कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

टेनिसले बदलेको सपना

दीपक परियार

पोखरा — एक बालकले अग्लो भीरबाट सेती नदीमा झ्वाम्म हामफाल्दै पौडिनु साहस हो कि मूर्खता ? पोखराको रामघाटमा ६ महिनाअघि मलामी जाँदा देखेको दृश्यले विनोद कायस्थलाई सोचमग्न बनायो । बालकको ‘साहस’लाई ठीक ठाउँमा उपयोग गर्नुपर्ने सोचे । ती बालकलाई बोलाएर सोधे, ‘टेनिस खेल्छौं ?’

टेनिसले बदलेको सपना

टेनिसको नामै नसुनेका १३ वर्षीय सुरेन्द्र बिक अक्मक्किए । गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष कायस्थले उनको पारिवारिक पृष्ठभूमि सोधे । सुरेन्द्रले आफ्नो परिवार म्याग्दीको दरबाङबाट केही वर्षअघि पोखरा झरेको, बुवाआमाले ज्यामी काम गरेर आफूलाई पढाइरहेको सुनाए । कायस्थले उनलाई आफ्नो सम्पर्क नम्बर दिँदै अर्को दिन पोखरा रंगशालामा बोलाए । सुरेन्द्रले बल ब्वाइबाट आफ्नो टेनिस यात्रा सुरु गरे । उनले हरेक बिहान टेनिसको नि:शुल्क प्रशिक्षण लिए । र्‍याकेट, बल, पोसाक संघले नै उपलब्ध गरायो । बल ब्वाई भएर दिनको ३–४ सय रुपैयाँ आम्दानी गर्न थाले । उनले टेनिसमा आफूलाई निखार्दै लगे ।

नयाँ वर्षको साँझ उनी रुदै कायस्थको घरमा पुगे । बुबाआमाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिरहेको ज्यामी कामबाट बिदा लिनुपर्ने भएकाले पोखरा छोडेर गाउँ फर्किने तयारी गरेको सुनाए । अध्यक्ष कायस्थले भोलिपल्ट उनको बुबाआमालाई भेटे । सुरेन्द्रले टेनिसमा राम्रो गरिरहेको र भविष्यमा उत्कृष्ट खेलाडी भएर निस्कने सम्भावना रहेकोले गाउँ नफर्कन सुझाए । बरु बुवाआमालाई नै अर्को ठाउँमा काममा लगाइदिने र काम नपाउँदासम्म कोठाभाडा पनि तिरिदिने प्रस्ताव गरे । कायस्थको प्रस्तावमा सुरेन्द्रका बाआमा सकारात्मक देखिए ।

भोलिपल्ट ८ बजेसम्म पनि सुरेन्द्र रंगशालाको टेनिस कोर्टमा आएनन् । कायस्थले उनको बुवालाई फोन गरे । सुरेन्द्रको बुवाले आफूहरू गाउँ फर्किनलाई बागलुङ बसपार्कमा बस कुरिरहेको बताए । कायस्थलाई नरमाइलो लाग्यो । उनको मन मानेन । वैशाख ४ मा फेरि फोन गरे । ‘मैले नै सुरेन्द्रको बस्ने, खाने, पढ्ने व्यवस्था गरिदिन्छु, पठाइदिनुस् भन्दा पनि मानेनन्,’ बुधबार टेनिस कोर्टमा बसेर उनले भने, ‘गाउँबाट आउनै दिएनन् ।’

अर्को दिन सुरेन्द्रले माइजुको मोबाइलबाट कायस्थलाई फोन गरे । आफू पोखरा आउन चाहेको तर गाडी भाडा नभएको सुनाए । कायस्थले बस चढेर आए भाडा यतै दिने बताए । वैशाख ७ गते बिहान घरबाट हिँडेका सुरेन्द्र साँझ पोखरा आइपुगे । एकसरो लुगामा पोखरा आइपुग्दा उनीसँग थियो, एउटा पुरानो झोला र पाखुरामा लेखिएको थियो ‘कायस्थ सर’को फोन नम्बर । ‘लक्ष्य आर्मी बन्ने थियो,’ बुधबार रंगशालामा प्रशिक्षण सकिएपछि उनले भने, ‘अब टेनिस खेलाडी नै बन्छु ।’

उनी हाल कायस्थकै घरमा बसेर पोखराको सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढिरहेका छन् । हरेक बिहान रंगशालास्थित टेनिस कम्प्लेक्समा प्रशिक्षण लिइरहेका छन् । त्यहाँ उनीसँगै ३० बालबालिका टेनिस प्रशिक्षण छन् । विपन्न परिवारका उनीहरू टेनिसमा भविष्य खोज्दै छन् । गण्डकी प्रदेश टेनिस संघले प्रदेश खेलकुद परिषद्को ‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत ग्रासरुट टेनिस सञ्चालन गरेको हो । उक्त प्रशिक्षणमा कास्की जिल्ला टेनिस संघले प्राविधिक सहयोग गरेको छ ।

संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका कायस्थका अनुसार पोखराका विभिन्न सुकुम्बासी वस्ती, आर्थिक रूपमा कमजोर रहेका परिवारबाट बालबालिका छानिएका हुन् । पोखरा म्याराथनमा भाग लिएका सामुदायिक विद्यालयका विद्यार्थीमध्येबाट पनि प्रशिक्षणमा सहभागी गराइएको छ । ग्रासरुट टेनिस प्रशिक्षणमा ६ देखि १४ वर्षसम्मका २१ बालक र ९ बालिकाले प्रशिक्षण लिइरहेका छन् । उनीहरूलाई दुई महिनासम्म संघले नै र्‍याकेट, बल, पोसाक, बिहानको खाजा र टाढाबाट आउनेको लागि गाडी भाडा व्यवस्था गरेको छ । उनीहरूलाई प्रमुख प्रशिक्षक नीरज थापा, सहायक प्रशिक्षक निर्मल मगर र नवराज शर्माले प्रशिक्षण दिइरहेका छन् । बालबालिकाले बिदाको दिन २ घण्टा र अन्य दिन डेढ घण्टा प्रशिक्षण लिन्छन् ।

पोखरालगायत ठूला सहरमा टेनिसको लोकप्रियता बढिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक कायस्थ बताउँछन् । ‘पोखराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पाएर, प्रशिक्षक उत्पादन गरेर देश विदेशमा पठाइरहेको छ,’ उनले भने, ‘उनीहरू अवसर पाएर अन्य सहर र देशमा जाँदा यहाँकै लागि पनि जनशक्ति आवश्यक पर्छ । यो टेनिस कम्प्लेक्सलाई चाहिने जनशक्ति यहीँ उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।’

सुरेन्द्र विक

टेनिसलाई धनीको खेल भनेर बुझ्ने गरिए पनि नेपाल नम्बर वान कुमार अधिकारी विपन्न परिवारबाटै निस्किएका खेलाडी थिए । पोखराको बास्तोला थरमा रहेको फिटनेस सेन्टरको छत्रछायाँमा उनले टेनिस सिक्ने मौका पाए । हालको शीर्ष वरीयतामा रहेका प्रदीप खड्का कायस्थको पर्स्याङस्थित निजी कोर्टमा प्रशिक्षण लिएर हुर्किएका हुन् । बुवाले अर्की आमा लिएर हिँडेपछि आफ्नी आमाले मजदुरी गर्ने क्रममा पर्स्याङ कोर्ट लिएर जाँदा उनको टेनिसमा मोह बसेको थियो । पोखराकै २० वर्षीय विष्णु नेपाली टेनिस सिक्ने अवसर पाएर प्रशिक्षक भएका छन् । विपन्न परिवारका उनले हाल बुटवलमा प्रशिक्षण दिन्छन् । पोखराकै उत्पादन सौगात बिक हाल टेनिस प्रशिक्षककै रूपमा माल्दिभ्स पुगेका छन् । माल्दिभ्समा मात्रै पोखराका चार टेनिस प्रशिक्षक छन् । प्रशिक्षणका लागि अर्को एक प्रशिक्षक एक सातापछि माल्दिभ्स जाँदै छन् । पोखराका प्रशिक्षक प्रशिक्षणका लागि कतार र नेपालकै काठमाडौं, चितवनलगायत सहर पुगेका छन् ।

टेनिस प्रशिक्षकले नेपालभित्र मासिक न्युनतम ५० हजार र विदेशमा एकदेखि २ लाख रुपैयाँसम्म तलब पाउने गरेको कास्की टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङ बताउँछन् । ‘आम सर्वसाधारणमा टेनिसलाई हुने खानेको मात्रै खेल होइन भनेर बुझाउनुपर्नेछ,’ उनले भने, ‘अहिले उनीहरूमा खेलको भोक जगाउन सके ३–४ वर्षपछि नै अम्पाएर, कोच भएर निस्कन्छन् । १८–१९ वर्षमै आफ्नो खुट्टामा उभिने हुन सक्छन् ।’ विभिन्न सहरमा टेनिस कोर्ट बन्ने क्रम बढिरहेको र त्यस स्थानमा प्रशिक्षक, अम्पाएरको खाँचो पर्ने भएकाले दक्ष जनशक्ति उत्पादनमा ग्रासरुट टेनिसले सहयोग पुग्ने उनको भनाइ छ ।

पोखराको टेनिस विपन्न परिवारबाट आएका खेलाडीले नै धानिरहेको कास्की टेनिस संघका उपाध्यक्ष नवीन चालिसे बताउँछन् । ग्रासरुट टेनिस कार्यक्रमले कुलतमा फस्नबाट पनि बालबालिकालाई बचाएको उनले बताए । ‘कोर्टमा आइसकेपछि खेलप्रति समर्पण भयो भने खेलाडी दक्ष भएर निस्कन्छन्,’ उनले भने, ‘यो उमेर भनेको उनीहरूम भावनाको पनि विकास हुने बेला हो । सपना देख्ने बेला हो । सही दिशा लिन सके भविष्यमा सही बाटो लिन्छन् ।’

संघका प्रदेश उपाध्यक्ष विष्णुबहादुर थापाले ग्रासरुट टेनिसलाई कर्पोरेट क्षेत्रले पनि सहयोग पुर्‍याउनुपर्ने बताए । व्यावसायिक खेलाडी प्रीति बरालले अहिले प्रशिक्षण लिइरहेका बालबालिकालाई ३–४ वर्ष निरन्तर प्रशिक्षण दिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘त्यसका लागि एकेडेमी नै बनाउनुपर्छ । सरकारकै सहयोग आवश्यक पर्छ ।’

प्रकाशित : वैशाख २२, २०८१ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?