महादेवाका अग्निपीडित भन्छन्- के खाने, के लाउने र कहाँ बस्ने ?
सप्तरी — सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीका अग्निपीडितहरूको बिजोग भएको छ । मंगलबार दिउँसो आगो लागेर यहाँका ६२ परिवारको एक सय २० घरगोठ जलेर नष्ट भएको अहिलेसम्मको तथ्यांक छ । अझै पूर्ण रुपमा आगो निभेको छैन । एउटा बारुणयन्त्रले आगो निभाइरहेको छ ।
गएराति भुजा खाएर बसेका अग्नीपीडितहरू चर्को घाममा बस्न बाध्य छन् । घाम सहन सक्ने अवस्था नरहेको स्थानीय भुपेन्द्र यादवले बताए ।नजिकै रहेको रुखको छ्हारीमा पीडितहरू बसिरहेका छन् । स्थानीय सरकार र स्थानीय प्रशासनले अझैसम्म अग्निपीडितहरूलाई खाने र बस्ने प्रबन्ध मिलाउन सकेका छैनन् ।
अग्निपीडितलाई गास, बास र कपासको चिन्ता थपिएको महादेवा–१ का वडाध्यक्ष जयकिशोर दास बताए । उनले भने, 'पीडिले 'के खाने, के लाउने, कहाँ बस्ने ?' भनेर सोधिरहेका छन् ।'