२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

तारानाथ शर्मा ओझेल पर्दा

आफ्ना लागि इहलोकमा राज्य र परलोकमा स्वर्ग जाने सिँढी बनाउने घोकन्तेहरु उनको छेउ पर्नै सकेनन् । मुसाहरु दौडेर जंगलमा खस्याकखुसुक गर्न थाले भने सही नसक्नु भएर आफ्नो गर्जनले जंगलै तर्साउने बाघ थिए– तारानाथ शर्मा ।
श्यामल

काठमाडौँ — नेपाली साहित्यमा रुचि राख्ने सुपठित नेपालीहरूका लागि ताना सर्मा वा तारानाथ शर्माको परिचय दिन खोज्नु तिनको विवेकमाथि शंका गर्नु बराबर हो । उनी भानुभक्त, लेखनाथ, सम, देवकोटा, सिद्धिचरण, युद्धप्रसाद मिश्र गोपालप्रसाद रिमाल, भिक्षु र रमेश विकल जत्तिकै नेपाली जनजिब्रोमै टाँसिएका उच्चकोटिका साहित्यकार हुन् ।

तारानाथ शर्मा ओझेल पर्दा

उनी समालोचक, कथाकार, उपन्यासकार, भाषाशास्त्री र साहित्यका इतिहासकारका रूपमा विख्यात हुँदै हुन्, एक दुई पटक अनौपचारिक बसाइका क्रममा कविका रूपमा पनि मैले उनलाई चिनेको थिएँ । मलाई लाग्छ, यस्तो बहुविध, यत्तिको स्पष्ट र खरो वक्ता, यत्तिको आकर्षक शैलीमा इतिहास, समालोचना, आत्मपरक निबन्ध र आख्यान लेख्ने प्रतिभा अहिलेसम्म उनी मात्रै हुन सक्छन् । प्रतिभाको कदर गर्न नसक्ने राज्यको झाँको झार्ने उनै तारानाथ दाइ अब हाम्रो स्मृतिपटमा कहिल्यै नमेटिने गरी अस्ताए ।

साहित्यिक कर्मले नै तारानाथ दाइका किस्सा कहानी धेरै बनाइए । एक समय ‘खतरनाक’ को बिल्ला भिराइयो । राजाको चरम निरंकुश शासनका बेला उनलाई वामपन्थी भनेर खेद्नुसम्म खेदियो । साँचो कुरा बोलेबापत उनले खोरयात्रा गरे । जिब्रो चपाएर बोल्ने चेपारेहरूका घोर दुश्मन थिए उनी । कदाचित आफ्नो स्वभावसँग मिल्ने मानिस फेला परे उसलाई गम्ररंग अँगालो हालेर लामै समय हल्लिन्थे । आफ्ना लागि इहलोकमा राज्य र परलोकमा स्वर्ग जाने सिँढी बनाउने घोकन्तेहरू उनको छेउ पर्नै सकेनन् । आफूभन्दा धेरै कमसल र प्रतिभाविहीन व्यक्तिहरू राज्यका उपल्ला ओहोदामा पुगेको देख्दा उनी आफ्ना कुराकानी र भाषणहरूमा आगोका ज्वाला ओकल्थे । मुसाहरू दौडेर जंगलमा खस्याकखुसुक गर्न थाले भने सही नसक्नु भएर आफ्नो गर्जनले जंगलै तर्साउने बाघ थिए तारानाथ दाइ । उनले बोलेको सुन्नसम्म पनि नसकेर पिसाब गर्ने निहुँले सभास्थल छाडेर जानेहरूको लीला एक दुईपटक मैले पनि देखेको छु ।

ती आफ्ना लंगौटिया मित्र बालकृष्ण पोखरेललाई काल्केटो भनी बोलाउँथे । काल्केटो अर्थात् बाल प्लस कृष्ण । काल्केटा उनलाई तारे भनेर बोलाउँथे । उनीहरूको मित्रता औपचारिक र सतही थिएन, सहज र आत्मीयतापूर्ण थियो । तारे र काल्केटाका छेड हानाहानका क्षण पनि कम्ता रोचक हुन्थेनन् । नेपाली प्राज्ञिक क्षेत्रका यी दुवै मनीषीको सम्पूर्ण जीवन नेपाली समाज र भाषा साहित्यको अध्ययन अनुसन्धान, लेखन र अध्यापनमै बितेर गयो ।

तर, आफूले ठानिसकेको कुरा लुकाएर राख्ने उनको स्वभावै थिएन । एकपटक उनले भरिपूर्ण साहित्यिक सभामा भनिदिए, ‘केही मानिसहरू म मेरी सुन्दरी स्वास्नीसँगै हिँडेको देखेर र्‍याल काढ्दै हिँड्छन् ।’ कतिलाई लाग्दो हो, यसो नभने पनि हुने थियो । उनी सहज र स्वच्छन्द मानिस थिए । हुन पनि उनले आफ्नो उमेरभन्दा धेरै कान्छी शान्ता शर्मासँग बिहे गरेर हाम्री भाउजू बनाइदिएका थिए । र, शान्ता भाउजूसँग हिँड्दा उनलाई ‘म यस दुनियाँकी सुन्दरी कन्यासँग हिँडेको छु’ भन्ने लाग्दो हो । यस्तो कुरा आरिसेहरूका अगाडि भनिदिएर तिनीहरूभित्र जलन उत्पन्न गरिदिने मन हुँदो हो दाइलाई अथवा तिनीहरूको बौद्धिक उचाइ नापिसकेपछि यसभन्दा माथि छैन भन्ने लागेर यसो भनेका हुँदा हुन् । त्यतिबेला उनी भर्खरै पाताल (अमेरिका) बाट मर्त्यलोक (नेपाल) मा उक्लेका थिए । स्वर्गलोक जान धेरै बाँकी थियो । तर, उनले त्यसको कुनै योजना बुनेका थिएनन् । उनका सुकिला पोसाक, भर्भराउँदो प्रौढोन्मुख जवानी र हाँसी हाँसी बोल्ने बानी औधि आकर्षक लाग्थ्यो ।

मैले अर्को नाम राखेर लेख्दा उनले गुनासो गरेका थिए । आफ्नो नाम भनेको आफ्नै हो भन्ने उनको अनुभवजन्य निष्कर्ष थियो । नाम अरूसँग उस्तै भो भनेर बित्थामा आफ्नो नाम लुकाउनु हुन्न भन्थे तारानाथ दाइ । त्यतिबेला उनको विख्यात ‘तानासर्मा’ नाउँ छाडेर उनी डा. तारानाथ शर्मा भएका थिए । कालक्रममा उनको झर्रोवादी आन्दोलन सुस्ताएझैं वल्लभमणि र बालकृष्णपछि उनी पनि सुस्ताउनुपर्‍यो ।

करिब डेढ/दुई दशकअघि हुनुपर्छ, उनी एक साहित्यिक कार्यक्रममा सहभागी हुन रुसी सांस्कृतिक केन्द्रमा गएका रहेछन् । म पनि निम्त्याइएको थिएँ । युरिक एसिडका कारण मेरो दाहिने गोलीगाँठो सुन्निएको र दुखेको थियो । उनी केही परिचितजनका साथ केन्द्र परिसरको एकापट्टि उभिएर बसिबियाँलो गरिरहेका थिए । म पुग्नासाथै हठात् उनले भने, ‘श्यामलजी, मौरीलाई टोकाउनुस्, ठीक हुन्छ ।’

मलाई त्यतिन्जेलसम्म मौरीको डंकलाई नसामा घुसाएर गरिने उपचार विधिबारे जानकारी थिएन । म चकित भएँ ।

‘युरिक एसिडलाई पनि यसले ठीक गर्छ त दाइ ?’ मैले उनलाई सोधें । ‘ई... मैले मेरो ढाडमा डसाएर आएको । म नियमित रूपमा जान्छु र टोकाउँछु,’ दाइले आफ्नो ढाड मतिर सारेर देखाउँदै भने ।

पृष्ठभूमि बाँधेर लम्बाचौडा कसरत गर्ने कुरामा तारानाथ दाइको विश्वास थिएन । त्यसैले उनलाई वासुदेव त्रिपाठीका लामा–लामा व्याख्यापरक समालोचना मन नपरेको देखिन्थ्यो । उनको हठात् सत्य बोल्ने बानीले मानिस अलमलमा पर्न सक्ने सम्भावना पनि हुन्थ्यो । उनी आफैंले एपिथेरापी गरेको अनुभव भएकाले मलाई पनि काम लाग्न सक्छ भन्ने उनलाई लागेको रहेछ । मैले अन्यथा नै सोचेको थिएँ । नेपाली र अंग्रेजी भाषा, साहित्य र संस्कृतिका यी उद्भट विद्वान् आफ्नो आलोचनाबारे फटाहालाई पोल्ने सिस्नु भन्थे । यता मेरो सुन्निएको अंगमा मौरीको डंक मार् भन्छन् ! एपिथेरापीबारे नबुझेसम्म मलाई उनको सुझावले अलमल पारिरह्यो । तर, उनी अति भावुक र संवेदनशील थिए भन्ने मलाई थाहा थियो ।

मलाई उनको ‘सुली’ उपन्यास पढिरहन मन लाग्छ । तत्कालीन काठमाडौं र उनले पद्मकन्या कलेजमा पढाउँदाताकाका चरित्रहरू झल्झली सम्झाउने क्षमता यसमा भएकैले मलाई ‘सुली’ ले तानिरहन्छ, कुनै कुनै सत्यकथाले तानेजस्तो ।

पुरानो शिक्षा पद्धतिमा स्कुले शिक्षा पाएका हामीहरूले उच्च शिक्षामा मात्र उनका निबन्ध र समालोचना पढ्न पाएका थियौं । नयाँ शिक्षा योजना लागू भएपछिको पछिल्लो पुस्तामा नौ र १० कक्षाका लागि तयार पारिएको ‘महेन्द्रमाला’ मा तारानाथ दाइको ‘घनघस्याको उकालो’ पढ्न को बाँकी होला र ? ‘महेन्द्रमाला’ मा पढेको त्यो पाठबाहेक अन्य पाठ सम्झनै नसक्ने प्रौढहरू सम्भवतः अहिले पनि नेपालमा प्रशस्तै होलान् । कतिपयलाई त कदाचित् अरू पाठ सम्झे पनि पहिले घनघस्याकै नाम आउँदो रहेछ । यसरी डँडेलधुराको एउटा तर्तरी पसिना बगाउने र जीउ फतक्क गलाउने उकालोलाई उनले राष्ट्रको गहना बनाइदिएका छन् । मैले कैंयौंपटक सुनेको छु– गोदावरीको जंगली फाँटबाट बुढीतोला, फल्टुंडे हुँदै भातकाँडा, स्याउले, अमरगढी जाँदा वा गोठालापानी पुग्दा पनि मानिसहरू घनघस्याको ठाडो उकालोलाई स्मृतिमा खेलाएर गुड्छन् । सडकले घनघस्याको उकालोलाई छेउ लगाइदिएको छ ।

म भने ‘बेलायततिर बरालिँदा’ भित्रको ‘यालिसलाई लेखेको चिठी’ मा उनको अमर आत्माको निवास रहेको पाउँछु । त्यो आंग्ल ठिटीलाई तारानाथ दाइले जस्तै नेपालीको धुकधुकी सुनाउँछु । उनी जति लेख्छन्, चित्रमय लेख्छन्, उनका भावना आँधीमय हुन्छन् र पाठकलाई आफूसँगै उडाएर स्थानीय रङमा चुर्लुम्म डुबाउँछन् । भाषामा निख्खर नेपालीपन, अभिव्यक्तिमा इमानदारी र शैलीमा निर्भीकता नै हो तारानाथ शर्मा, जसलाई कोरा शब्दहरूको थुप्रोले साहित्यिक स्वाद दिने विषयमा रत्तीभर विश्वास थिएन ।

पछिल्लो समय करिब दुई वर्षअघि ताहाचल कालीमाटीस्थित ग्रान्ड होटलमा दाइ–भाउजू भेटिए । दाइ त रोगले गलेका देखिन्थे, शान्ता भाउजूमा पनि त्यो लावण्य कम हुँदै गएको आभास भयो मलाई । ‘द राइजिङ नेपाल’ को पचासौं वार्षिर्कोत्सव थियो त्यो समारोह, जसमा तारानाथ दाइलगायत पूर्वसम्पादकहरू जम्मा पारिएको थियो । सहयात्रीका रूपमा राष्ट्रिय समाचार समितिको कार्यकारी प्रमुखका हैसियतले म पनि निम्त्याइएको थिएँ । मेरा निम्ति कार्यक्रमका अन्य विषय एक प्रकारले गौण भइदिए, तारानाथ दाइ मुख्य आकर्षण भइदिए । त्यसो त नेपालको अंग्रेजी पत्रकारितामा नाम चलेका थुप्रै अंग्रेजवाज त्यहाँ थिए, तारानाथ दाइको जस्तो ज्ञान र अनुभव ती कसैमा थिएन । त्यति निश्छल र भव्य व्यक्तित्व अर्को थिएन, पाठकका मुटुमाझ यसरी निवास गरिरहेको शब्दशिल्पी अरू कोही थिएन । कुनैबेला जंगल नै गुन्जायमान पार्ने बाघ तारानाथ दाइ रोगले आक्रान्त भएर के बोलें र के बोल्नुपर्ने हो भन्ने सुद्धी हराइरहेका थिए र अशक्त बूढो बाघजस्तो क्षीण स्वरमा गर्जिने प्रयास गरिरहेका थिए ।

मैले केही गरी उनलाई थामथुम पारें । शान्ता भाउजू आफू शौचालय जाने फुर्सद लिन आग्रह गरिरहेकी थिइन्, ‘श्यामलजी एक्कैछिन दाइलाई हेर्नुहोला, म

ट्वाइलेट गएर आउँछु ।’ भाउजू बाहिरिएको करिब दस मिनेटपछि दाइले टाउको फनक्क घुमाए र भाउजूलाई कतै नदेखेपछि अँध्यारो अनुहार लगाएर मलाई सोधे, ‘ए श्यामलजी, मेरी स्वास्नी खोइ ?’

मैले भाउजू लघुशंका निवारणका लागि गएको बताएँ र भनें, ‘एकछिन चुप लाग्नु दाइ ।’ अनि भाउजू आइपुगिन् । दाइको अनुहार धपक्क बल्यो । उनले बेला न कुबेला ‘व्हेयर इज माई वाइफ’ भनेर अंग्रेजीको धक्कु लगाएनन्, हाम्रै गाउँघरमा बोल्ने बोलीमा भाउजूलाई ‘स्वास्नी’ भने । यसो भन्नुपछाडिको रहस्य खोल्न मैले उनलाई भनिनँ । बस्, यत्ति बुझें– तारानाथ दाइ भाषिक संस्कृतिले खाँट्टी नेपाली हुन्, जति वर्ष बेलायत–अमेरिका बसे पनि नेपाली बिर्संदैनन्, हिज्जेमा अति ख्याल राख्छन् अनि नेपाली शब्दको चोखो उच्चारण गर्छन् । गाउँका झर्रा शब्दलाई उनले आधुनिक नेपालीमा हुल्ने काम गरेका छन् । भाषामाथि अतिक्रमण हुँदा उनको चित्त बेस्सरी दुख्छ । त्यसैले आफूसँगै अमेरिका बसेकी, डुलेकी, जेएफ्के, हिथ्रो वा प्यारिसका भव्यतम विमानस्थलमा, समुद्रमा, क्याफेमा, डाउनटाउनहरूमा वा पबहरूमा कैयौंपटक चहारेकी ‘डार्लिङ’ र ‘बेटर हाफ’ लाई उनले ‘स्वास्नी’ भने । यसमा नेपालीपन थियो, हार्दिकता थियो र आफ्नो ग्रामीण बोलीचालीप्रतिको उनको आसक्ति थियो । यस्तै आसक्तिले हुनुपर्छ, झर्रोवादीहरूले नेपालीलाई संस्कृतलगायत अन्य भाषाको अतिरिक्त भारबाट बचाउन घोत्ल्याईं र सम्पादक्यौलीजस्ता शब्द बनाए र प्रचलनमा ल्याएका थिए ।

आफ्नै अगाडि आफूलाई चित्त नबुझेका कुरा मञ्चमा बसेर माइकबाट नेपाङ्ग्रेजी फुकिरहँदा उनलाई भाउन्न भइरहेको थियो । त्यसैले उनी त्यस सभामा गर्जे, ‘के बोलेको यस्तो वाहियात... जस्तो ?’

गर्जन साम्य पार्न मैले उनलाई कानमा केही भनेजस्तो गरें । उनी हाँसेजस्तो गरे । अनि खाजातर्फ ध्यान मोडेर तारानाथ शर्माकृत गर्जन अध्याय साङ्गे भयो ।

एकपटक उनको ‘ओझेल पर्दा’ भन्ने उपन्यासको अंग्रेजीमा अनुवाद गर्ने पूर्व पिसकोर स्वयंसेवक भएर नेपालमा २० वर्ष बिताएका लारी हार्टसेल ताहाचलस्थित मेरो अफिस आइपुगे । र, मलाई उनी बसेको जमलस्थित होटल नुकमा लगेर उपन्यासको पाठ र अनूदित पाठ दाँजेर सुझाव दिन आग्रह गरे । मैले हेरें र तारानाथ दाइका रचनामा न्याय गर्न धेरै मिहिनेत गर्नुपर्ने बताएँ । लारीले मलाई सोधे– ‘चाँदनी शाह कुन स्तरकी कवि हुन् ?’

मैले भने, ‘उनका कविता मैले पढेको छैन, गीतकार हुन् र उनका गीत ठीकठीकै छन्, तर ती कतिपयले दाबी गरेजस्तो उच्चकोटिका हुन् भनिहाल्न सक्तिनँ ।’

‘डा. शर्मा त उनलाई उत्कृष्ट भन्नुहुन्छ !’ लारीले मतिर मुस्काउँदै सोधेका थिए, ‘तपाईं त्यस वर्गमा किन राख्नुहुन्न ?’

‘उनी यस देशकी बडामहारानी हुन्, रूपसी छन् । सबैभन्दा ठूलो कुरा, डा. शर्मा भावनाका कुशल खेलाडी र रूपका पुजारी हुन् । त्यसभन्दा पनि ठूलो कुरा चाँदनी उनकी विद्यार्थी हुन् । चाँदनी मीरा र वर्डस्वर्थभन्दा माथि हुन् भने त्यसबारे उहाँलाई नै प्रस्ट पार्न भन्नुपर्ला ।’

अब तारानाथ दाइ अस्ताएपछि सोचिरहेको छु– मैले कहिल्यै तिमीलाई चोट पुग्ने गरी चाँदनी शाहबारे सोधिनँ । आफूलाई मन लागेको कुरा प्याट्ट भन्ने तिम्रो मीठो बानीको सिकार भयो यो प्रश्न । अब सोधौं कि ताना दाइ ?

तर, उनी त अदृश्य जगत्तिर गइसके । प्रश्न हावामा अदृश्य रूपमा तैरँदो छ । श्रद्धाञ्जली नेपाली साहित्यका विराट प्रतिभा तिमी अर्थात् भाषाविज्ञ, कथाकार, उपन्यासकार, समालोचक, प्राध्यापक, इतिहासकार तारानाथ शर्मालाई ।

प्रकाशित : फाल्गुन १४, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?