ओमानी सुल्तानको निधन, अबको उत्तराधिकारी को ?

सबैको ध्यान 'बन्द खाम'मा
एजेन्सी

मस्कट — ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ ।  ओमानी सञ्चारमाध्यमहरुका अनुसार सुल्तान काबुसको निधन शुक्रबार साँझ भएको हो । डिसेम्बरमा उनी बेल्जियममा उपचार गराइ फर्किएका थिए । उनको जन्म सन् १९४० नोभेम्बर १८ मा ओमानको सलाहमा भएको थियो ।

ओमानी सुल्तानको निधन, अबको उत्तराधिकारी को ?

काबुस अरबमा सबैभन्दा बढी समय शासन गर्ने सुल्तान हुन् । उनले ५० वर्ष ओमानी सत्ताको बागडोर सम्हाले ।

सन् १९७० मा बेलायतको समर्थनमा आफ्नै पिता सइद बिन तैमुरलाई गद्दीबाट हटाएर काबुस ओमानको सुल्तान बनेका थिए । उनले तेलबाट हुने आम्दानीलाई ओमानको विकासमा खर्च गरेका थिए । उनले भारतबाट उच्च शिक्षा प्राप्त गरेका थिए । त्यस्तै उनले बेलायतको रोयल मिलिटरी एकेडेमीबाट सैन्य तालिम पनि लिएका थिए । उनी सन् १९६४ मा ओमान फर्किएका थिए । त्यसपछि लामो समय उनी इस्लामिक कानुन र ओमानी इतिहासको अध्ययनमा समय बिताए ।

१९७० मा बेलायतको समर्थनमा बाबुलाई हटाएर ओमानको सत्तामा आएका सुल्तान काबुस आधुनिक ओमानको निर्माताका रुपमा परिचित छन् । २९ वर्षको उमेरमै उनी ओमानको सुल्तान बनेका थिए । उनी सुल्तान भएका बेला ओमानमा मात्रै १० किलोमिटर पक्की सडक र तीनवटा विद्यालय भएको बताइन्छ ।

रुढीवादले ग्रस्त ओमानी समाजमा उनले महिला सशक्तीकरणको अभियान पनि चदाएका थिए । उनले अमेरिकाका लागि महिला राजदूत पनि नियुक्त गरेका थिए । त्यसैले कनेक्टिकट विश्वविद्यालयका प्राध्यापक जेफ्री लेफेव्रे सुल्तान काबुसलाई ‘ओमानी पुनर्जागरण’ का सुरुवातकर्ता मान्छन् ।

काबुसको उत्तराधिकारी को ?

सुल्तान काबुस अविवाहित थिए । अहिलेको अवस्थामा उनको उत्तराधिकारीका रुपमा कोही पनि छैनन् । सल्तनत नियमअनुसार गद्दी खाली भएको तीन दिनभित्र शाही परिवार परिषद्ले नयाँ सुल्तान चुन्नुपर्नेछ । शाही परिवार परिषद्‌मा झण्डै ५० सदस्य रहेका छन् ।

यदि परिवारमा नयाँ सुल्तानका विषयमा सहमति नबनेमा रक्षा परिषद्‌का सदस्य, सर्वोच्च अदालतका अध्यक्ष, सल्लाहकार परिषद तथा राज्य परिषद्‌ले त्यो बन्द खाम खोल्नेछन्, जसमा सुल्तान काबुसले नयाँ सुल्तानका रुपमा कसलाई सिफारिस गरेका छन् भन्ने थाहा हुन्छ । सुल्तान काबुसले जसलाई नयाँ सुल्तानको रुपमा देख्न चाहेको बताएका छन्, त्यही व्यक्ति नै ओमानको नयाँ सुल्तान बन्नेछन् ।

ओमानको नयाँ सुल्तानका रुपमा काबुसका तीन भाइ अग्रपंक्तिमा रहेका छन् । यसमा पूर्व संस्कृति मन्त्री हैयथम बिन तारिक अल सइद, उपप्रधानमन्त्री असद बिन तारिक अल सइद, ओमानका पूर्व जलसेना कमान्ड शिहब बिन तारिक अल सइद रहेका छन् ।

सुल्तान ओमानको सर्वोच्च पद हो । सुल्तानले नै ओमानको प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री तथा विदेशमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका हुन्छन् ।

लोकप्रिय छवि

पितालाई हटाएर ओमानी सत्तामा बसेका सुल्तान काबुसले सामाजिक सुधारका कामका साथै विदेश नीतिमा पनि व्यपाक सुधार गरे । उनले विदेश मामिलामा तटस्थताको सिद्धान्तलाई पछ्याए । सन् २०१३ मा अमेरिका र इरानबीच गोप्य वार्ता गराउनका लागि सुल्तान काबुसको महत्वपूर्ण भूमिका थियो । त्यसैको २ वर्षपछि सन् २०१५ मा ऐतिहासिक परमाणु सम्झौता भएको थियो ।

सन् २०१३ मा तेहरान भ्रमणका बेला इरानी राष्ट्रपतिसँग ओमानी सुल्तान काबुस बिन सइद अल सइद

उनी एक दूरदर्शी सुल्तानका रुपमा परिचित छन् । तर उनलाई पनि विरोधी आवाज दबाएको आरोप भने बारम्बार लाग्ने गरेको छ । सन् २०११ को अरब क्रान्तिका समयमा उनको विरुद्ध पनि आवाज उठेका थिए । तर ओमानमा भने अन्य अरब देशमा जस्तो विरोध भएन । रोजगारको माग, तलबवृद्धि र भ्रष्टाचारविरुद्ध ओमानी नागरिक सडकमा ओलिर्एका थिए । प्रशासनले सामान्य बल पनि प्रयोग गरेको थियो । प्रदर्शनका क्रममा दुई व्यक्तिको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

सुल्तान काबुसले प्रदर्शनकारीका केही मागको सम्बोधन पनि गरे । उनले थप रोजगारी सिर्जना गर्ने वाचा गरे । भ्रष्टाचारको आरोप लागेका केही मन्त्री पनि उनले हटाए ।

प्रकाशित : पुस २६, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?