धरौटी रकम बुझाएर दिपेश पुन रिहा
बुटवल — सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएको रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले बताए । गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।
त्यस्तै सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, नीता थापालाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसँग २ लाख रुपैँयाँ धरौटी माग गरेको थियो ।
प्रहरीको झन्डै २ महिना लामो अनुसन्धानपछि वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सहकारीमा नियमित बचत गरेको सर्वसाधरणको रकम ठगी गरेको भन्दै १ हजार ८ सय ३१ जनालाई प्रहरीमा उजुरी गरेका थिए । सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधरणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख, २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीमा १९ हजार ३ सय ९१ सदस्य थिए ।