२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

भारतमा लोकसभाको पहिलो चरणको चुनाव सुरु

लोकसभाको १ सय २ सिटका लागि मतदान
राजेश मिश्र

नयाँदिल्ली — भारतमा शुक्रबारदेखि लोकसभाको पहिलो चरणको चुनाव सुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुन लागेको हो । चुनावको परिणाम भने ४ जुनमा मात्रै आउनेछ ।

भारतमा लोकसभाको पहिलो चरणको चुनाव सुरु

पहिलो चरणमा २१ राज्यका १ सय २ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । उत्तर प्रदेशका ८, बिहारका ४, मध्य प्रदेशका ६, राजस्थानका १२, उत्तराखण्डका सबै ५ सिटका लागि मतदान हुनेछ । त्यसैगरी, पश्चिम बंगालका ३, असमका ४, मेघालयका २, अरुणाचलका २, छत्तीसगढका १, महाराष्ट्रका ५, तमिलनाडुका ३९, मिजोरमको १, नागाल्यान्डको १, सिक्किमको १ र त्रिपुराको १ सिटमा मतदान हुँदै छ । पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, अण्डमान निकोबार द्वीप, मेघालय, मिजोरम, नागाल्यान्ड, पन्डुचेरी र सिक्कमका सबै निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ ।

दक्षिणको सबैभन्दा ठूलो राज्य तमिलनाडुमा विपक्षी गठबन्धन बलियो मानिन्छ । अघिल्लो चुनावमा त्यहाँ भाजपाले एक सिट पनि जित्न सकेको थिएन । यस पटक भाजपाले त्यहाँ विजय हासिल गर्न जोडबल लगाएको छ । उत्तर प्रदेशको पिलिभित, सहारनपुर, बिजनौर, नगिना, मुरादावाद, रामपुरमा भाजपालाई विपक्षी ‘इन्डिया’ गठबन्धनले चुनौती दिँदै छ । त्यहाँ द्विपक्षबीच कडा प्रतिस्पर्धा हुने मानिएको छ । बिहारको औरंगावाद, गया, जमुई र नावादमा पनि द्विपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

नेपालसँग सीमा जोडिएको उत्तराखण्डका अलमोडा र नैनीताल, उत्तर प्रदेशको पिलिभित निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुँदै छ । पहिलो चरणमा केन्द्र सरकारका आठ मन्त्री, तीन पूर्वमुख्यमन्त्री प्रतिस्पर्धामा छन् । केन्द्रीय सडक तथा यातायातमन्त्री नितिन गडकरी नागपुरबाट प्रतिस्पर्धामा छन् । केन्द्रीय मन्त्रीहरू किरण रिजिजु, सर्वानन्द सोनेवाल, सञ्जीव बालियान, जितेन्द्र सिंह, भूपेन्द्र यादव र अर्जुनराम मेघवाल चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस नेता गौरव गोगोई, तमिलनाडुको क्षेत्रीय पार्टी डीएमकेका ए राजा पहिलो चरणमै चुनावी मैदानमा छन् ।

सन् २०१४ देखि भाजपा पहिलो पार्टी बन्दै आएको छ । नरेन्द्र मोदी १० वर्षदेखि प्रधानमन्त्री छन् । उनले यस पटक चार सय सिट जित्ने दाबी गर्दै आएका छन् । १० वर्षमा सरकारले गरेको काम र उपलब्धिलाई मोदीले जनतासमक्ष सुनाइरहेका छन् । कांग्रेस नेता राहुल गान्धी र अन्य विपक्षी नेताहरू पनि मोदीलाई चुनौती दिन चुनावी सभाहरूमा व्यस्त छन् ।

प्रकाशित : वैशाख ७, २०८१ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?