२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नयन र म : न जमेका, न पग्लेका 

पेसागत जीवन होस् वा सामाजिक परिवेश, हामी सबैको कसै न कसैसँग खास सम्बन्ध हुन्छ– खास दृष्टिकोणसहित । व्यक्तिमाथिको दृष्टिकोण आफैंले देखेको र अनुभव गरेको आधारमा तय हुन्छ, जसलाई संसारको अन्य दृष्टिकोणले फेरबदल गर्न सक्दैन । 'समदृष्टि’ त्यही स्तम्भ हो, जहाँ एकको दृष्टिमा अर्कोको जीवन–चित्र लेखिनेछ ।
श्यामल

कुन मितिमा मेरो र नयनको भेट भयो, म भन्न सक्दिनँ । तर, भेट भएको त्यो ठाउँ मेरो प्यारो सहर नेपालगन्ज थियो अनि भेट गराउने तत्त्व कविता थियो, त्योचाहिँ ठोकेरै भन्न सक्छु । 

नयन र म : न जमेका, न पग्लेका 

पछि थाहा भयो, पुर्ख्यौली घर सल्यान भएको र काठमाडौंमा जन्मेको नयनलाई यस सहरले आफ्नो आत्मीय ‘वे’ बनाइसकेछ । अर्थात् पूरै ‘आफ्नो’ बनाइसकेछ । अर्थात् ऊ हुर्केको सहर रहेछ यो । म काठमाडौंबाट कामविशेषले नेपालगन्ज जाँदा उसले च्याप्पै मलाई समातेर ‘दाइ भोलि बिहान मकहाँ खाना खाने गरी आउनुस् न’ भनेर गएको थियो । र, भोलिपल्ट बिहान म सुर्खेत रोडस्थित उसको घर गएको थिएँ । उसकी आमाले मलाई दाल–रोटी–तरकारी ख्वाएर ऊ स्वयंलाई झैं स्नेहमयी आँखाले हेरेकी थिइन् । सुर्खेत रोडको पश्चिमी किनारमा पूर्व फर्केको दुईतले घर थियो उसको । म जाँदा ऊ कौसीमा केही चलफिर गरिरहेजस्तो देखेको थिएँ र आफू आएको सूचना दिन मैले ‘नयन’ भनेर बोलाएको थिएँ । उसले सडकतिर एक लघुदृष्टि फ्याँकेर तल ओर्लेको थियो र मलाई डोर्‍याउँदै माथिल्लो तला उकालेको थियो ।

मानिस धेरै निकट भएपछि उससँग सम्बन्धित केही सूचना काम लागे पनि केही काम नलाग्दा रहेछन् । जस्तै उसको ‘टाइमलाइन र डिटेल बायोग्रफिकल इन्फर्मेसन’ मलाई चाहिएको थिएन । अतः नयनको घर परिवार, इष्टकुटुम्ब र छरछिमेकमा को–को छन् ? कहिल्यै सोधिनँ । त्यसमा कमै जानकार छु । उसले पनि सोधेन । ऊ मेरो भाइको कानुन संकायको सहपाठी भएकाले कतै उसबाट केही बुझेको भए कुन्नि, नत्र उसले मेरोबारे पनि आवश्यक चासो मात्र राख्यो होला भन्ठान्छु । हामी दुई भाइबीच सम्बन्धमा न कहिल्यै अतिरिक्त मिठास रह्यो, न त तीतोपन नै । न हामी गर्मीले रन्केर पग्ल्यौं, न चिसिएर जम्यौं । एक अनौठो सन्तुलन कायम गरेको छ नयनले । अर्थात् मैले पनि लक्ष्मणरेखा नाघेको छैन ।

‘हो, दाइ नै हुन् उनी मेरा । रगतको साइनो छैन । तर, साहित्यले जोडिदिएको यो साइनोले म खुसी छु । उनलाई भेट्दा एउटा अभिभावकलाई भेटेजस्तै लाग्छ । उनी सधैं मेरो भलो चाहन्छन्,’ आफ्नो संस्मरण ग्रन्थ ‘यार’ मा नयनले मेरोबारे यसो लेखेको छ ।

हुन पनि कुरो यही हो । ऊ मेरो प्यारो भाइ हो । ऊ समकालीन नेपाली साहित्यको आख्यान विधाको बलियो लेखक हो । ऊ कथ्यलाई छरितो शैलीमा ढाल्ने कलामा पोख्त छ । उसको पुस्तामा स्थानीय भाषा र परिवेशलाई यथारूप टिपेर आख्यानमा उन्न ऊ जत्तिको शब्दकर्मी अर्को भएजस्तो लाग्दैन । रिसर्च गरेर ऊ साहित्य लेखनलाई आधिकारिक बनाउन सक्छ । ‘उलार’, ‘लू’ र ‘सल्लीपिर’ यसका दृष्टान्त हुन् । यस विश्वासले मलाई उसप्रति आश्वस्ति भाव जगाइरहेको हुन्छ ।

उसो त नयन औपचारिक शिक्षाको हिसाबले वरिष्ठ अधिवक्ता भइसक्नुपर्ने हो, नेतागिरीमा लागेको हिसाबले मन्त्रीसन्त्री भइसकेको हुनुपर्ने थियो । लौ, त्यो भएन भने पनि जमुनाहा नाकामा यताउता गरेर अर्बौंको मालिक बन्न नसक्ने मानिस थिएन । म पनि साहित्यमा नहँॅदो हुँ वा अन्य कुनै पेसा व्यवसायमा हुँदो हुँ, साहित्यलाई सोख मात्र ठान्दो हुँ या त मन परेकी षोडशीलाई ताकेर दुई–चार अनुप्रासयुक्त भावुकताले परिपूर्ण लाइन लेखेर साहित्यलाई त्यस स्तरमा नाप्तो हुँ त म पनि भन्ने थिएँ– ‘नयनवाले के गर्‍यो ? मन्त्रीसन्त्री भयो ? अर्बौं कमाउन सक्यो त ?’ गम्भीरतापूर्वक साहित्यको भीखमंगा मार्गमा हिँडेर उसले आफूलाई अररो, जिद्दी, आमसम्मानले गर्दा केही चमत्कारी विद्यामा लाग्न नसक्ने मजस्ता दाजुभाइ र मित्रहरू बनायो । गाडी त ऊ पनि चढ्छ, सेलिब्रिटी हो । उसका उपन्यासको बिक्रीले पनि उसलाई गाडी चढ्ने ल्याकतको बनाउँछ भन्छन् जानकारहरू ।

ऊ आफ्ना रचनामा मैले नजिकैबाट चिनेका नेपाली लोटाको खाँट्टी पिँधका समुदाय र मानिसहरूलाई तिनीहरूका परिस्थिति, मनोदशा र द्वन्द्वसहित साक्षात्कार गराउँछ । बाहिरबाट नदेखिने तर जीवनलाई बिछट्टै गिजोलिरहेको सामाजिक यथार्थलाई बडो प्रभावकारी छरितो लोकभाषामा लेख्छ । यस्तो लाग्छ, ऊ सीमान्त वर्गका मानिसका कथा भन्न जन्मेको हो । उसको यही पक्षले उसलाई मेरो नजिक ल्याउँछ । मैले लेख्नुपर्ने कुरा अर्कै भाषामा ल्याएका कारणले म पनि उसको छेउ पुगिरहेको हुन्छु । यो पारस्परिक साँध मिचाइ अत्यन्त प्रिय छ । यसरी हामी दुई दाजुभाइको मित्रता झाँगिइरहेको छ ।

साहित्यप्रति उसको आकर्षण र विश्वास घनीभूत भएपछि काठमाडौंमा आएर ‘नाङ्गो मान्छेको डायरी’ र ‘विक्रमादित्य एउटा कथा सुन’ शीर्षकका उपन्यास बजारमा ल्यायो नयनले । मलाई उसको ‘डडडबाद’ अर्थात् आधा वाक्य लेखेर ‘...........’ लेख्ने पद्धतिमा रत्तिभर विश्वास भएन र मैले भनें, ‘नयन भाइ, यो डडडबाद त्याग गर । यसले सम्प्रेषण भन्ने तत्त्वलाई बिगार्नेबाहेक खासै केही योगदान गरेन ।’ मैले यसो भन्दा नयन गम्भीर मुद्रामा थियो । प्रतिरोध गरेन । आनो शैली उत्पातै राम्रो छ भनेन । दाइले ठीकै भने भनी ठानिदियो ।

पछि–पछिका कथा, उपन्यासमा डडड आएन । वाक्यहरू छरिता भए । हुनचाहिँ ऊ सफल भएको थियो, मैले आफू सफल भएको ठानें । हामी दुई भाइबीच यस्तै केही समझदारी विद्यमान रहेछ र त सम्बन्ध पनि सुमधुर छ ।

‘उलार’ को पहिलो संस्करणको भूमिका लेख्न मात्रै होइन, उसले आवरण डिजाइन गर्न पनि मलाई नै लगायो । कोजी होटलको रेस्टुरेन्टमा बसेर मैले कभर डिजाइन तयार गरेर दिएँ । ममाथिको उसको विश्वास कति भने इन्द्रबहादुर राई, तारानाथ शर्मा, दयाराम सम्भव र कृष्णचन्द्रसिंह प्रधानजस्ता प्रकाण्ड समालोचकका अगाडि भूमिका लेख्न मलाई चुन्यो । शशी शाह, उत्तम नेपाली, मदन चित्रकार, केके कर्माचार्य र किरण मानन्धरजस्ता कुचिकार हुँदाहुँदै आवरण चित्र बनाउन मलाई नै भन्यो । यस विश्वासले पनि उसको र मेरो सम्बन्धलाई कसिदिएको होला ।

‘उलार’ को दोस्रो संस्करण निस्किँदा ऊ नेपालको उपन्यास बजारको ‘हट केक’ थियो । उसले फाइन प्रिन्ट नामधारीे नयाँ प्रकाशक पाएको थियो । अनि प्रकाशकले विख्यात कलाकार दुर्गा बराललाई कभर बनाउन लगायो । यस संस्करणको प्रकाशन चर्चा गुरुकुलमा भयो । जल्दाबल्दा युवाहरूको आकर्षण भयो नयन । चर्चाकार मञ्जुश्री थापा र गगन थापा थिए । दर्शक दीर्घाबाट म पनि को के भन्छन् भनी उत्सुकतापूर्वक सुनिरहेको थिएँ ।

भर्खरै सांसद चुनिएका गगन थापाले भने, ‘समयको अभावले म आउन सक्ने थिइनँ, उपन्यास पढेको पनि थिइनँ ।’ यतिसम्म त सही नै थियो । उनले जे थपे त्यो आश्चर्यजनक थियो । उनले थपे, ‘श्यामल दाइको भूमिका पढेपछि उपन्यास पढ्न मन लाग्यो र पढिसकेर हाजिर भएँ ।’ त्यस कुराले एकछिन त तरंग ल्याएझैं लाग्यो मलाई । यस्तो लाग्नु पनि हामी दुई भाइबीचको सम्बन्धको न्यानोपन दर्शाउने कुरा हो भन्न सकिने भयो ।

नयनका तीनवटै उपन्यासमा कुनै न कुनै रूपमा म गाँसिएको छु । मैले ‘उलार’ को भूमिका लेखेको छु । ‘लू’ पढेर उसलाई सुझाव दिएको छु (‘लू’ को पाण्डुलिपि पढेर प्रभावित भएको मेरो छोरो समर्थले त्यसको एक अंश झिकेर अलग्गै ‘चकलेट’ कथा बनाएको मन पराएको छैन । मैले त्यति नै बेला उसलाई सो प्रतिक्रिया भनिदिएको छु । ऊ अझै पनि नयन अंकलले ठीक गर्नुभएन भनिरहन्छ)

देशमा विख्यात प्राज्ञजन र प्राध्यापकहरू, पहिले राजा र पछि राष्ट्रपति तथा प्रधानमन्त्री र मन्त्रीहरू छँदाछँदै मैले पर्यटन बोर्डको परिसरमा ‘सल्लीपिर’ को विमोचन गरेको छु । शैली विज्ञान र विधाशास्त्रका उद्भट विद्वान्हरूको उपस्थिति हुँदाहुँदै मैले धेरै ठाउँमा उसको ‘निदाएँ जगदम्बा’ शीर्षक कथाको ‘कन्टेन्ट र टेक्निक’ बारे चर्चा गरेको छु । कथा विशारदहरूको उपस्थिति हुँदाहुँदै मजस्तो सामान्य मानिसले ‘हिटलर’, ‘मुसो’, ‘खोरभित्रको जोकर’ जस्ता कथाबारे बरोबर उल्लेख गरेको छु । मलाई थाहा छ, उसको राजनीतिक मान्यता मेरोभन्दा फरक छ तर नियत र बुझाइ फरक छैन । त्यसैले नै उसलाई हामीले साझा प्रकाशनको सञ्चालक समितिमा उम्मेदवार बनायौं र जितायौं पनि । पछि उसले आमरण अनशन गरेर हामीलाई चकित बनाइदियो । अझ धुलिखेलमा प्रशिक्षण कार्यमा व्यस्त रहेको मलाई खगेन्द्र संग्रौलाले फोन गरेर नयन–काण्डबारे बेलिविस्तार लगाए र तुरुन्त काठमाडौं फर्की नयनसँग जोडिन आग्रह गरे । आनो–आनो इमानदारी हाम्रो साझा पुँजी हो, तसर्थ यस तथ्यलाई सही सावित गर्न म सोही दिन अनशनरत नयनलाई भेट्न काठमाडौं आइपुगेको थिएँ तर प्रशासनका कृपाले उसलाई अन्तै कहीं लगिएकाले उतै भेट्न जानुपरेको थियो ।

एउटा कुरा भनिदिऊँ, मैले उसको ‘मसान’ नामक टेलिनाटक र मैना नामक फिल्मबाहेक अन्य हेरेको छैन । ‘मैना’ मा नयनले मेरो कविता ‘मैना सुनारकी आमा’ राख्न अनुमति मागेको थियो तर मैले कुन्नि किन हो, वास्तै गरिनँ । तर, उसले कुनै गुनासो गरेन । यसरी गुनासो नगर्नु पनि सम्बन्धलाई सामान्य राख्न सहयोगी सावित भएको छ । अर्थात् उहिल्यै साठी नाघेको श्यामल र दुई–तीन वर्षमा साठी पुग्न लागेको नयनबीचको सम्बन्ध हालसम्म गुनासोमुक्त छ । अब बाँकी वर्ष पनि हाम्रो सम्बन्धलाई गुनासोमुक्त राखिराख्न मैले आफ्नो लेखनको गतिमा तीव्रता दिनुपर्नेछ र उसले कुनै बहानामा पनि मबाट कुरा लुकाउन र पछि लेख्न मिल्ने छैन (जस्तो उसले मलाई दिनुपर्ने पैसा नदिएर आफ्नो पर्स नै कतै खसालेर पछुतो मान्नुपरेको थियो ः हेर्नुहोस् ‘संवेदना’ शीर्षकको संस्मरण, ‘यार’) । अर्को कुरा, उसले मैले आवश्यक ठानी फोन गरेको बेला फोन उठाएको हुनुपर्नेछ जस्तो उसलाई परेको बेला मैले तत्काल फोन उठाउने धृष्टता गरिआएको छु ।

नयन र मलाई जोडिरहने एउटा सेतु उसका साना बाबु अर्थात् हाम्रा उत्तम दाइको पत्रिका ‘रूप–रेखा’ पनि थियो । उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डेको सम्पादन समूहमा केही वर्ष सम्पादन सहयोगीका रूपमा म त्यसका व्यवस्थापक किशोर कुँवरसँगै थिएँ । ऊ मलाई फटाफट शैलीमा चिठी लेखिरहन्थ्यो । २०३९ सालमा उत्तम दाइ बितेपछि त्यो टिम लथालिङ्ग भयो । रूपायन प्रेस बेचियो । बालमुकुन्दले आफूलाई चारु प्रेसमा होमिदिए । शान्ति भाउजू एक्लै परिन् । साहित्यमा बामे सरेको नयन केही समय शान्ति भाउजूको सहयोगीका रूपमा ‘रूप–रेखा’ मा खटियो । किनभने ऊ शान्ति भाउजूको साख्खै दिदीको छोरा थियो । अतः महादुःखको घडीमा ऊ विश्वासको एक बलियो आधार थियो । त्यसै बेला उसले मसँग कथा माग्यो र मैले ‘विद्या’ शीर्षकको कथा दिएँ । सायद यो २०४३ सालको कुरा हो । (अहो, यो कथा छापिएपछि त मलाई डा. ईश्वर बरालले ‘उर्दूका विश्वविख्यात कथाशिल्पी सआदत हसन मन्टोका झैं प्रतिभा भएको’ भनेर चिठी पो लेखे त !) सो कथा उसले ‘रूप–रेखा’ मा छापेको छ ।

कुनै बेला मैले लेखेको रहेछु, ‘नयन भलादमी छ, न्यायप्रिय छ, मृदुभाषी छ । सुगठित देहयष्टिको, ठिक्कको उचाइ भएको, नेपाली वर्णको बहुरुचि सम्पन्न, बहुविधाचारी साहित्यिक मनुष्य हो ऊ । अचेल धेरैले उसलाई बढीजसो उपन्यासकारका रूपमा चिन्छन् तर आरम्भमा उसले कविता लेखेर कैयौं डायरी भरेको थियो । कथामा उसको राम्रो बजार छ । फिल्मको पटकथा लेखेर पनि उसले जीवनको पाङ्ग्रो गुडायो । यसरी गुडाउँदा गुडाउँदै उसले फिल्मको निर्देशन पनि गर्‍यो । विविध बान्कीका उत्तरोत्तर शैली प्रयोग गर्ने क्रममा उसले स्वयंमाथि पनि प्रयोग गर्‍यो । भद्रता उसमा जन्मजात छ, कहींकतै सहीनसक्नु लागे अभद्रताको पराकाष्ठामा पुग्न उसलाई लाज लाग्दैन । प्रेमस्रेमप्रति उसलाई रुचि नभएको होइन, तथापि उसलाई अघाएको प्रेमी भन्नु उचित हुन्छ ।’

यसो भनिरहँदा पनि उसले सहेको छ, प्रतिवाद गरेको छैन । यसको अर्थ हो मैले ठीकै भनिरहेको छु । अर्थात् मैले गलतै भनिरहेको भए पनि उसले ठीकै मानिदिएको छ । उसकै ‘यार’ वाला शब्द सापटी लिएर भन्ने हो भने श्यामल दाइले उसको भलै चिताउँछ । उसको कुभलो चिताइहाल्नुपर्ने कारण आजसम्म फेला परेको छैन । यस सोचले पनि हाम्रो सम्बन्धलाई गाढा, विश्वासिलो र मर्यादित बनाएको हुनुपर्छ ।

साहित्य र कलामा लागेपछि केही न केही पुच्छ्रे नाम जोड्ने चलन थियो । हामीले कहिल्यै खेती नगर्ने महानुभावलाई खेताला भनी विश्वास गर्‍यौं । जोरगणेश प्रेसका मालिकलाई गोठालो मान्यौं । रसिकजनलाई व्यथित, विकल, विरही मान्यौं । यसरी पढिआएकाले होला, आफ्नो साहित्यिक यात्राको उषाकाल (टुसाकाल भनौं) मा नयनराज पाण्डे ‘पीयूष’ थियो । उसको नजिकै एक साहित्यिक रुचि सम्पन्न महिला पीताम्बरा पीयूष भनेर लेख्ने गर्थिन् । पछि, नयनले स्वविवेकले गाँसेको त्यो पुच्छर काटेर सदाकालका लागि फालिदियो । मलाई लाग्छ, सोही दिनदेखि उसमा निजत्व र मौलिकताको महत्त्वको बोध हुँदै गयो । बाबुले राखिदिएको काठमाडौंका पाण्डे खलकको आनुवंशिक मौलिकता झल्कने गरी ऊ नयनराज पाण्डे भयो । तर, उसको गद्यमा देखिने छरितोपन, न वंशभितर, न त वंश इतर नै छ । उसको खास मौलिकता उसको भाषा हो । म अरूका अगाडि छाती फुकाएर यसो भन्छु । सामान्य जनप्रतिको सरोकार र तिनको मर्यादाप्रतिको प्रतिबद्धता हामी दुई भाइका साझा सम्पत्ति हुन् । हाम्रो सम्बन्धलाई स्थिर र जीवित राख्ने एउटा कडी भाषा हो ।

प्रकाशित : चैत्र २४, २०८० १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?