‘स्मार्ट’ संसार

विष्णु पोखरेल

मोबाइल उनका लागि नौलो हैन, न त भर्खरै मात्र बोक्न थालेका हुन् । एक दशकअघिदेखि मोबाइल बोकिरहेका भए पनि पोहोर किनेको नयाँ सेटले भने उनलाई अर्कै दुनियाँमा पुर्‍याइदिएको छ, जुन पहिले कहिल्यै उनले सोचेका पनि थिएनन् ।

‘यो मोबाइल भन्ने अचम्मकै वस्तु रहेछ, फुन गर्ने चिज भनेको खै के–के हो के–के हिजोआज त,’ आइतबार न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा छोरीका लागि मोबाइल किनिदिँदै गर्दा कीर्तिपुरका चन्द्र मोक्तानले भने, ‘मलाई पोहोरसम्म यो भाइबर, फेसबुक भन्ने थाहै थिएन, अहिले त्यही नचलाई हुँदैन ।’

लामो समय ‘नोकिया–११००’ मोडल बोकेका उनलाई स्मार्टफोनमा पाइने सेवाको जानकारी नहुनु स्वाभाविक हो । हुन त अहिले बोकिरहेको मोबाइललाई ‘स्मार्टफोन’ भन्छन् भन्ने समेत मोक्तानलाई थाहा छैन । तर, त्यसमा पाइने कतिपय स्मार्ट सेवाहरू उपयोग गर्दै उनी आफैं ‘स्मार्ट’ बन्दै गइरहेका छन् । ‘विदेशमा भाइहरू छन्, उनीहरूले भाइबरमा कल गर्छन्,’ मोक्तान भन्छन्, ‘भाइबरमा कल आउँछ भनेर मैले नेट पनि जोडेको छु ।’

एकताका विश्वमै सबैभन्दा बढी बिक्री भई रेकर्ड बनाएको ‘नोकिया–११००’ मोडल आठ वर्षअघि नै उत्पादन बन्द भइसक्यो । ६ वर्षमा २५ करोडभन्दा बढी संख्यामा बिक्री भएको नोकियाको लोकप्रिय सेटको ठाउँ भने अहिले विभिन्न कम्पनीले निकाल्ने ‘स्मार्ट फोन’ ले लिइरहेका छन् । ‘यसमा अलमलिनचाहिँ सजिलो रहेछ,’ फुर्सदको समय बिताउन सजिलो हुने बताउँदै सामसङको ‘जेडवान’ ‘स्मार्टफोन’ बोक्ने मोक्तान भन्छन्, ‘गेम खेल्न मिल्छ, च्याट गर्नु पनि मिल्छ, ट्याम कटाउन सजिलो छ ।’

मोक्तानले बोक्ने ‘स्मार्टफोन’ को अपरेटिङ प्रणाली सामसङ आफैंले विकास गरेको ‘टाइजन’ हो । यसमा गुगलको ‘एन्ट्रोइड’ प्रणालीको साटो सामसङले आफ्नै अपरेटिङ प्रणाली हालेको छ । मोक्तानलाई भने यस्ता प्राविधिक कुराको न ज्ञान छ, न त मतलव नै । तर, यसमा उपलब्ध सेवा भने उनले मज्जाले प्रयोग गरिरहेका छन् । आफूलाई चाहिने विभिन्न खाले एप्सहरू हालेका मात्र छैनन्, चलाउने पनि गर्छन् । तरकारी पसल गर्ने उनले त्यसको हिसाब किताबका लागि क्यालकुलेटरको साटो मोबाइलाई नै प्रयोग गर्छन् । मोक्तान नेपालीहरू बारफोन (नोकिया–११०० जस्तै मोडलका) र फिचर्स फोन (टचस्क्रिन र केही एप्स चलाउन मिल्ने फोनहरू) बाट ‘स्मार्टफोन’ तर्फ स्थानान्तरण हुँदै छन् भन्ने उदाहरण हुन् । उनीजस्तै सामान्य नेपाली नागरिक पनि अब पुराना बारफोन र फिचर्स फोनलाई थन्क्याउँदै स्मार्टफोन बोक्न थालेका छन् । जसलाई बजारमा भित्रिएका धेरै ‘स्मार्ट’ सुविधायुक्त सस्ताखाले मोबाइलले सजिलो पारिदिएका छन् ।

चन्द्रजस्ता प्रौढ पुस्ताभन्दा अहिलेको युवा पुस्ताका लागि ‘स्मार्टफोन’ अपरिहार्य नै भइसकेको छ । ‘स्मार्टफोन भएर नै सबैखाले काम एकैसाथ गर्न सजिलो भएको छ,’ रोबटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) का सचिवसमेत रहेका इन्जिनियर विक्रान्त कार्की भन्छन्, ‘हामी त अफिसको मिटिङका लागि समेत स्मार्टफोन प्रयोग गरेर नै सबैलाई बोलाउँछौ, यस आधारमा स्मार्टफोनले अफिस चलाउनसमेत सजिलो पारिदिएको छ ।’

कार्की अहिले मोबाइलका लागि रिचार्ज कार्ड किन्न पसल जाँदैनन् न त पानी, बिजुलीको बिल तिर्न नै । ‘ई–सेवाको एप्समार्फत म सबै काम गर्छु, फन्ड ट्रान्सफर पनि मोबाइल बैंकिङ र मोबाइल एप्सबाटै हुने भएकाले सजिलो छ,’ उनी भन्छन्, ‘स्मार्टफोन भनेको स्मार्ट डिभाइस भएकाले यसबाटै इन्टरनेट चलाउनदेखि सबैखाले स्मार्ट काम गर्न सकिन्छ ।’

‘स्मार्टफोन’ बाट धेरै खाले काम गर्न सकिने मात्र होइन, यसको मूल्यमा आएको कमी छनोटको अवसरले पनि नेपालीहरू यसतर्फ आकर्षित हुन थालेका हुन् । ‘अहिले चल्ने भनेकै स्मार्टफोन हो,’ मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्रा भन्छन्, ‘स्मार्टफोन त अहिले सबैको आवश्यकताको वस्तु भइसकेको छ ।’ उनका अनुसार कम आय हुनेहरूसमेत स्मार्टफोन तर्फ आकार्षित छन् । नेपालमा धेरै बिक्री हुने मोबाइलका आधारमा त्यसलाई पुष्टि गर्न सकिने उनी बताउँछन् । अहिले १० हजारदेखि ३० हजार रुपैयाँसम्मका ‘स्मार्टफोन’ सबैभन्दा धेरै बिक्री हुने गरेको मलहोत्राले जानकारी दिए ।

हरेक नेपालीका घरबाट कोही न कोही विदेशमा गएकै हुन्छन् । उनीहरूले उपहारका रूपमा पनि ‘स्मार्टफोन’ पठाइदिने गर्छन् । विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न धेरैले एप्सको सहारा लिन थालेकाले ‘स्मार्टफोन’ को आकर्षण बढ्दो छ । नेपालमा मोबाइल फोनको बजार बढिरहेको छ, त्यसमा सबैभन्दा धेरै हिस्सा स्मार्टफोनले ओगट्न थालेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न मुलुकबाट ४० लाख २३ हजार मोबाइल सेट नेपाल भित्रिएका छन् ।

त्यसमध्ये एकदमै थोरै मात्र बारफोन र फिचर्स फोन रहेको व्यवसायीहरू बताउँछन् । ८ महिनामा भन्सार मूल्यका आधारमा साढे १५ अर्बका मोबाइल नेपाल आएका हुन् । बजार मूल्यका आधारमा हेर्ने हो भने ८ महिनाभित्र नेपाललमा अनुमानित २० अर्बभन्दा बढीको मोबाइल कारोबार भइसकेको देखिन्छ ।

नेपालमा अहिले एप्पल, सामसङ, जियोनी, एमआई, माइक्रोम्याक्स, कलर्स, कार्बन, ओप्पो, हुवावे, एलजी, लेनोभो, वानप्लसलगायतका ब्रान्डका स्मार्टफोनहरू धेरै बिक्री हुने गरेका छन् । यस बाहेक नेपालकै सीजी ब्रान्डका स्मार्टफोन र धेरै नयाँ ब्रन्ड पनि नेपालमा भित्रिसकेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हरेक महिना नयाँ–नयाँ ब्रान्डका स्मार्टफोनले ‘टाइप एप्रुभल’ र ‘आईएमईआई’ दर्ताका लागि निवेदन दिने गरेका छन् । प्राधिकरणमा हालसम्म मोबाइल, इन्टरनेट चलाउने डंगोल, पैसा तिर्ने मेसिनलगायतका गरी करिब साढे ३ हजार ब्रान्डले ‘टाइप एप्रुभल’ लिएका छन् । त्यसमा सबैभन्दा धेरै मोबाइलका ब्रान्ड रहेका छन् । पछिल्ला वर्षहरूमा ‘टाइप एप्रुभल’ लिने मोबाइलमध्ये धेरैजसोले ‘स्मार्टफोन’ कै लागि लिने गर्छन् ।

‘स्मार्टफोन’ प्रयोगकर्ता बढेसँगै नेपालीले चलाउने खालका एप्स बनाउने क्रम पनि बढेको छ । आफूलाई सुहाउँदो एप्स उपलब्ध हुने भएपछि पनि धेरै नेपालीलाई ‘स्मार्टफोन’ ले आकर्षण गर्ने गरेको छ । नेपालीलाई लक्षित गरेर विभिन्न सेवा प्रवाहलाई सजिलो हुने मात्र होइन, मनोरञ्जन र गेमका एप्स पनि बन्ने गरेका छन् । तिनले बारफोन र फिचर्स फोन बोकिरहेकालाई ‘स्मार्टफोन’ मा स्थानान्तरण सहयोगी भूमिका खेलिरहेका छन् ।

अहिले संसारभर नै ‘स्मार्ट’ र ‘डिजिटल’ अवधारणालाई आत्मसात् गर्न थालिएको छ । नागरिकको राष्ट्रिय परिचयपत्र, पासपोर्टदेखि वित्तीय क्षेत्र र यातायातमा समेत ‘स्मार्ट कार्ड’ को प्रयोग बढ्दो छ । सहरलाई ‘स्मार्ट सिटी’ को अवधारणामा अघि सार्न थालिएको छ । हरेकाका हात–हातमा हुने ‘स्मार्टफोन’ ले नेपालीलाई पनि बिस्तारै ‘स्मार्ट’ बनाउँदै लगेको छ ।

प्रकाशित : चैत्र २४, २०७३ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्

इन्टरनेट चलाउने माध्यम

विष्णु पोखरेल

काठमाडौं — इन्टरनेट सेवा प्रदायक संघ (आईस्प्यान) का अध्यक्ष सुमनलाल प्रधान कतिपय ‘अफिसियल’ काम गर्दा कम्प्युटरको सट्टामा मोबाइल प्रयोग गर्छन् । तारयुक्त र तारविहीन इन्टरनेट सेवा चलाएका प्रधान घर र अफिसबाहिर रहँदा थ्रीजी प्रयोग गरेर इमेलको ‘रिप्लाई’ गर्छन् ।

‘आफैं आइस्प्यानको अध्यक्ष भए पनि इन्टरनेटका लागि धेरै पैसाचाहिँ नेपाल टेलिकमले लगिरहेको होला,’ प्रधान हाँस्दै भन्छन्, ‘मोबाइल जतिखेरै, जहाँसुकै उपलब्ध हुने भएकाले धेरै इन्टरनेट त्यसैमा चलाइँदो रहेछ ।’ घरमा र अफिसमा हुँदा वाइफाई जोडेर मोबाइलमा इन्टरनेट चलाए पनि बाहिर भने थ्रीजी नै प्रयोग गर्दै आएको उनी बताउँछन् ।
‘कसैले इमेल पठाएको हुन्छ, तत्कालै रिप्लाई गर्नुपर्छ, अफिस पुगेर कम्प्युटरबाट रिप्लाई गर्न समय लाग्छ,’ उनी भन्छन्, ‘त्यसैले मोबाइलबाटै रिप्लाई गर्छु, यस्तो गर्ने म मात्र होइन धेरै छन् ।’ प्रधान अफिसको काम पनि सामाजिक सञ्जालमार्फत हुन थालेपछि मोबाइलमा २४ घण्टा नै इन्टरनेट नचलाई नहुने अवस्था आइसकेको स्विकार्छन् । ‘अब कुनै कुरा सल्लाह गर्दा पनि च्याटबाट गर्ने चलन बढिसक्यो,’ उनी भन्छन्, ‘अफिसको मिटिङमा बोलाउन सामाजिक सञ्जाल प्रयोग हुनु त ठूलो कुरा भएन ।’
कोटेश्वरकी अर्चना खत्री आफ्नो मोबाइलमा सबै डाटा चलाइरहेकी हुन्छिन् । सामाजिक सञ्जाल चलाउन, च्याट गर्न र भाइबर, ह्वाट्अप लगायतमा कुरा गर्न पनि उनले मोबाइलमै इन्टरनेट चलाउने गरेकी बताउँछिन् । ‘मसँग त ल्यापटप पनि छैन,’ खुद्रा पसल गर्ने उनी भन्छिन्, ‘इन्टरनेट चलाउन सिकेकै मोबाइलमा हो ।’
कीर्तिपुरकी सञ्जु लामाले घरमा इन्टरनेट चलाउनुपर्दासमेत मोबाइललाई नै प्रयोग गर्छिन् । उनको घरमा डेक्सटप कम्प्युटर छ । त्यसमा यूएसबी केबलमार्फत मोबाइल जोडेर उनी इन्टरनेट चलाउँछिन् । ‘घरमा अर्को इन्टरनेट छैन, त्यसैले मोबाइल डाटा नै प्रयोग गर्छु,’ उनी भन्छिन् ।
प्रधान, खत्री र लामा मात्र होइनन्, हिजोआज धेरै नेपालीले मोबाइललाई नै इन्टरनेट चलाउने माध्यम बनाउन थालिसकेका छन् । पछिल्लो समय मोबाइलको बिक्री र प्रयोगको वृद्धिसँगै यसैबाट इन्टरनेट चलाउने बढेका हुन् । कम्प्युटर, ल्यापटपको तुलनामा सस्तो पर्ने र सहजै सुविधा लिन सकिने भएपछि इन्टरनेट चलाउने माध्यमका रूपमा मोबाइल नै प्रयोग हुन थालेको हो ।
‘मोबाइलमा खिचेको फोटो मिलाउन फोटोसपमा काम गर्दा कम्प्युटर चाहिन्छ,’ लामा भन्छिन्, ‘तर, कम्प्युटरबाट सेयर गर्नुपर्दा इन्टरनेट चलाउनु परिहाल्छ ।’ घरमा इन्टरनेट नहुनेले मात्र होइन, घर बाहिर काम गर्नुपर्दा र भ्रमणका बेलामा पनि इन्टरनेट चलाउन मोबाइल सजिलो माध्यम भएको छ । ल्यापटप साथमा बोकेर हिँडे पनि सबै ठाउँमा वाइफाई वा अरू प्रविधिको इन्टरनेट उपलब्ध नहुँदा मोबाइललाई नै धेरैले प्रयोग गर्छन् ।
ग्रामीण क्षेत्रका बासिन्दा र कम आय हुने धेरै नेपालीले कम्प्युटर किन्ने रकम जुटाउन मुस्किल पर्छ । कम्प्युटरको तुलनामा सस्तो पर्ने हुँदा इन्टरनेटबाट सुविधा लिन उनीहरूले मोबाइललाई प्रयोग गरिरहेका छन् । यसको प्रयोग इन्टरनेट चलाउने माध्यमका रूपमा हुने गरेको सरकारी तथ्यांकले देखाउँछ ।
नेपाल दूरसञ्चार प्राधिकणका अनुसार हाल नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने नै सबैभन्दा धेरै रहेका छन् । कुल नेपालीमध्ये ५४.३४ प्रतिशतले इन्टरनेट सेवा चलाइरहेको प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये सबैभन्दा धेरै प्रयोगकर्ताले मोबाइलबाट इन्टरनेट चलाउने गर्छन् ।
प्राधिकरणका अनुसार इन्टरनेटमा जोडिने नेपालीको संख्या करिब १ करोड ४४ लाख पुगेको छ । त्यसमध्ये १ करोड ४० लाख नेपालीले मोबाइलबाट चलाउँछन् । जीपीआरएस, ईडीजीई, डब्लूसीडीएमए, सीडीएमए वानएक्स, इभिडियोलगायतका मोबाइलमा आधारित प्रविधिमा इन्टरनेट चलाउने नेपाली धेरै भएकाले यसको प्रयोग व्यापक भएको पुष्टि हुन्छ ।
आईएस्प्यानका अध्यक्ष प्रधान नेपालमा अन्य खाले इन्टरनेट सेवाको विस्तार हुन नसक्दा मोबाइलमा चलाउने बढेका सुनाउँछन् । मोबाइलमा पाइने सेवाको गुणस्तर पनि क्रमश: सुधार हुँदै जाँदा यसका प्रयोगकर्ता बढिरहेका छन् । तर, गुनासो भने रोकिएको छैन ।
नयाँ प्रविधिमा आधारित सेवा भित्रने क्रम पनि जारी छ । यसै वर्ष मात्र नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सुरु गरेको छ । त्यसले उच्च गतिको इन्टरनेट चलाउन चाहनेलाई सजिलो पारिदिएको छ । थ्रीजीको तुलनामा फोरजीको गति धेरै हुने भएकाले पछिल्लो समयमा ग्राहक फोरजीतर्फ आकर्षित हुन थालेको टेलिकमका अधिकारीहरू बताउँछन् ।
टेलिफोन कम्पनीबाट चलाउनेको तुलनामा अन्य कम्पनीबाट एकदमै थोरैले मात्र इन्टरनेट चलाएको पाइन्छ । प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार जम्मा १.४० प्रतिशतले मात्र टेलिफोन कम्पनीबाहेकको इन्टरनेट चलाउने गरेको देखिन्छ । टेलिफोन कम्पनीमध्ये नेपाल टेलिकमबाहेकको मोबाइल प्रतिवधिमै आधारित छन् । टेलिकमले भने मोबाइलका साथमा एडीएसएल र फाइबर टु होमजस्ता सेवा पनि चलाइरहेको छ । पछिल्लो प्रतिवेदनअनुसार नेपालमा हालसम्म ३ करोड १७ लाख ८७ हजार सिमकार्ड बिक्री भइसकेका छन् । त्यसमध्ये आधाजति सिमकार्ड कुनै न कुनै खालको इन्टरनेटमा जोडिएका छन् । नयाँ खालका मोबाइल सेट र स्मार्टफोन भित्रिने क्रम बढेसँगै त्यस्ता मोबाइलबाट इन्टरनेट चलाउन सहज भएको छ । यही सहजताका कारण पनि धेरैले मोबाइलाई नै इन्टरनेटको माध्यम बनाएका हुन् ।

प्रकाशित : चैत्र २४, २०७३ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्