२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

तनहुँको सदरमुकाम दमौलीबाट विजयपुल (कास्की) सम्मको दूरी करिब ४३ किलोमिटर छ । राजमार्ग सहज हुँदा यो दूरी एक घण्टामा पुरा गर्न सकिन्छ । तर, मंगलबार बिहान यो दुरी पार गर्न करिब साढे ३ घण्टा लागेको डिपी अधिकारी बताउँछन् ।

दमौलीबाट बिहान साढे ७ बजे बिजयपुलका लागि बस चढेका अधिकारी करिब ११ बजे विजयपुल पुगे । उनले भने, ‘सोमबार दिउँसोदेखि आएको वर्षाले राजगमार्ग हिलाम्य बनाएको छ । सवारी साधन गुड्न सकस भएको छ ।

आँबुखैरेनी–पोखरा खण्ड बिस्तार चलिरहँदा सडकको अधिकांश भाग भत्काइएको छ । त्यही राजमार्ग भएर दिनहुँ सयौं सवारी साधन गुड्छन् ।

मुग्लिन–पोखरा खण्डलाई दुई भागमा विभाजन गरी विस्तारको काम भइरहेको छ । मुग्लिन–पोखरा सडक योजना अन्तर्गत आँबुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्ड कायम गरी सडक विस्तार कार्य भइरहेको छ ।

सडक फराकिलो बनाउनका लागि अहिले आँबुखैरेनीदेखि पोखरासम्मैको भाग भत्काइएको छ । पूर्वी खण्डका अधिकांश भाग कालोपत्रे भइसकेपनि पश्चिम खण्डमा भने अपेक्षित प्रगति गर्न सकेको छैन । वर्षाका कारण बिस्तार भइरहेको सडक हिलाम्य हुन पुगेको छ । सडक चिप्लो हुँदा सवारी साधन गुड्नै सकस हुने गरेको छ । राजमार्ग हुँदै यात्रा गर्ने हजारौं यात्रुले सास्ती झेल्नुपरेको छ ।

सडक हिलाम्य भएकाले सवारी चालकलाई ट्रयाक पहिचान गर्न समेत सकस भएको अधिकारीले बताए । उनले भने, ‘बाटोमा हिलोले गर्दा हिडिसक्नु छैन । साना चारपांग्रे र दुईपांग्रे सवारी साधनलाई झनै सकसपूर्ण छ ।’

पश्चिम खण्डको जामुने, अकला, कुम्लेखोला, खैरेनीटार, गाच्छेपानी लगायतका ठाउँमा यात्रा निकै सकसपूर्ण छ । ठाउँ ठाउँमा गाडी नै चिप्लिने डर छ । ठाउँठाउँमा गरिएको डाइभर्सनका कारण बाटो साँधुरो भएको छ ।

पश्चिम खण्डमा एकतर्फी भएपनि कालोपत्रेको दूरी बढाइ सहज यात्रा गर्ने वातावरण बनाउन लागिपरेको पश्चिम खण्डका इन्जिनियर तथा सूचना अधिकारी नारायण पौडेल बताउँछन् । उनका अनुसार हालसम्म करिब ११ किलोमिटर सडक एकतर्फी कालोपत्रे भएको छ ।

चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा यस खण्डको सडक विस्तारका लागि वि.सं. २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु गरेको थियो । वि.सं. २०८१ भदौसम्म काम सक्ने गरी ठेक्का सम्झौता म्याद सकिन ४ महिना रहँदा करिब २३ प्रतिशत भौतिक प्रगति देखाएको छ ।

यस्तै, पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर सडक चार लेन कालोपत्र गरिएको छ भने ८ किलोमिटर २ लेन कालोपत्र भइसकेको छ । यस खण्डको विस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

२०७७ माघ १७ गते सम्झौता गरी २०७८ वैशाख २ गतेबाट काम सुरु गरिएको थियो । २०८१ वैशाखसम्म काम सक्ने गरी सम्झौता भएपनि भौतिक प्रगति भने करिब ५६ प्रतिशत देखाइएको छ । कोरोना भाइरस संक्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको योजनाले जनाएको छ ।




प्रकाशित : वैशाख २५, २०८१ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?