कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नाका खुल्ने दिन कुर्दै कार्मारोङका बासिन्दा

मुगु — मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दा उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका खुल्ने दिन कुरिरहेका छन् । छिमेकी राष्ट्र चीनसँग जोडिएका नेपालका परम्परागत १४ नाका खोल्ने तयारी रहेको खबर आएपछि कार्मारोङबासी आशावादी छन् । तर नाका कहिले खुल्ने वा खुल्ने हो वा होइन भन्ने कसैलाई पत्तो छैन ।

नाका खुल्ने दिन कुर्दै कार्मारोङका बासिन्दा

नाक्चेनाङ्ला नाका पनि नेपालको १४ परम्परागत नाकाभित्र पर्ने भएकोले यसपटक नाका खुल्ने आशा रहेको उनीहरु बताउँछन् । कोरोना महामारीदेखि यो नाका वन्द हुँदा सिंङ्गो कार्मारोङ गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य बस्तुको जोहो गर्न कठिन परेको छ ।

विगतमा चीनले हरेक वर्ष असार/साउनमा उत्तरी नाका नाक्चेनाङ्ला खोल्ने गरेको थियो । त्यसबेला कार्मारोङ गाउँपालिका भित्रका १७ वटा बस्तीका बासिन्दा खाद्य बस्तु किनमेल गर्न तिब्बत जान्थे । एकपटक उताबाट सामान ल्याएपछि त्यसले वर्ष दिनसम्मको गर्जो टार्थे । तर कोभिड महामारीयता जीवन कष्टपूर्ण वनेको स्थानीय तेन्जिङगुरु तामाङले बताए ।

लामो समयदेखि उत्तरी नाका वन्द हुँदा जडीबुटीदेखि स्थानीय उत्पादनले समेत उचित मूल्य नपाएको उनको गुनासो छ । पहिले वन क्षेत्रमा संकलन हुने अत्तीस, कटुकी, वनलसुन, यार्सा लगायत जडीबुटी तिब्बतमा निर्यात हुने गर्थ्यो भने अहिले नाका बन्द हुँदा जडीबुटी स्थानीयले गाउँदेखि घोडाखच्चर मार्फत बोकाएर गमगढी ल्याउने र त्यहाँबाट गाडीमा राखेर नेपालगञ्ज हुँदै भारतसम्म पुर्‍याएर बेच्नु पर्ने बाध्यता छ ।

पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने गरी नुन, तेल, चामल, मैदा, चियापत्ती, ध्यू ल्याएर उपभोग गर्न बानी परेका कार्मारोङका स्थानीयलाई अहिले समस्या भएको स्थानीयबासी याङजुम तामाङले बताइन् ।

'तिब्बती नाका बन्द हुँदा हामीलाई अहिले सारै दुःख छ,' चितै गाउँकी तामाङले भनिन्, 'दुई दिन हिँडेर गमगढी पुगेर नुन, चामल तेल ल्याएर खानुपरेको छ ।'

उनका अनुसार तिब्बत जान नजिक पर्छ भने दैनिक उपभोग्य वस्तुहरु समेत सस्तोमा पाइन्छ । स्थानीय बस्तुको बजार मूल्य समेत तिब्बतमा राम्रो पाइने अवस्था रहेको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले चार वर्षदेखि नाका बन्द हुँदा उत्तरी गाउँका बासिन्दालाई जीवन धान्न मुस्किल परेको बताए । 'नेपालका परम्परागत १४ नाका खोल्ने भने खबर आएको छ । त्यसमा यो नाका पनि पर्छ,' उनले भने, 'सबै खुल्दा यो नाका पनि सञ्चालन होला भनेर गाउँले खुसी भएको छ ।' उनले चीनले यसवर्षदेखि जसरी भएपनि नाका खोलिदिनुपर्ने र त्यसका लागि सरकारले पनि पहल गरिदिनुपर्ने माग गरे ।

उनका अनुसार गमगढीमा २५ केजी चामल बोराको मुल्य २ हजार देखि २१ सय रुपैयाँ पर्छ । तर त्यही चामल मुगु, चितै, डोल्फू गाउँमा पुर्‍याउँदा ४ हजार ४५ सय रुपैयाँसम्म मूल्य पर्छ । गमगढी साल्ट्र ट्रेनिङ कर्पोरेसनको डिपोमा नुन प्रतिकेजी ९ रुपैयाँमा पाइन्छ । तर गाउँमा पुग्दा ७५ रुपैयाँ पर्छ । हाल कार्मारोङ गाउँपालिका रहेको पुलू देखि नाक्चेनाङला तिब्बती नाका पुग्न पैदल मार्गबाट दुई दिन लाग्छ ।

मुगुको उत्तरी नाका खुलाउन पहल गरि दिन परराष्ट मन्त्रालयसंग लिखित तथा मौखिम आग्रह गरेपछि यो वर्षबाट सो नाका खोल्ने निश्चित भएको प्रतिनिधिसभाका सदस्य ऐनबहादुर शाहीले बताए । 'यो पटक नाका खोलेपछि कार्मारोङबासीलाई खाद्य बस्तु ल्याउन सहज हुन्छ,' उनले भने ।

प्रकाशित : वैशाख २९, २०८१ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?