इजरायल-हमासबीच दोस्रो पटक बन्दी आदानप्रदान, नेपालका विपिन भने अझै बन्धक

काठमाडौँ — हमासले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा शनिबार राति इजरायली र विदेशी बन्धकहरूको दोस्रो समूहलाई रिहा गरेको इजरायली अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका छन् । एक घण्टा लामो ढिलाइले गाजामा अस्थायी युद्धविराम भंग हुन सक्ने डर समेत पैदा गरेको थियो ।

इजरायल-हमासबीच दोस्रो पटक बन्दी आदानप्रदान, नेपालका विपिन भने अझै बन्धक

हमासले १३ इजरायलीसँगै चार थाई नागरिकलाई रिहा गरेपनि नेपाली बन्धक विपिन जोशीलाई भने रिहा गरेको छैन ।

कतारको पहलमा इजिप्टको पनि सहयोगमा भएको मध्यस्थताले इजरायल र हमासबीचको गरिरोध हट्न सफल भएको बताइएको छ ।

इजरायलका अनुसार शनिबार हमासले १३ जना इजरायली- आठ बालबालिका र पाँच महिलालाई गाजामा रेड क्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेको थियो। उनीहरूलाई राफा क्रसिङ पार गरेर इजिप्ट लगिएको थियो । त्यसपछि त्यहाँबाट भने इजरायल लगियो । उनीहरू सबैलाई अस्पतालमा लगिएको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलीसँगै चार थाई नागरिक पनि रिहा भएका छन् ।

हमासले बन्धकलाई रिहा गरेको केही समयमा नै इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले रिहा गरेको इजरायलको जेलसेवाले आइतबार बिहान जनाएको छ। शुक्रबार पनि यस्तै फेरबदल भएको थियो ।

प्यालेस्टाइनी प्राधिकरणको बन्दी मामिला आयोगले पुष्टि गरे अनुसार इजरायलले छाडेका बन्दीहरू रेडक्रसका बसमा अल-बिरेह लगेर छोडिएको थियो ।

सम्बन्धित सामाग्री :

इजरायल–हमास युद्धविरामले जगाएको आशा

शनिबार तनावपूर्ण दिनपछि ढिलो गरी सम्झौता पुन: कार्यान्वयन भएको थियो जसले गर्दा अस्थायी युद्धविराम सम्झौता टुट्ने संकेत समेत देखिएको थियो । हमासले इजरायलले सम्झौताका केही भागहरू अस्वीकार गरेको दाबी गर्दै दोस्रो पटक बन्धकहरू रिह गर्न अस्वीकार गर्दै यो प्रक्रियालाई स्थगित गर्ने धम्की दिएको थियो । गाजा नियन्त्रण गरिरहेको सशस्त्र समूहले इजरायलले उत्तरी गाजामा पर्याप्त सहायता सामाग्री पुग्न नदिएको र सहमतिमा भएका सर्तहरू अनुसार प्यालेस्टिनी बन्दीहरूलाई रिहा नगरेको दाबी गरेको थियो ।

अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु भएको युद्ध ४९ औं दिन गत शुक्रबारसम्म चलिरह्यो । चारदिने अस्थायी युद्धविराम गर्न इजरायल र हमासबीच सहमति भएपछि बिहान ७ बजेबाट युद्ध रोकिएको छ । हमासको अप्रत्याशित आक्रमणमा परी १० नेपाली विद्यार्थीसहित १२ सय इजरायली मारिएका छन् । नेपाली युवा विपिन जोशीसहित २ सय ४० जनालाई हमासले बन्धक बनाएको छ ।

बन्धक छुटाउने र हमासलाई निमिट्यान्न बनाउने भन्दै इजरायलले गाजा क्षेत्रमा सुरु गरेको जवाफी आक्रमणमा १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् । जसमा ६ हजार १ सय ५० बालबालिका र चार हजार जना महिला रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । १७ लाख प्यालेस्टिनीहरू आन्तरिक रूपमा विस्थापित भएका छन् ।

इजरायलले शुक्रबार पनि १३ जना इजरायली बन्धकमुक्त गरेपछि ३९ जना प्यालेस्टिनी कैदीलाई रिहाइ गरिदिएको थियो । यही प्रक्रिया सोमबारसम्म चल्नेछ । बन्धक भएका १० जना थाई र १ जना फिलिपिनो नागरिकलाई पनि रिहाइ गरिएको शुक्रबार सार्वजनिक भएको छ । नेपालीसँगै कृषिमा कार्यरत ३२ जना थाई श्रमिक हमासको आक्रमणमा मारिएका थिए भने २३ जना बन्धक बनाइएका थिए । विपिनलाई पनि थाई श्रमिकसँगै बन्धक बनाएर लगिएको थियो । इजरायलमा रहेका थप कैदीहरू रिहाइ गर्ने सर्तमा आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकबाहेकका सर्वसाधारणलाई छोड्ने पक्षमा हमास देखिन्छ ।

प्रकाशित : मंसिर १०, २०८० ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?