विराटनगर — चट्याङ लागेर झापामा मंगलबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार अपराह्न पौने ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर अर्जुनधारा नगरपालिका २ चौरासेका ५४ वर्षीय मोहनकुमार दुलालको मृत्यु भएको हो ।
घर नजिकै मकैबारीमा मल हाल्दै गरेका दुलाललाई अचानक चट्याङ लागेको थियो । छाती तथा पेटमा चोटग्रस्त उनलाई उपचारका लागि विर्तामोडको बिर्तासिटी अस्पताल पुर्याइएको थियो । दुलालको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।