कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन प्रवर्द्धनमा लगानी सुनिश्चितताको खाँचो

भौतिक पूर्वाधारमा निजी क्षेत्रले अर्बौं रकम लगानी गरिसकेको छ तर त्यो लगानीको सुनिश्चितता हुने गरी हामीले सरकारी अभिभावकत्व पाएका छैनौं ।
रचना पन्त

हामी पर्यटनका सम्भावना र अवसरका कुरा गर्छौं,  सरकारले पनि समृद्धि र विकासको आधार पर्यटन हो भन्ने गरेको छ । तर, यसो भनेर मात्र नपुग्ने रहेछ । तथ्यांकले देशको कुल गार्हस्थ उत्पादनमा पर्यटनको न्यून हिस्सा देखाउँछ ।

पर्यटन प्रवर्द्धनमा लगानी सुनिश्चितताको खाँचो

हामीले के गरेका रहेछौं र ? लुम्बनीको कुरा गर्दा यहाँ आएका पर्यटकहरूलाई हामीले धार्मिक महत्त्व बुझाउन जान्नुपर्छ । लुम्बिनी प्रदेश भनेको लुम्बनी मात्रै होइन, बाहिर पनि लुम्बिनी प्रदेश छ भनेर उहाँहरूलाई यहाँको धार्मिक, सांस्कृतिक र पर्यावरणीय विविधता देखाउनुपर्छ । बर्दियामा बाघ छ । त्यो बाघ बर्दियाबासी वा बाँकेको मात्र होइन, रुपन्देहीले पनि 'हाम्रो बाघ' भनेर आफ्नो स्टाटस अपडेट गर्नुपर्छ ।

यहाँ आउने पर्यटकलाई हामी पाल्पाबाट हिमाल देखाउँछौं भने ऋषिमुनीले तपस्या गरेको स्थान रेसुङ्गामा मनोकांक्षा पूरा हुने बताउँछौं । आजको भौतिक जमानामा शान्ति प्राप्त गर्न रेसुङ्गा पुग्नुस् भन्ने गरेका छौं । सबैले मानेको प्यूठानको स्वर्गद्वारीमा एक रात बस्ने आवासीय सुविधा छैन । यहाँ आइसकेका पर्यटकलाई राख्ने र रमाउन दिने भनेको भौतिक पूर्वाधारले नै हो ।

भौतिक पूर्वाधारमा निजी क्षेत्रले अर्बौं रकम लगानी गरिसकेको छ तर त्यो लगानीको सुनिश्चितता हुने गरी हामीले सरकारी अभिभावकत्व पाएका छैनौं । हामीले लुम्बिनीमा पर्यटनको उडान भर्न प्याकेज तयार गरेका छौँ । हामीलाई साथ दिने गरी सरकारले पनि रोल मोडल तयार गरे यहाँ पर्यटनको उडान सम्भव छ ।

यद्यपि हामीलाई उडान भर्न केही कठिनाइहरू छन् । पर्यटनका लागि सुन्दर प्याकेज बनाउनुभन्दा अघि गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा चल्नुपर्छ । नेपाल एयरलाइन्सले सबै गन्तव्यहरूमा उडान भर्न सकेमात्रै पर्यटनले गति लिन्छ, हामी लक्ष्यमा पुग्नसक्छौं । त्यसपछि अन्य एयरलाइन्सहरूलाई यहाँ ल्याउनसक्ने वातावरण बनाउनुपर्छ । नेपाल पर्यटन बोर्डले प्रवर्द्धनका काम कहाँ गरेको छ, थाहा छैन तर लक्ष्यको २० प्रतिशत पनि उपलब्धि देखिँदैन । विगत २२ वर्षदेखि उद्योग क्षेत्रमा मेहनत गरेको भए पनि मैले सफलता पाएको छैन, मेरो मेहनतले कुनै अर्थ दिएको छैन ।

नारायणघाटदेखि बुटवल सडकखण्ड यथाशिघ्र निर्माण भएन भने हाम्रो पर्यटन उँभो लाग्दैन । हामीले ल्याएका दुई-चार गाडी पर्यटकहरू नारायगढमै अलपत्र पर्नुहुनेछ । यहाँका व्यवसायीले भात पकाएर कुर्नु हुनेछ, त्यो भात फाल्नुपर्नेछ । हामीले पाल्पालाई दौडाउँछौं भनेका छौं तर सिद्धबाबाको पहिरोले यहाँका लाखौं जनताको रोजिरोटीमा धौधौ पारेको छ, पर्यटकलाई पाल्पा पुर्‍याउन सकिएला ? कि हेलिकप्टरको व्यवस्था गर्नुपर्‍यो । पाल्पाबाट रेसुङ्गा पुर्‍याउन अर्को कठिनाइ छ । राष्ट्र बैंकको २५ हजार भारतीय रुपैयाँको सटही व्यवस्था अर्को बाधक हो । त्यति पैसाले बस्नै पुग्दैन, खर्च केले गर्नु ? यस्तो तालले पर्यटनबाट समृद्धि कसरी प्राप्त हुन्छ ? भारतीय पर्यटकले कार्डबाट पैसा तिर्ने चलनै छैन । दुई/अढाई लाखसम्म साट्न पाइने व्यवस्था भइदिए हुन्थ्यो ।

पर्यटनका कार्यविधिहरूका कारण हामीले समस्या भोगिरहेका छौं । कोभिडपछि ट्राभल एजेन्सीहरूले आफ्नो संस्था नवीकरण गर्न सकिरहेका छैनन् । खारेज गर्दा ऋण खोजेर गर्नुपर्छ, त्यो पनि सकिरहेका छैनन् । कार्यविधिले दुई वर्षभन्दा अगाडि नवीकरण नगरे खारेज हुन्छ भनेको छ । व्यवसायीहरू उद्योगबाट न विस्थापित हुन सक्नु भएको छ न रहन सक्नु भएको छ । बैंकको ब्याज तिर्न सक्नु भएको छैन ।

सरकारसँग उद्योगीलाई बचाउने नीति नभए पनि उद्योग धराशायी भएर एउटा मान्छे बाटोमा आउँदै गर्दा, उद्योग क्षेत्रबाट ऊ बाहिरिँदा हर्जाना छुट दिएर बाहिरिने वातावरण त दिए हुन्थ्यो । उद्योग धराशायी भएर खारेजीमा परेका उद्योगले उद्योग जरिवाना तिर्न नसकेपछि उद्योगबाट बाहिरिन सक्नु भएको छैन । यसो हुँदा अर्को पान नम्बर लिएर पनि कारोबार गर्न नसक्ने हैसियतमा पुगेका व्यवसायिहरूको पक्षमा राज्यले बोलिदेओस् ।

(नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित : माघ २५, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?