायले के गर्ने प्रष्ट मार्गदर्शनको नीति र कार्यनीति नहुँदा के गर्ने के भनेर अलमल हुन्छ जसले धेरै क्षति पुर्‍याइसक्छ ।

वायु प्रदूषण उत्पन्न विपद्‍ जोखिम न्यूनीकरण

काठमाडौं विश्वकै अत्यन्तै प्रदूषित सहरमा पर्ने कुरा त अब सामान्य लाग्न थालिसक्यो । दीर्घकालीन समाधानको लागि वायु प्रदूषण नै कम गर्ने उपायहरु अवलम्बन गर्ने हो र यसको लागि समय पनि लाग्ला । तर आपतकालीन अवस्थामा के गर्ने भन्नेमा अहिले देखि नै तयारी र स्पष्ट हुन जरुरी छ ।

वायु प्रदूषणको अवस्थाबारे नियमित जानकारी पाउनको लागि सर्वप्रथम वायु गुणस्तर मापन केन्द्रहरु सही सलामत हुनु पर्दछ । आइतबार बेलुका यो पंक्तिकारले वातावरण विभागको वेबसाइट हेर्दा जम्मा सातवटा यस्ता मापन केन्द्रहरुले काम गरिरहेको देखियो । तीमध्ये पाँच उपत्यकाभित्र र दुइवटा बाहिर रहेछन । मिहिन रुपले वायु प्रदूषणको अवस्था थाहा पाउन र स्थानीय प्रदूषण स्रोत पत्ता लगाउन पनि प्रसस्त संख्यामा यस्ता मापन केन्द्रहरु सञ्चालन गर्न ढिलो भइसकेको छ । कम्तीमा पनि प्रत्यक स्थानीय तहमा एक वायु प्रदूषण मापन केन्द्र राख्दा स्थानीय सरकारहरुलाई काम गर्न सहयोगी हुन्छ ।

सबै स्थानमा महँगा मापन केन्द्रको सट्टा अहिले नयाँ प्रविधिमा आधारित सस्ता र उपयोगी प्रदूषण सेन्सर राख्न सकिन्छ । मापन केन्द्रबाट आउने तथ्यांक वास्तविक समयमै सार्वजनिक रुपले हेर्न मिल्ने भयो भने सर्वसाधारणले पनि वायु प्रदूषण उच्च भएको समयमा बच्ने उपायहरु अवलम्बन गर्न सक्दछन् । सर्वासाधारणलाई यससम्बन्धी सहि जानकारी दिएर सचेत बनाउनका लागि सामाजिक सञ्जाल सहित विभिन्न माध्यमबाट वायु प्रदूषण, यसको असर, न्यूनीकरण गर्न सकिने उपाएहरु सूचना प्रक्षेपण गरिरहनु पर्दछ ।

सम्बन्धित निकायले वायु गुणस्तरको मात्राको आधारमा सतर्कता, चेतावनी र आपतकालीन अवस्थाको घोषणा गर्न सक्छन् । स्थानीय सरकारले उनीहरुसँग भएको वायु गुणस्तर मापन केन्द्रको तथ्यांकलाई आधार मान्न सक्छन् । अन्य देशहरुमा पनि वायु प्रदूषणजन्य विपदको बेलामा आपतकालीन अवस्था घोषणा गरी त्यसबाट जोगिन विभिन्न उपायहरु अवलम्बन गर्ने अभ्यास रहेको छ ।

वायु प्रदूषणबाट उत्पन्न विपद वा आपतकालमा सकेसम्म अनावश्यकरुपमा घर बाहिर नजान नै ठिक हुन्छ । बाहिर निस्किनै परेमा मास्क लगाएर मात्र निस्किनु पर्दछ । जोखिम बढी भएका समूह जस्तै बालबालिका, ज्येष्ठ नागरिक, स्वास प्रस्वास सम्बन्धी बिरामीहरुलाई विशेष निगरानी राख्न र सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नु पर्दछ । स्वास प्रस्वास र सम्बन्धित अन्य बिरामीहरुको संख्या बढेको समयमा ती बिरामीको चाप थेग्नेगरी अस्पतालहरूलाई तयारी अवस्थामा राख्नु पर्दछ । विद्यालयहरु र उद्योगहरु निश्चित समयको लागि बन्द गर्ने, यातायातका साधन अति आवाश्यक नभई नचलाउन सर्वसाधारणलाई आह्वान गर्ने, वन डढेलो नियन्त्रण गर्ने, सडकको धुलो सफा गर्ने, खुल्लारुपमा फोहर जलाउने कार्य कडाइका साथ रोक्ने, र कृषिजन्य अवशेष जलाउने कार्यमा प्रतिबन्ध लगाउने उपायहरु प्रभावकारी हुनसक्दछन् ।

जोखिम बढी भएको समूहलाई निश्चित समयको लागी सुरक्षित राख्न प्रदूषण कम हुने आवास गृहको व्यवस्थाले ती जनसमूहको स्वास्थ्य थप जटिल हुनबाट जोगाउन सकिन्छ । यसको लागि प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा गृह र जनसंख्या हेरी थप यस्ता आवास गृहको जरुरी पर्न सक्छ ।

नेपालमा मौसम पूर्वानुमान विश्वसनीय हुँदै गइरहेको छ । यसैगरी वायु प्रदूषण र त्यसले निम्त्याउने विपदको पूर्वानुमान र सूचना प्रणालीको विकास र सञ्चालन गर्नु पनि जरुरी देखिन्छ । यसो गर्न सकियो भने सर्वसाधारण र सम्बन्धित निकाय जस्तो विद्यालय र अस्पतालहरुले आवश्यक तयारी गर्ने समय पाउँछन् ।

अत्यमा, वायु प्रदूषणले हुने विपदलाई पनि नेपाल सरकारले विपद्को सूचीमा सूचीकृत गरि तत्सम्बन्धी नीति र कार्यक्रमहरु ल्याउन ढिलो भइसकेको छ । यस्ता कार्यक्रमहरुले तत्कालको आपतकालीन अवस्थाको व्यवस्थापन र दीर्घकालीन समाधानका उपायहरु पनि कार्यान्वयनमा ल्याएर जोखिम कम गर्न सकिन्छ ।

प्रकाशित : वैशाख ६, २०८० १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?