स्वर्णलक्ष्मी सहकारी पीडितले दिए प्रहरीमा उजुरी

काठमाडौँ — स्वर्णलक्ष्मी बहुउद्देयीय सहकारी संस्थाका पीडितले आफ्नो बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरी वृत्त कालिमाटीमा ५ सय २८ जना पीडितहरुले झण्डै १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै उजुरी दिएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष सुमन खनालले बताए ।

स्वर्णलक्ष्मी सहकारी पीडितले दिए प्रहरीमा उजुरी

‘पहिलो चरणमा ५ सय २८ जना पीडितले करिब १ अर्ब रकम फिर्ताको माग गर्दै उजुरी दिएका छौँ,’ खनालले भने, ‘अरु पीडितहरुलाई पनि खबर गरेका छौं । उहाँहरु आएपछि पनि उजुरी दिनेछौं ।’

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका जीबी राईको समूहले काठमाडौंमा सञ्चालन गरेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट मात्र १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको छ ।

‘स्वर्णलक्ष्मीमा मात्र कुल बचतकर्ता करिब १३ हजार रहेको देखिन्छ । कतिपयको खाता दोहोरिएको होला,’ स्रोतले भन्यो, ‘तर, सहकारीका व्यवस्थापकले दिएको जानकारी अनुसार करिब २ अर्ब ७४ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।’

बचत फिर्ता हुने नदेखिएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय कालीमाटीमा रहेपनि महाराजगन्ज, न्युरोडलगायत स्थानमा शाखा सञ्चालनमा थिए ।

पछिल्ला दुई वर्षदेखि संस्थाले बचतकर्ताको पैसा फिर्ता दिन सकेको छैन ।

प्रकाशित : वैशाख १६, २०८१ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?