कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्र संघका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो ।

इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु

राष्ट्रसंघका अनुसार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी(यूएनआरडब्लूए)मा कार्यरत कर्मचारी मारिएका हुन् । आइतबार जोर्डनको राजधानी अम्मानमा राष्ट्रसंघले मारिएका कर्मचारीको स्मृति समारोहसमेत आयोजना गरेको थियो ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहकर्मीहरूको निधनमा दु:ख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, 'यूएनआरडब्लूएका सहकर्मी गुमाउनु पर्दा म र पूरा राष्ट्रसंघ परिवार दु:खी छौँ । अकल्पनीय पीडाका बीच गाजामा सहकर्मीहरू आफ्नो जीवन नै जोखिममा राखेर आवश्यक सेवा दिन जुटिरहेका छन् । उनीहरूप्रति कृतज्ञ हुँदै म ऐक्यबद्धता र पूर्ण सहयोग रहने बताउन चाहन्छु ।'

अक्टोबर ७ यता प्यालेस्टाइनतर्फ ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा महिला र बालबालिका बढी रहेको संयुक्त राष्ट्र संघले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी इजरायलतर्फ १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।

द्वन्द्वका कारण लाखौँ प्यालेस्टिनी विस्थापित भएका छन् भने हजारौँले अस्पतालहरूमा शरण लिइरहेका छन् । द्वन्द्वमा पत्रकारहरूसमेत मारिएका छन् । इजरायल-हमास द्वन्द्वमा परी कम्तीमा ३४ प्यालेस्टिनी पत्रकार मारिएको अल जजीराले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी दक्षिणी इजरायलमा ४ जना इजरायली पत्रकार मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आईएफजे) ले जनाएको छ ।

प्रकाशित : कार्तिक १३, २०८० १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?