३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

म्यानमारमा सैन्य हवाई आक्रमणबाट ५० जनाको मृत्यु

काठमाडौँ — म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । २ वर्षअघि सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा मंगलबार सेनाले हवाई आक्रमण गरेको हो । आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको बताइएको छ ।

म्यानमारमा सैन्य हवाई आक्रमणबाट ५० जनाको मृत्यु

स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई सैन्य कू भएयताकै घातक आक्रमण भनेका छन् । अलजजिरामा प्रकाशित समाचार अनुसार स्थानीयहरू एक प्रशासनिक कार्यालयको उद्घाटन समारोहका लागि भेला भइरहेका बेला मंगलबार बिहान ७ बजेर ३५ मिनेटमा सैन्य आक्रमण भएको हो ।

बीबीसीको समाचारमा भने आक्रमणबाट ५३ जना मारिएको उल्लेख छ । जहाँ कम्तीमा १५ जना महिला र केही बालबालिका रहेको बताइएको छ ।

मृत्यु हुनेहरू अधिकांश आम नागरिक थिए । घटनास्थलमा उद्धार कार्य भइरहेको बेला पनि दोस्रो आक्रमणबाट तीन जना मारिएका थिए । आक्रमणबारे म्यानमारको सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

म्यानमारमा सैन्य कू का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका 'आतंकवादीहरू' माथि निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए ।

म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा कू गरेको थियो । त्यसयता भएका विभिन्न प्रदर्शनमा हजारौंको मृत्यु हुनुका साथै हजारौं मानिस घाइते र ठूलो संख्यामा पक्राउ परेका छन् । यसबीचमा दस लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् ।

प्रकाशित : चैत्र २८, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?