१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नरहरिनाथमा मनाइयो पुतली पर्व

तुलाराम पाण्डे

कालीकोट — रातो गुन्यू चोलीले सजीएकी केटी बेहुली (पुतली) र जूगा सहित पुरुषको पोसाकमा सजाएको (अर्की केटी) बेहुला (पुल्तो) बनाएर पुतली पर्व मेला मनाइएको छ । अछामको रामारोसन र कालीकोटको नरहरिनाथ क्षेत्रमा हुने बिहाबारीलाई परम्पराको रुपमा लिँदै दुई केटीलाई बेहुला बेहुली (पुल्ती) बनाएर नरहरिनाथ-५ खातीरुप्सामा मेला (पर्व) मनाइएको हो ।

यो पर्व मनाउने चलन कर्णाली प्रदेशको अन्य जिल्लामा नभएको पण्डित हिरामणि उपाध्यायले बताए । रामारोसन र नरहरिनाथ जोड्ने सांस्कृतिक पर्वका रुपमा पुतली पर्व मनाइने चलन छ । उनले भने, 'मनोरञ्जन र भेटघाटको माध्यमकोरुपमा पर्वलाई लिइन्छ ।'

अछामको रामारोसन क्षेत्रमा मनाइँदै आएको पुतली पर्व कालीकोटको रुप्सामा विस्तार भएको हो । रामारोसनबाट घर ज्वाइँको रुपमा बसाइँसराइ गरी आएका खाती रुप्साका बुढा परिवारका १५ घरधुरीले दुई दशकदेखि पुतली (पुल्ता) पर्व मनाउन सुरु गरेका थिए । हाल पुतली पर्व गाउँपालिका भरीका नागरिक खाती रुप्सा गाउँमा भेला भएर मनाउने गर्छन् ।

पहिले १५ दिनसम्म नाचगान गरेर रमाइलो गर्ने पुतली पर्व हाल ५ दिनमा झारिएको छ । वर्षको अन्तिम दिन दुई कन्या केटीलाई बेहुला बेहुलीकोरुपमा सिंगारपटार गरेर हिन्दु परम्पराअनुसार विवाह गराइ माटो भाँडा दाइजो दिने परम्परा छ । नयाँ वर्षको दिन बाजागाजासहित पुतलीलाई डोली चढाएर बाजागाजा, मागल, झोडा गाउँदै, रुदै, रुवाउँदै 'पोइली' घर बिदाई गर्ने चलन छ ।


प्रकाशित : वैशाख ५, २०८१ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्