अस्ट्रेलियामा हजारौंको प्रदर्शन

नारायण खड्का

अस्ट्रेलिया — लगातारको आगलागीका कारण जनजीवन अझै प्रभावित रहेको अवस्थामा जलवायु परिवर्तनका लागि प्रभावकारी काम गर्न माग गर्दै अस्ट्रेलियाका विभिन्न सहरमा हजारौंले प्रदर्शन गरेका छन् । प्रर्दशनीमा सहभागीहरुले अस्ट्रेलियाली प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

अस्ट्रेलियामा हजारौंको प्रदर्शन

सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका सहरमा आयोजित र्‍यालीमा सहभागीहरुले प्रधानमन्त्री स्कट मरिसनको बर्खास्तीको माग समेत गरेका थिए । ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले आयोजना गरेको प्रदर्शनीले सहरका मुख्य भागहरु प्रभावित बनेका थिए । प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको बर्खास्ती लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए । उनीहरुले स्वयंसेवक अग्निनियन्त्रकका रुपमा काम गरिरहेकाहरुलाई क्षतिपूर्ती दिनुपर्ने साथै घर जलेर घरवारविहिन भएकालाई उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

अस्ट्रेलियाका अधिकांश भागमा विगत ५ महिनादेखि लागेको डढेलोले जनजीवन प्रभावित छ । हजारौंको उपस्थिति रहेको र्‍यालीका कारण व्यस्त समयमा सिड्नी, मेलर्ब, ब्रिसबन लगायतका सहरको यातायात प्रभावित बनेको सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी जलवायु परिवर्तन सम्बन्धी प्रभावकारी कार्यक्रम नल्याएको भन्दै प्रधानमन्त्री मरिसनको आलोचनासमेत हुँदै आएको छ । शुक्रबार आयोजित र्‍यालीमा समेत आगलागी नियन्त्रणमा प्रभावकारी कार्य हुन नसकेको भन्दै आलोचना गरिएको थियो ।

अस्ट्रेलियाको डढेलोमा परी करोडौँ वन्यजन्तु मरेको दाबी

सिड्नीमा आयोजना गरिएको र्‍यालीमा सहभागी प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले र्‍यालीमा करिब ५ हजार बढी प्रदर्शनकारी सहभागी रहेको जानकारी दिँदै अधिकांशको माग जलवायु परिवर्तनका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्ने र आगलागीबाट पीडितहरुलाई उचित बासस्थानको व्यवस्था गर्नुपर्ने रहेको बताए । उनले र्‍यालीमा युवायुवती, वृद्धवृद्धा र आगलागीबाट पीडित सर्वसाधारणको समेत सहभागिता रहेको जानकारी दिए ।

अस्ट्रेलियाको डढेलो रोकथाम गर्न हलिउडका हस्तीहरुको सहयोग अपिल

विगत लामो समयदेखि आगलागी र सुख्खाबाट गुज्रेको अस्ट्रेलियाको पछिल्लो डढेलोपछि जलवायु परिवर्तनका लागि प्रभावकारी नीतिको माग हुँदै आएको छ । यद्यपि यसबारेमा सरकारले उचित ध्यान नदिएको गुनासो अधिकांशको छ । शुक्रबार आयोजित प्रदर्शनप्रति भिक्टोरियाका प्रिमियर ड्यानिल एन्ड्रयुले आलोचना गरेका छन् । उनले प्रदर्शनमा सहभागी ठूलो भीडलाई व्यवस्थित गर्न आगलागी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी ल्याउनुपर्ने भएकाले यसलाई आगलागी नियन्त्रणको कार्यमा ढिलासुस्ती हुने उल्लेख गरेका छन् । आयोजकहरुले भने सरकारले जलवायु परिवर्तनका पक्षमा प्रभावकारी कार्यक्रम ल्याएको खण्डमा आफूहरुले प्रदर्शन रोक्ने बताएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्रीको विरोध किन ?

अस्ट्रेलियाका सञ्चारविज्ञ तथा विश्लेषक भरतराज पौडेल प्रधानमन्त्री मरिसनले जलवायु परिवर्तनलाई हल्का रुपमा लिँदै प्राकृतिक प्रक्रिया भएको बताउनु र आगलागी भएपछि त्यसतर्फ बेलैमा चासो नदेखाउनु मुख्य कारण रहेको बताउँछन् । मरिसन जनताको पीडामा तत्कालै भावनात्मक रुपले गम्भीर नभएको र जनता र विश्व समुदायका केही नेताहरुले जलवायु परिवर्तनका लागि उठाइरहेका विभिन्न मुद्दाहरुलाई आगलागीका सुरुका दिनमा हलुका रुपमा लिएकालेसमेत उनको विरोध भएको हो ।

यसैगरी अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन देशमा आगलागी भइरहेको समयमा परिवारसँग बिदा मनाउन हवाई गएपछि अधिकांशले आलोचना गरेका थिए । देश आगलागीको चपेटामा परेको समयमा बिदा मनाउन गएको भन्दै उनलाई विपक्षी दलका साथै सर्वसाधारणले आलोचना गरेका थिए । केही दिनअघि आगलागी पीडितहरुलाई भेट्न भिक्टोरिया पुगेका उनीप्रति आगलागी पीडितले आक्रोश समेत पोखेका थिए । उक्त समयमा पीडितले हात मिलाउन बहिस्कार गर्नुका साथै आगलागी नियन्त्रणका लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्न माग गरेका थिए । तर प्रधानमन्त्री मरिसनले यस घटनालाई व्यक्तिगत रुपमा नलिने बताउँदै आफूले पीडितहरुको पीडालाई महसुस गरेको बताएका थिए । पछिल्लो समयमा उनीे सरकारका तर्फबाट अपेक्षा गरेभन्दा धेरै खर्च र जनशक्ति आगलागी नियन्त्रणका लागि खटाइरहेका छन् । आगलागीबाट भएको क्षतिको खर्च परिपूर्ती गर्न अरबौं डलर लाग्ने अनुमान गरिएको छ ।

आमाको माया !

प्रकाशित : पुस २५, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?