२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

फस्टाउँदै अन्तरिक्ष पर्यटन

२०२३ मा अन्तरिक्ष पर्यटनको बजार ८४८.२८ अर्ब डलर थियो, २०३२ सम्ममा यो बढेर २७ हजार ८६१.९९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ
सजना बराल

काठमाडौँ — अमेरिकी अर्बपति जेफ बेजसको अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनी ‘ब्लु ओरिजिन’ ले अन्तरिक्ष भ्रमणमा जान लागेका ६ जना पर्यटकको नाम र विवरण हालै सार्वजनिक गरेको छ । दुई साताअघि सार्वजनिक गरिएका पर्यटकमा अन्तरिक्ष इतिहासका विशिष्ट व्यक्ति मानिने एड ड्वाइटसहित सगरमाथा आधार शिविरलगायत नेपाल घुमेकी पूर्वलेखापाल क्यारोल स्कालर छन् ।

फस्टाउँदै अन्तरिक्ष पर्यटन

त्यस्तै, भारतका विमान चालक गोपीचन्द थोटाकुरासँगै मेसन एन्जल, सिल्भिया सिरन र केनेथ एल हेस पनि सूचीमा अटाएका छन् ।

अन्तरिक्ष अन्वेषणमा रुसलाई उछिनेर अमेरिकालाई विश्कै अग्रणी बनाउने लक्ष्य लिएका थिए अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीले । केनेडीले राष्ट्रपति सम्हालेकै वर्ष अर्थात् सन् १९६१ मा एड ड्वाइटलाई एरोस्पेस रिसर्च पाइलट स्कुलमा तालिमका लागि छानेका थिए । अन्तरिक्ष यात्रासम्बन्धी अध्ययन र तालिमका लागि छनोट हुने उनी पहिलो अश्वेत नागरिक हुन् । तर उनले हालसम्म पनि अन्तरिक्षको यात्रा गर्न भने पाएका थिएनन् ।

एड ड्वाइट

सन् १९६९ मा केनेडीकै पहलमा पहिलो पटक मानिसले चन्द्रमामा पाइला टेक्दा ड्वाइट त्यसमा सामेल हुने लगभग पक्का थियो । राष्ट्रपति केनेडी एक अश्वेत नागरिकलाई समावेशी मान्यताअनुरूप चन्द्रमामा पुर्‍याउन चाहन्थे । तर, चार वर्षको तालिमपश्चात् नासाले अन्तिममा आएर ड्वाइटको नाम हटाइदियो । ‘सन् १९६१ को नोभेम्बर ४ मा पहिलो अफ्रिकी–अमेरिकी नागरिकका रूपमा अन्तरिक्ष यात्रीको तालिम लिन भन्दै मलाई सरकारले पत्र पठाएको थियो,’ ड्वाइटले अलजजिरा टीभीमा भनेका छन्, ‘किन, के कारणले मलाई छानियो भनेर म छक्कै परेको थिएँ । मैले सुरुमा हुन्न भनिदिएँ । पछि मेरी आमाले यो मिसन हाम्रा लागि ठूलो कुरा हो भनेपछि तालिममा गएको थिएँ ।’

श्वेत साथीभाइ र अन्तरिक्ष कार्यक्रमका नेतृत्वले आफूलाई रङका आधारमा विभेद गरेको ड्वाइट सम्झन्छन् । ‘केनेडी ब्वाई’ वा राष्ट्रपतिले बुइँ चढाएर ल्याएको भन्दै आफूलाई हेपाहा व्यवहार गर्ने गरिएको उनी बताउँछन् । अन्तरिक्ष यात्रामा जान नदिइएपछि विमान चालकको पेसा त्यागेर ड्वाइट मूर्तिकलातर्फ लागेका थिए । हाल ९० वर्षको उमेरमा ड्वाइट आफ्नो अधुरो सपना पूरा गर्दै छन् । उनी चालक वा क्रु सदस्यबेगर स्वचालित रूपमा चल्ने यानबाट अन्तरिक्षको कर्मन लाइनमा पुगेर फर्किनेछन् ।

अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनी ‘ब्लु ओरिजिन’ ले अन्तरिक्ष भ्रमणमा लैजान लागेका ६ जना पर्यटकमा भारतीय विमान चालक गोपी थोटाकुरा पनि छन् । गोपी भारतका पहिलो अन्तरिक्ष पर्यटक तथा अन्तरिक्षमा जाने दोस्रो भारतीय बन्नेछन् ।

यो मिसनमा ड्वाइटभन्दा ६० वर्ष कम उमेरका भारतीय विमान चालक गोपी थोटाकुरा अर्का रोचक यात्री हुन् । गाडीभन्दा पहिला हवाईजहाज चलाउन सिकेका गोपी भारतका पहिलो अन्तरिक्ष पर्यटक भएको ब्लु ओरिजिनले जनाएको छ । यो मिसन सफल भएमा उनी अन्तरिक्षमा जाने दोस्रो भारतीयसमेत हुने द हिन्दुको दाबी छ । ब्लु ओरिजिनले एनएस–२५ मिसनको मिति नखुलाए पनि सम्भवतः अप्रिल, मे वा जुनभित्र सम्पन्न हुने अनुमान गरिएको छ ।

यसअघि सन् १९८४ मा लो अर्थ अर्बिटमा रहेको तत्कालीन रुसी स्पेस स्टेसन ‘सल्युत–७’ मा विङ कमान्डर राकेश शर्मा पुगेका थिए । त्यसपछि कल्पना चावला, सुनिता विलियम्स, राजा चरी र शिरिषा बन्ड्ला पनि अन्तरिक्षमा पुगेका थिए । तर उनीहरू भारतीय नागरिक नभई भारतीय मूलका अमेरिकी नागरिक थिए । अमेरिकी राहदानी भएका उनीहरूले अमेरिकी नागरिकका रूपमा अन्तरिक्ष यात्रा गरेका थिए । त्यसकारण हालसम्म अन्तरिक्ष पुग्ने एक मात्र भारतीय राकेश हुन् । थोटाकुराले पनि अमेरिकी विश्वविद्यालयमा नै विमान चालकको अध्ययन गरेका हुन् । उनी व्यावसायिक रूपमै जेट विमान उडाउँछन् । आन्ध्र प्रदेशको विजयवाडामा जन्मिएका थोटाकुराले स्नातकसम्म बैंगलुरुको सरला बिर्ला एकेडेमीमा पढेका थिए ।

पछिल्ला वर्षहरूमा अन्तरिक्ष–पर्यटन फस्टाउँदो क्रममा छ । इन्डियन एक्सप्रेसका अनुसार २०२३ मा अन्तरिक्ष पर्यटनको बजार ८४८.२८ अर्ब डलर थियो । २०३२ सम्ममा यो बढेर २७,८६१.९९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । ब्लु अरिजिनले सन् २०१५ र २०१६ देखि न्यु सेफर्ड (एनएस) यानमा अन्तरिक्षको सिमाना मानिने कर्मन लाइनसम्म यात्रुलाई पुर्‍याएर पृथ्वीमा फर्काउँदै आएको छ ।

सबअर्बिटल स्पेस फ्लाइट भनिने यस्तो यात्रामा पृथ्वीको चक्कर भने मारिँदैन । एक सीमित उचाइसम्म पुगेपछि यानलाई पृथ्वीको गुरुत्वाकर्षणले तल तान्छ । यात्रुले भारशून्य (वेटलेसनेस) महसुस गर्छन् । हाल ब्लु ओरिजिन र भर्जिन ग्यालेक्टिकले सबअर्बिटल स्पेस टुरिजम सेवा दिँदै आएका छन् । इच्छुकले आवेदन दिएपछि पैसा तिरेर अन्तरिक्ष यात्रा गर्न पाउँछन् । अर्का अर्बपति इलन मस्कको कम्पनी स्पेस एक्सले पनि अन्तरिक्ष पर्यटन सेवाका लागि प्रयास गर्दै आएको छ । यस्तो यात्रामा एउटै रकेट विभिन्न पटक प्रयोग हुन्छ ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?