कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

रासस

मलेखु (धादिङ) — धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीया पत्नी ठूली लामा र तेजको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । 

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

'राति करिब ११:३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो,' प्रहरी उपरीक्षक केसीले भने ।

यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए । पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ । आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरले बताए ।

प्रकाशित : वैशाख २०, २०८१ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?