२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

उराठलाग्दो मेलम्चीको मुहान [तस्बिर]

अनिश तिवारी

हेलम्बु — वरिपरि बालुवा र ढुंगाका थुप्रा । जताततै ध्वस्त र पुरिएका भौतिक संरचना, निर्माणाधीन आयोजनामा न कामदार छन् न उपकरणनै । केही माथि बसेर आयोजनाका गार्ड र  सुरक्षाकर्मी हेरेर बसेका देखिन्छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानस्थित हेडवर्क्सस्थलमा कुनै काम अघि नबढ्दा सुनसान र उराठलाग्दो देखिन्छ ।

केही समयअघि बाढीबाट क्षतिग्रस्त मुहानभन्दा करिब एक किमि टावर इन्टेक बनाए मात्रै उपत्यकाबासीले खानेपानी नियमित पाउने विज्ञले सुझाव दिएका थिए । मेलम्ची मुहान अझै बाढीको खतरामा रहेकाले स्थायी समाधानका लागि मुहान सार्नुको विकल्प नभएको निर्क्यौल थियो । त्यसयता कसरी अघि बढ्ने उच्चस्तरीय बैठक र छलफल भइरहेकाले पनि यस्तो अवस्था भएको केही समयअघि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसहितका आयोजनाका प्रमुख, सचिवले जानकारी दिएका थिए । 'अब कसरी अघि बढ्ने हामी छलफलमा छौँ, अहिलेसम्म अस्थायी रुपमा मेलम्चीको १७ करोड लिटर पानी उपत्यका पुगिरहेको छ,' आयोजनाका इडी रत्न लामिछानेले भने ।३२ अर्ब लागत भइसकेको मेलम्चीको २७ किमि सुरुमा बाढीले पुग्नसक्ने जोखिमलाई हेरेर यसअघिझैँ यो बर्खामा पनि उपत्यकामा पानी पठाउन नमिल्ने आयोजनाले जनाएको छ । मेलम्चीको मुख्य ऋणदाता एसियाली बैंक (एडीबी) को अध्ययनको आधारमा हेलम्बुको सर्कथलीस्थित मुहान सारेर इन्टेक बनाउन करिव साढे चार अर्ब खर्च हुने प्रारम्भिक प्रस्ताव तयार गरिएको छ । 

रुष्ट छन् स्थानीय र जनप्रतिनिधि मेलम्ची आयोजनाले जथाभावी सामाग्री थुपारेकाले बाढीले क्षति पुर्‍याएको र मनमौजी गरेको भन्दै स्थानीय र जनप्रतिनिधि रुष्ट छन् । यहाँका स्थानीयले अनुगमनमा आउने प्रधानमन्त्री, मन्त्री, सांसदको टोलीलाई १७ बुँदे ज्ञापनपत्र बुझाउँदै आइरहेका छन् । उच्चस्तरीय टोलीको अनुगमन र निरीक्षणको हबनै बनिसकेको मेलम्चीको मुहानस्थलका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र मेलम्ची नगरका मेयर आइतमान तामाङ भने कुनै कार्यक्रममा जाँदैनन् । आयोजनाले आफ्ना माग पूरा नगरेमा अस्थायी अडिटबाट सुन्दरीजल लगिएको १७ करोड लिटर पानीको मुहान बन्द गरिदिने स्थानीयले आक्रोश दिएका छन् । 'घरपरिवार सर्वस्व त गुम्यो, आयोजनाले जथाभावी फालेका मकिङले गर्दा बाढीले यहाँ अधिकांश बस्तीको नामोनिसान मेटायो, अब हाम्रो के बाँकी छ र ? त्यसैले आयोजनाले केही महिनामा हाम्रो माग पूरा नगरेमा पानीको मुहान बन्द गर्नेछौँ,' मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका संयोजक पासाङ लामाले आक्रोश पोखे । 


प्रकाशित : वैशाख २७, २०८१ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्