सबै नेपालीलाई पेन्सन योजनामा समेट्ने नागरिक लगानी कोषको तयारी

काठमाडौँ — नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने योजना बनाएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले यस्तो जानकारी दिएका हुन् ।  उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको उनले बताए ।

सबै नेपालीलाई पेन्सन योजनामा समेट्ने नागरिक लगानी कोषको तयारी

‘हालसम्म सहभागी संख्या ६ हजार एक सय १० पुगेको छ । आर्थिक वर्ष ०८०/८१ को बजेटमा नागरिक लगानी कोषमार्फत् स्वरोजगरामा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेटने गरी कार्य सुरु गरेको छ,’ कार्यकारी निर्देशक कार्कीले भने, ‘यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था छ ।’

यो योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको नागरिक लगानी कोषले बताएको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पुरा भएको र कम्तिमा १५ वर्ष योगदान गरेको हुनुपर्ने छ । बचतकर्तार्ले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १ सय ७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोषले अवकाश कोष व्यवस्थापन गरी सामाजिक सुरक्षा सम्बन्धी राम्रा कार्यक्रम सञ्चालनमा ल्याएकाले ती कार्यक्रममा सहभागी बन्न सबैलाई आग्रह गरे । कोषले सहभागीहरुलाई प्रदान गर्ने सेवा सुविधा थप गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्नु पर्नेमा उनको जोड थियो ।

प्रकाशित : वैशाख १६, २०८१ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?