२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

वनडढेलो र सत्ताको मौनता 

बर्सेनि डढेलो बढ्नुमा फेरिँदै गएको हावापानी र वनमा थुप्रिएका इन्धनले प्रमुख भूमिका खेलेका छन् । डढेलो लाग्न सघाउने मौसम, स्थालाकृति र इन्धनमध्ये अघिल्ला दुईमा मानवीय नियन्त्रण लगभग असम्भव हुन्छ । डढेलो नियन्त्रणको प्रभावकारी उपाय भनेको वनमा दाउरा, पातपतिंगरजस्ता इन्धनलाई थुप्रिन नदिनु हो । 

छोटकरीमा नासा भनिने अमेरिकी राष्ट्रिय अन्तरिक्ष समितिले पृथ्वीबाट ३६ हजार किलोमिटरको दूरीमा दुई दिदीबहिनी भूउपग्रह राखेको छ । दिदी टेरालाई सन् १९९९ मा र बहिनी अक्वालाई सन् २००२ मा अन्तरिक्षमा छाडिएको थियो ।

वनडढेलो र सत्ताको मौनता 

यी दुवै स्याटेलाइटलाई मोडिस अर्थात् ‘द मोडरेट रिजोलुसन इमेजिङ स्पेक्टोमिटर’ भनिन्छ । सिंगो पृथ्वीलाई एक दुई दिनमै फन्को मार्दै यी जुम्ल्याहा भूउपग्रहले पृथ्वीको जमिन र समुद्री परिवर्तनलाई अन्तरिक्षबाट नियालिरहेका हुन्छन् । भू–उपयोगमा हुने परिवर्तन, हिउँ र बरफको मात्रामा हुने फेरबदल, समुद्री तापमान र वायुमण्डलमा हुने उथलपुथलसँगै प्रकोपको अनुगमनमा मोडिसले खिचेका तस्बिरहरूको प्रयोग गरिन्छ ।

मोडिसमा विद्यमान थर्मल इन्फ्रारेड ब्यान्ड र धूवाँलाई पहिचान गर्ने प्रणालीसँगै सिंगो पृथ्वीलाई छोटो समयमै फन्को मारेर सूचना लिने क्षमताका कारण यस भूउपग्रहको तस्बिर संसारभर आगलागीको गणना र डढेका ठाउँको क्षेत्रफल मापनमा प्रयोग गरिन्छ । सोही भूउपग्रहले खिचेका तस्बिर र तथ्यांकका आधारमा नेपालको वन तथा वातावरण मन्त्रालय र इसिमोड मिलेर वनडढेलो पहिचान तथा अनुगमन प्रणाली नामक अनलाइन पोर्टल बनाएका छन् । जसले देशभरका आगलागीका घटनाको जानकारी तत्कालै दिन्छ । उक्त पोर्टलअनुसार नेपालमा २०२४ को हालसम्मको अवधिमा नेपालभर ५०४८ वनडढेलो लागेको छ । यसभन्दा अघि सबैभन्दा धेरै डढेलो सन् २०२१ मा र त्यसपछि सन् २०१६ मा लागेको थियो । बर्सात् अझै सुरु नभइसकेकाले डढेलो लाग्ने क्रम जारी छ, यस वर्षको डढेलो संख्याले अघिल्ला रेकर्ड तोडेमा आश्चर्य हुनेछैन । विगत २२ वर्षको तथ्यांक केलाउँदा पनि नेपालमा वनडढेलोको फैलावट र संख्यामा बर्सेनि वृद्घि भइरहेको छ ।

डढेलो अनुकूल वातावरण

वनडढेलोका लागि सामान्यतया तीनवटा संयोजन जरुरी हुन्छ– मौसम, इन्धन र स्थालाकृति (टोपोग्राफी) । उच्च तापमान, लामो खडेरी, न्यून आर्द्रता र गतिमान बतास त्यस्ता मौसमी अवस्था हुन्, जसले डढेलोका लागि अनुकूल वातावरण सिर्जना गर्छन् । सँगै वनमा प्रज्वलनशील वस्तु अर्थात् इन्धन हुन जरुरी छ । वनमा हुने रूखबिरुवाका सुकेका पातपतिंगर, हाँगा, ढलेपडेका रूख साथै कृषिकर्मबाट निस्केका कुँडाकर्कट डढेलोका लागि चाहिने इन्धन हुन् । जमिनको स्थालाकृतिले पनि डढेलोको आवृत्ति र फैलावटमा फरक पार्छ । भिरालो जमिनमा आगो लाग्दा लप्काले उकालो भागतिरका वनस्पतिलाई तताउने हुनाले त्यस्तो ठाउँमा आगो चाँडै फैलन्छ । त्यसकारण जमिनको भिरालोपनले आगोमा घिउ थप्ने काम गर्छ । सेपिलोभन्दा पारिलो जमिनमा बढी आगलागी हुन्छ । यस्तो वातावरणीय अनुकूलनसँगै आगोका मानवीय (चुरोटका ठुटा फाल्ने, जानाजान आगो लगाउने) वा प्राकृतिक (चट्याङ) स्रोत उपलब्ध भए त्यसले वनडढेलोको रूप धारण गर्छ । नेपालमा बर्सेनि वनडढेलो बढ्नुमा फेरिँदै गएको हावापानी र वनमा थुप्रिएका इन्धनले प्रमुख भूमिका खेलेका छन् ।

फेरिएको वन र समुदायको सम्बन्ध

केही दशक पहिलेसम्म नेपालमा वन र समुदायको सम्बन्ध नङ र मासुको जस्तै थियो । अधिकांश जनसंख्या कृषि र पशुपालनमा आश्रित थिए, जसका लागि दाउरा, स्याउला, सोत्तर, डालेघाँस जस्ता वनस्रोत अत्यावश्यक वस्तु थिए । तर पछिल्लो समय गाउँघरमा दाउरालाई एलपीजी ग्यास, गोबरग्यास र विद्युतीय चुल्होले विस्थापित गर्दै लग्यो । पशुपालनमा कमी हुन थालेपछि वनबाट स्याउला, सुकेका पात बटुलिरहन जरुरी भएन । पशुपालन गर्नेहरूले पनि ‘विकासे’ पशुहरू पाल्न थालेपछि वनको डालेघाँसलाई पसलको दानाले विस्थापित गर्दै लग्यो । जमिन जोत्नलाई गोरुको ठाउँमा हाते ट्र्याक्टर गाउँ पसेपछि सोत्तर चाहिएन । यसरी केही दशकअघिसम्म समुदायलाई नभई नहुने वनस्रोतहरू अहिले नचाहिने बन्न थालेपछि हाम्रा वनमा डढेलोका लागि आवश्यक इन्धनको मात्रा थुप्रिँदै गयो । बसाइँसराइ र कृषिको न्यून उत्पादकत्वले गाउँमा खेतबारी बाँझो हुने क्रम बढायो । बाँझो खेतबारीमा बालीको साटो विभिन्न किसिमका मिचाहा प्रजातिका वनस्पति र झाडी–बुट्यान फुले/फले । पहिले बस्ती र वनको बीचमा मध्यवर्ती क्षेत्रको काम गर्ने खेतबारी हुन्थ्यो । तर अहिले बस्ती र वनबीचका खेतबारीलाई झाडी र बुट्यानले छोपेपछि वनको आगो बस्तीमा र बस्तीको आगो वनमा सजिलै फैलने वातावरण बन्यो । र, बस्तीमा लागेको सानै आगो पनि अनियन्त्रित भएर ठूलो वनडढेलो लाग्ने अवस्था बन्यो ।

नेपालको सामुदायिक वनलाई विश्वमै सफल कार्यक्रमको रूपमा चर्चा गर्ने गरिन्छ । तर पछिल्लो समय बसाइँसराइ, रेमिट्यान्स अर्थतन्त्रको दबदबा र समुदायको वनप्रतिको निर्भरतामा आएको कमीका कारण सामुदायिक वन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । युवाको पलायनसँगै गाउँमा महिला, वृद्घवृद्घा र बालबालिका मात्रै रहने अवस्थाले वन संरक्षणसँग सम्बन्धित कार्यमा युवाको सहभागिता र भूमिका खुम्चिँदै गएको छ । केही वर्षअघि गोरखाका सामुदायिक वनका पदाधिकारीमा ५० वर्ष हाराहारीका मान्छेको बाहुल्य थियो । हामीले त्यसको कारण सोध्दा उपभोक्ताहरूको जवाफ थियो– गाउँमा युवा छैनन्, यतै भएका पनि यस्तो काममा बस्न चाहँदैनन् । वनप्रति मानिसहरूको अरुचि बढ्नुको मुख्य कारण वनबाट प्राप्त हुने उत्प्रेरणा (इन्सेन्टिभ) अनुपयुक्त वा असान्दर्भिक बन्दै जानु पनि हो । मानिसहरूको फेरिएको जीविका र जीवनशैलीका कारण वनबाट पाइने उत्प्रेरणा बिस्तारै अनुपयुक्त र असान्दर्भिक हुँदै गएपछि पहिलेजस्तो ठूलो सामूहिक सहभागितामा गरिने सामूहिक वनकार्य जस्तैः अग्निरेखा निर्माण र हेरचाह, हेरालुको व्यवस्था, डढेलो नियन्त्रणमा सक्रिय सहभागिता सबैमा ह्रास आएको छ । त्यतिमात्रै होइन ठूलो सहभागिता, उत्साह र प्रतिस्पर्धा बीचमा सम्पन्न हुने वन उपभोक्ता समितिका चुनाव र साधारणसभा उत्साहहीन र कर्मकाण्डी बन्दै गएका छन् । त्यस्तो अवस्थामा सरकारी तवरबाट वन उपभोक्तालाई सक्रिय गराइराख्ने कार्यक्रमको भूमिका महत्त्वपूर्ण हुन सक्थ्यो तर यतिखेर त्यस्ता सरकारी कार्यक्रम लगभग नगन्य छन् । सामुदायिक सहभागिताको कमी र सरकारी संलग्नताको न्यूनताको असर सामुदायिक वन व्यवस्थापनमा परेको छ । एक रिपोर्टअनुसार, हाल देशभरका एक तिहाइजति सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना परिमार्जन हुन सकेको छैन । कतिपय जिल्लामा यो संख्या अझै बढी छ । कार्ययोजना परिमार्जन नभएपछि समुदायले गर्ने नियमित वन व्यवस्थापनका कार्यहरूमा बिराम लागेको छ । त्यसरी सामुदायिक कर्म र सामूहिक भावनामा भएको क्षयीकरणले वनडढेलो बढाउनमा भूमिका खेलेको छ ।


अहिले जलवायु परिवर्तनको कारण तापमान वृद्घि भइरहेको छ । विशेषगरी हिउँदे वर्षाको परिमाण घटेका कारण पनि नेपालमा खडेरी लम्बिने क्रम बढ्दो छ । यी दुवै मौसमी कारणले वनडढेलो लाग्ने र फैलने उपयुक्त वातावरण सिर्जना गरेको छ । साथै, वन, खेतबारी र चरन क्षेत्रमा अहिले ठूलो संख्यामा वनमारा, लहरे वनमारा, नीलो/सेतो गन्धे, पाती झार, वन सिलाम लगायतका मिचाहा प्रजातिका वनस्पति फैलिएका छन् । नेपालमा ठोस वैज्ञानिक अध्ययन नभए पनि अन्यत्र भएका अध्ययनले मिचाहा वनस्पतिको फैलावट वनडढेलो बढाउन सहयोगी हुने देखाएको छ । यस्ता वनस्पति बढी प्रज्वलनशील हुँदा वनमा इन्धनको मात्रा बढाउँछन् । वन र बस्तीबीचको खाली जमिनमा फैलने यस्ता वनस्पतिले वनडढेलो फैलाउन भूमिका खेल्छन् ।

नियन्त्रणका प्रचलित उपाय

डढेलो लागिसकेपछि नियन्त्रण गर्नुभन्दा पूर्वतयारी कम खर्चिलो र कम हानि हुने उपाय हो । त्यसका लागि डढेलो लाग्न सघाउने मौसम, स्थालाकृति र इन्धनमध्ये अघिल्ला दुईमा मानवीय नियन्त्रण लगभग असम्भव हुन्छ । त्यसकारण डढेलो नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको वनमा दाउरा, पातपतिंगरजस्ता इन्धनलाई थुप्रिन नदिनु हो । झाडी फाँड्ने, वनमा भएका सुकेका रूख र हाँगा हटाउने र नियन्त्रित आगलागीबाट त्यस्ता इन्धनको भार कम गर्न सकिन्छ । पूर्ण मानवीय नियन्त्रणमा रहने गरी उपयुक्त समयमा वनमा लगाइने ससाना आगलागीले ठूला डढेलो लाग्नबाट बचाउने मात्रै होइन, अन्य थुप्रै पर्यावरणीय फाइदा पनि गर्छ । त्यस्तो नियन्त्रित आगलागीले मिचाहा वनस्पति नियन्त्रण गर्न, आगो चाहिने वनस्पतिलाई उम्रन/फैलन र माटोलाई पोषणयुक्त बनाएर वनलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, वनमा लागेका रोग, किराहरूको नियन्त्रणमा पनि सहयोगी भूमिका निर्वाह गर्दछ । विशेषगरी हिमाली खर्कहरूमा नियन्त्रित आगो लगाउँदा झाडी, बुट्यान र गाईबस्तुले नखाने घाँस फैलन पाउँदैन र चरनको उत्पादकत्व कायमै रहन्छ ।

जनचेतनाको कमीले पनि मानिसहरूले जानअन्जानमा वनमा अनियन्त्रित आगलागी गराइरहेका छन् । त्यसका लागि जनचेतनाको वृद्घि, दण्ड सजायको व्यवस्था अर्को उपाय हुन सक्छ । सामुदायिक वनहरूको प्राविधिक क्षमता अभिवृद्घि, अग्निरेखा निर्माण, उचित वन व्यवस्थापन थप कदम हुन सक्छ । विशेषगरी सामुदायिक वनमा डढेलो लाग्दा उपभोक्तामा मात्रै भर पर्ने परिपाटीको साटो डढेलो नियन्त्रणका लागि अब स्थायी संस्थागत संरचनाको निर्माण र सुधार आवश्यक छ । संस्थाहरूका डढेलो नियन्त्रणका लागि विज्ञानमा आधारित रणनीति र योजना (जस्तैः आगलागीका सम्भाव्य क्षेत्रहरूको नियमित पहिचान र अनुगमन) बनाई काम गर्नु नियन्त्रणको थप अर्को उपाय हो ।

वनडढेलोले कैयौं वर्ष लगाएर संरक्षित गरिएका वन, वन्यजन्तु, वनस्पतिको नाश गर्ने मात्रै गर्दैन, जमिनको क्षयीकरण बढाउँछ । डढेलो लागेको ठाउँभन्दा बाहिर वायु प्रदूषण बढाएर मानव स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । वनडढेलोले ठूलो मात्रामा कार्बनडाइअक्साइड उत्पन्न हुने भएकाले जलवायु परिवर्तनमा समेत यसले योगदान गर्छ । डढेलोबाट गैरकाष्ठ पैदावारजस्ता वनस्रोत नासिने भएकाले आश्रित समुदायको जीविकामा यसले नकारात्मक असर पुर्‍याउँछ ।

नेपालमा डढेलो लाग्ने समय र पर्यटन आगमनको सिजन मिल्ने गरेको छ । मुख्य पर्यटन सिजनमा डढेलो लागेर वायु प्रदूषण बढ्दा त्यसले पर्यटन व्यवसायमा नकारात्मक असर पुगेको छ । विभिन्न विमानस्थलमा वायु प्रदूषण बढेका कारण उडान रद्द हुँदा त्यसले थप आर्थिक भार परेको छ । यी सबै हानिनोक्सानीका बाबजुद आगलागी र वनडढेलोको गम्भीरतालाई उच्च राजनीतिक नेतृत्वले ग्रहण गरेको पाइँदैन । डढेलो नियन्त्रणका स्थापित र प्रभावकारी उपाय प्रशस्त छन् । तर त्यसलाई लागू गर्न मुलुक हाँक्नेहरूको मन पनि पोलिनु जरुरी छ । विडम्बना, मुलुक खरानी भइराख्दा काठमाडौं, प्रदेश र गाउँगाउँका सिंहदरबारमा बस्नेहरूलाई सत्ता राजनीतिमा देखिने झिल्को नियन्त्रणमै फुर्सद छैन ।

प्रकाशित : वैशाख २७, २०८१ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?