२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

छिटो पुल निर्माण गर्न भन्दै प्रशासनमा समाजवादी मोर्चाको धर्ना

महेश केसी

रुकुम पश्चिम — मुसीकोट ११ र १२ स्थित पितिबाङ खोलामा विगत ४ वर्षदेखि अलपत्र परेको मोटरेबल पुल छिटो निर्माणको माग गर्दै समाजवादी मोर्चा रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

छिटो पुल निर्माण गर्न भन्दै प्रशासनमा समाजवादी मोर्चाको धर्ना

माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल मिलेर बनेको मोर्चाले पुल नबन्दा जनतालाई सास्ती भएको भन्दै बिहीबार धर्ना दिएको हो । मोर्चाका जिल्ला संयोजक सचिन रोकाले ‘कि शीघ्र निर्माण कि ठेक्का रद्द’ गर्नुपर्ने मागसहित दबाबमूलक धर्ना इएको बताए ।

‘लामो समयदेखि यो पुल नबन्दा बर्खायाममा आवागमन नै रोकिने अवस्था आयो । पटक–पटक बनाउने भनिए पनि पुल बनेन,’ उनले भने, ‘काम शीघ्र सञ्चालन गराउन दबाब पुगोस् भनेर हामी धर्नामा छौं ।’

चितवनस्थित संरक्षण निर्माण सेवा प्रालिले २०७६ असार ८ गते कुल ४ करोड १२ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ लागत अनुमानसहित पुल निर्माण गर्ने सम्झौता गरेको थियो । ०६८ वैशाख ७ गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म एउटामात्रै पिलर ठडिएको छ ।

माओवादी केन्द्रले नै सरकारमा भए पनि पुल निर्माणका लागि प्रशासनमा धर्ना बस्ने अवस्था आउनु आफूहरुको बाध्यता भएको रोकाको भनाइ छ । ‘हाम्रो पार्टी सरकारमा भए पनि सार्वजनिक चासो र सरोकारका विषयमा जनदबाब सिर्जना गरेर अघि बढ्नु हाम्रो दायित्व हो,’ उनले भने ।

पुल निर्माण अघि बढाउन यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण पत्र बुझाएको र पुल निर्माण स्थलमा समेत धर्ना बसेको मोर्चाकी सदस्य एवम् एकीकृत समाजवादीकी नेता देवी ओलीले बताइन् । उनले शुक्रबार चौरजहारी सडक डिभिजन कार्यालयमा धर्ना दिने योजना रहेको जनाइन् ।


प्रकाशित : चैत्र १५, २०८० १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?