उनी मेरो बोलाइलाई ‘साहसिक वक्तृत्व’ मान्छन् र सोही कारण मेरो प्रशंसा गर्छन् । म उनको बान्की मिलेको, ध्वनि र व्याकरणसम्मत, आरोह–अवरोहको उचित ख्याल गर्ने गरेका कारण आकर्षक बनेर कण्ठबाट निस्कने शौष्ठवले पूर्ण लयात्मक गद्यको प्रशंसा गर्छु । उनी मेरो कविताको शक्तिको इज्जत गर्छन्, म उनको मान्छेलाई जुरुक्क उचाल्ने भाषण शैलीको तारिफ गर्छु ।
नेपाली साहित्यमा रुचि राख्ने सुपठित नेपालीहरूका लागि ताना सर्मा वा तारानाथ शर्माको परिचय दिन खोज्नु तिनको विवेकमाथि शंका गर्नु बराबर हो । उनी भानुभक्त, लेखनाथ, सम, देवकोटा, सिद्धिचरण, युद्धप्रसाद मिश्र गोपालप्रसाद रिमाल, भिक्षु र रमेश विकल जत्तिकै नेपाली जनजिब्रोमै टाँसिएका उच्चकोटिका साहित्यकार हुन् ।
नेपाली समाजलाई उन्नत बनाउन जीवनभर संघर्ष गर्ने एक अग्रज प्रतिनिधि पात्र आनन्ददेव भट्ट बितेर गएपछि मन एकतमासले वेचैन भयो । अंग्रेजी भाषा साहित्यका प्राध्यापकको रूपमा उनका शिष्यहरूले चिन्नु त छँदै छ, विद्रोहका कुशल संगठनकर्ताका रूपमा, प्रगतिशील सोचका अभियन्ताका रूपमा, सरल भाषाका सहज कविका रूपमा र लेखनमा सन्तुलन बनाइराख्ने प्रगतिशील समालोचकका रूपमा उनी सम्झिइनेछन् ।