‘स्मार्ट’ संसार

विष्णु पोखरेल

मोबाइल उनका लागि नौलो हैन, न त भर्खरै मात्र बोक्न थालेका हुन् । एक दशकअघिदेखि मोबाइल बोकिरहेका भए पनि पोहोर किनेको नयाँ सेटले भने उनलाई अर्कै दुनियाँमा पुर्‍याइदिएको छ, जुन पहिले कहिल्यै उनले सोचेका पनि थिएनन् ।

‘यो मोबाइल भन्ने अचम्मकै वस्तु रहेछ, फुन गर्ने चिज भनेको खै के–के हो के–के हिजोआज त,’ आइतबार न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा छोरीका लागि मोबाइल किनिदिँदै गर्दा कीर्तिपुरका चन्द्र मोक्तानले भने, ‘मलाई पोहोरसम्म यो भाइबर, फेसबुक भन्ने थाहै थिएन, अहिले त्यही नचलाई हुँदैन ।’

लामो समय ‘नोकिया–११००’ मोडल बोकेका उनलाई स्मार्टफोनमा पाइने सेवाको जानकारी नहुनु स्वाभाविक हो । हुन त अहिले बोकिरहेको मोबाइललाई ‘स्मार्टफोन’ भन्छन् भन्ने समेत मोक्तानलाई थाहा छैन । तर, त्यसमा पाइने कतिपय स्मार्ट सेवाहरू उपयोग गर्दै उनी आफैं ‘स्मार्ट’ बन्दै गइरहेका छन् । ‘विदेशमा भाइहरू छन्, उनीहरूले भाइबरमा कल गर्छन्,’ मोक्तान भन्छन्, ‘भाइबरमा कल आउँछ भनेर मैले नेट पनि जोडेको छु ।’

एकताका विश्वमै सबैभन्दा बढी बिक्री भई रेकर्ड बनाएको ‘नोकिया–११००’ मोडल आठ वर्षअघि नै उत्पादन बन्द भइसक्यो । ६ वर्षमा २५ करोडभन्दा बढी संख्यामा बिक्री भएको नोकियाको लोकप्रिय सेटको ठाउँ भने अहिले विभिन्न कम्पनीले निकाल्ने ‘स्मार्ट फोन’ ले लिइरहेका छन् । ‘यसमा अलमलिनचाहिँ सजिलो रहेछ,’ फुर्सदको समय बिताउन सजिलो हुने बताउँदै सामसङको ‘जेडवान’ ‘स्मार्टफोन’ बोक्ने मोक्तान भन्छन्, ‘गेम खेल्न मिल्छ, च्याट गर्नु पनि मिल्छ, ट्याम कटाउन सजिलो छ ।’

मोक्तानले बोक्ने ‘स्मार्टफोन’ को अपरेटिङ प्रणाली सामसङ आफैंले विकास गरेको ‘टाइजन’ हो । यसमा गुगलको ‘एन्ट्रोइड’ प्रणालीको साटो सामसङले आफ्नै अपरेटिङ प्रणाली हालेको छ । मोक्तानलाई भने यस्ता प्राविधिक कुराको न ज्ञान छ, न त मतलव नै । तर, यसमा उपलब्ध सेवा भने उनले मज्जाले प्रयोग गरिरहेका छन् । आफूलाई चाहिने विभिन्न खाले एप्सहरू हालेका मात्र छैनन्, चलाउने पनि गर्छन् । तरकारी पसल गर्ने उनले त्यसको हिसाब किताबका लागि क्यालकुलेटरको साटो मोबाइलाई नै प्रयोग गर्छन् । मोक्तान नेपालीहरू बारफोन (नोकिया–११०० जस्तै मोडलका) र फिचर्स फोन (टचस्क्रिन र केही एप्स चलाउन मिल्ने फोनहरू) बाट ‘स्मार्टफोन’ तर्फ स्थानान्तरण हुँदै छन् भन्ने उदाहरण हुन् । उनीजस्तै सामान्य नेपाली नागरिक पनि अब पुराना बारफोन र फिचर्स फोनलाई थन्क्याउँदै स्मार्टफोन बोक्न थालेका छन् । जसलाई बजारमा भित्रिएका धेरै ‘स्मार्ट’ सुविधायुक्त सस्ताखाले मोबाइलले सजिलो पारिदिएका छन् ।

चन्द्रजस्ता प्रौढ पुस्ताभन्दा अहिलेको युवा पुस्ताका लागि ‘स्मार्टफोन’ अपरिहार्य नै भइसकेको छ । ‘स्मार्टफोन भएर नै सबैखाले काम एकैसाथ गर्न सजिलो भएको छ,’ रोबटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) का सचिवसमेत रहेका इन्जिनियर विक्रान्त कार्की भन्छन्, ‘हामी त अफिसको मिटिङका लागि समेत स्मार्टफोन प्रयोग गरेर नै सबैलाई बोलाउँछौ, यस आधारमा स्मार्टफोनले अफिस चलाउनसमेत सजिलो पारिदिएको छ ।’

कार्की अहिले मोबाइलका लागि रिचार्ज कार्ड किन्न पसल जाँदैनन् न त पानी, बिजुलीको बिल तिर्न नै । ‘ई–सेवाको एप्समार्फत म सबै काम गर्छु, फन्ड ट्रान्सफर पनि मोबाइल बैंकिङ र मोबाइल एप्सबाटै हुने भएकाले सजिलो छ,’ उनी भन्छन्, ‘स्मार्टफोन भनेको स्मार्ट डिभाइस भएकाले यसबाटै इन्टरनेट चलाउनदेखि सबैखाले स्मार्ट काम गर्न सकिन्छ ।’

‘स्मार्टफोन’ बाट धेरै खाले काम गर्न सकिने मात्र होइन, यसको मूल्यमा आएको कमी छनोटको अवसरले पनि नेपालीहरू यसतर्फ आकर्षित हुन थालेका हुन् । ‘अहिले चल्ने भनेकै स्मार्टफोन हो,’ मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्रा भन्छन्, ‘स्मार्टफोन त अहिले सबैको आवश्यकताको वस्तु भइसकेको छ ।’ उनका अनुसार कम आय हुनेहरूसमेत स्मार्टफोन तर्फ आकार्षित छन् । नेपालमा धेरै बिक्री हुने मोबाइलका आधारमा त्यसलाई पुष्टि गर्न सकिने उनी बताउँछन् । अहिले १० हजारदेखि ३० हजार रुपैयाँसम्मका ‘स्मार्टफोन’ सबैभन्दा धेरै बिक्री हुने गरेको मलहोत्राले जानकारी दिए ।

हरेक नेपालीका घरबाट कोही न कोही विदेशमा गएकै हुन्छन् । उनीहरूले उपहारका रूपमा पनि ‘स्मार्टफोन’ पठाइदिने गर्छन् । विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न धेरैले एप्सको सहारा लिन थालेकाले ‘स्मार्टफोन’ को आकर्षण बढ्दो छ । नेपालमा मोबाइल फोनको बजार बढिरहेको छ, त्यसमा सबैभन्दा धेरै हिस्सा स्मार्टफोनले ओगट्न थालेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न मुलुकबाट ४० लाख २३ हजार मोबाइल सेट नेपाल भित्रिएका छन् ।

त्यसमध्ये एकदमै थोरै मात्र बारफोन र फिचर्स फोन रहेको व्यवसायीहरू बताउँछन् । ८ महिनामा भन्सार मूल्यका आधारमा साढे १५ अर्बका मोबाइल नेपाल आएका हुन् । बजार मूल्यका आधारमा हेर्ने हो भने ८ महिनाभित्र नेपाललमा अनुमानित २० अर्बभन्दा बढीको मोबाइल कारोबार भइसकेको देखिन्छ ।

नेपालमा अहिले एप्पल, सामसङ, जियोनी, एमआई, माइक्रोम्याक्स, कलर्स, कार्बन, ओप्पो, हुवावे, एलजी, लेनोभो, वानप्लसलगायतका ब्रान्डका स्मार्टफोनहरू धेरै बिक्री हुने गरेका छन् । यस बाहेक नेपालकै सीजी ब्रान्डका स्मार्टफोन र धेरै नयाँ ब्रन्ड पनि नेपालमा भित्रिसकेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हरेक महिना नयाँ–नयाँ ब्रान्डका स्मार्टफोनले ‘टाइप एप्रुभल’ र ‘आईएमईआई’ दर्ताका लागि निवेदन दिने गरेका छन् । प्राधिकरणमा हालसम्म मोबाइल, इन्टरनेट चलाउने डंगोल, पैसा तिर्ने मेसिनलगायतका गरी करिब साढे ३ हजार ब्रान्डले ‘टाइप एप्रुभल’ लिएका छन् । त्यसमा सबैभन्दा धेरै मोबाइलका ब्रान्ड रहेका छन् । पछिल्ला वर्षहरूमा ‘टाइप एप्रुभल’ लिने मोबाइलमध्ये धेरैजसोले ‘स्मार्टफोन’ कै लागि लिने गर्छन् ।

‘स्मार्टफोन’ प्रयोगकर्ता बढेसँगै नेपालीले चलाउने खालका एप्स बनाउने क्रम पनि बढेको छ । आफूलाई सुहाउँदो एप्स उपलब्ध हुने भएपछि पनि धेरै नेपालीलाई ‘स्मार्टफोन’ ले आकर्षण गर्ने गरेको छ । नेपालीलाई लक्षित गरेर विभिन्न सेवा प्रवाहलाई सजिलो हुने मात्र होइन, मनोरञ्जन र गेमका एप्स पनि बन्ने गरेका छन् । तिनले बारफोन र फिचर्स फोन बोकिरहेकालाई ‘स्मार्टफोन’ मा स्थानान्तरण सहयोगी भूमिका खेलिरहेका छन् ।

अहिले संसारभर नै ‘स्मार्ट’ र ‘डिजिटल’ अवधारणालाई आत्मसात् गर्न थालिएको छ । नागरिकको राष्ट्रिय परिचयपत्र, पासपोर्टदेखि वित्तीय क्षेत्र र यातायातमा समेत ‘स्मार्ट कार्ड’ को प्रयोग बढ्दो छ । सहरलाई ‘स्मार्ट सिटी’ को अवधारणामा अघि सार्न थालिएको छ । हरेकाका हात–हातमा हुने ‘स्मार्टफोन’ ले नेपालीलाई पनि बिस्तारै ‘स्मार्ट’ बनाउँदै लगेको छ ।

प्रकाशित : चैत्र २४, २०७३ १७:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतको शिक्षा विश्वकै उत्कृष्ट

नविन पोखरेल

लन्डन — बेलायती शिक्षा विश्वकै उत्कृष्ट भएको स्वतन्त्र ग्लोबल लिगले बताएको छ । अमेरिका, जर्मनी, फ्रान्सलाई उछिन्दै बेलायत फिनल्याण्डपछि शिक्षाका लागि युरोपको दोश्रो उत्कृष्ट देश बनेको हो । देशको सामाजिक एवं आर्थिक परिणाम जस्तै राष्ट्रिय बेरोजगार दर, कुल ग्राहस्थ उत्पादन (जिडिपी), सरदार आयु आदिमा शिक्षाको नीतिले पारेको प्रभावबारे मुल्यांकन गरिएको थियो ।

स्तरीय शिक्षाका लागि प्रसिद्धी कमाएको बेलायती विश्वविद्यालयहरु अनुसन्धान तथा आविष्कारमा अग्रस्थानमा छन् । विश्वका अति उत्तम युनिभर्सिटीको श्रेणीमा भएका ६ विश्वविद्यालयमध्ये ४ वटा बेलायतमै छन् ।

विद्यार्थीको सीप र सामर्थ्य बढाइ आफ्नो इच्छा अनुरुप रोजगारी दिलाउन धेरै हदसम्म बेलायती शिक्षा प्रणाली सफल छ । पढाइको गुणस्तर साथै अन्तर्राष्ट्रिय रुपले मान्यता पाएको अंग्रेजी भाषाका कारण पनि बेलायत विश्वविद्यालय तहका अन्तर्राष्ट्रिय विद्यार्थी तान्न सफल भएको ठानिन्छ ।

बेलायत सरकारले यो वर्ष कुल सरकारी खर्चको ११ प्रतिशत अर्थात ८६ अर्ब २० करोड पाउन्ड शिक्षामा खर्च गर्ने कुरा बजेटमा ल्याएको बेलायतमा ए लेभल देखि पढेका अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्यले बताए । सरकारले शिक्षामा गर्ने खर्च, स्कुल शुरु गर्ने उमेर, शिक्षकको तलब र निजले पढेको स्कुल एवं युनिभर्सिटीको साक्षरता अवस्था आदिमा ४० धनी देशबीच गरिएको अनुसन्धानमा बेलायतको नीति धेरै प्रभावकारी रहेको आचार्यले उल्लेख गरे । बेलायतमा गत २० वर्षयता शिक्षामा धेरै सुधार भएको तर बढ्दो प्रविधि तथा समय अनुरुप परिमार्जित हुनुपर्ने खांचो औंल्याउँछन् आचार्य ।

बेलायतको शिक्षा प्राथमिक, माध्यमिक, थप र उच्च गरी चार भागमा विभाजन गरिएको छ । पाँच देखि १८ वर्षका बालबालिकाले कानुनीरुपमा प्राथमिक र माध्यमिक स्कुल पढ्न अनिवार्य छ ।

सन् १८७० अघि बेलायतमा सबै स्कुल च्यारिटी (धार्मिक) अथवा निजी थिए । यसै वर्ष सन् १८७० मा प्राथमिक शिक्षा ऐन लागू गरिएपछि स्थानीय सरकारले प्राथमिक स्कुल स्थापनाका लागि अनुमति दिएको थियो । सन् १९०२ को शिक्षा ऐनले स्थानीय निकायलाई माध्यमिक स्कुल स्थापना गर्न दियो भने सन् १९१८ को शिक्षा ऐनले प्राथमिक शिक्षाका लागि निशुल्क व्यवस्था गरेको थियो ।

बेलायतका ३ देखि १८ वर्ष उमेरका ९३ प्रतिशत वालवालिका सरकारी स्कुलमा पढ्छन् । सन् १९९८ देखि मुख्यत ६ किसिमका स्कुल इंग्ल्यान्डमा सञ्चालन हुंदै आएका छन् ।

राम्रोसंग नतिजा ल्याउन नसकेका स्कुल सञ्चालन खर्च केन्द्रीय सरकारले दिने गरि निजी, उद्यमी या गैरसरकारी संस्थाले व्यवस्थापन गर्ने गरि सञ्चालित स्कुल एकेडेमी स्कुल भनेर परिचित छ । यस अलावा कम्युनिटी, फ्रि, फाउन्डेसन, ऐच्छिक लागतमा र नियन्त्रण गरि अरु किसिमका स्कुलहरु पनि यहाँ छन् । बेलायती विद्यालयमा सानै उमेरदेखि मुख्य विषय बाहेक धार्मिक, शारिरीक शिक्षा, कम्प्युटर, डिजाइन, खाना, प्रविधि आदि विषय समावेश गरिएको छ ।

बेलायतमा करिब ७ प्रतिशत वालवालिका मात्र निजी स्कुलमा पढ्छन् । निजी स्कुलमा पढेका विद्यार्थीलाई राम्रा विश्वविद्यालयमा विशेष ग्राह्यता दिइएको भनि बेलायतभित्र बेलाबेला आलोचना पनि हुने गर्छ । तर, यस्ता युनिभर्सिटीहरुले विभेद नगरेको जिकिर गर्दै आएका छन् । निजी स्कुलमा पढ्नेहरुको बेलायती समाजमा अवसर र प्रभाव सरकारी स्कुलमा पढ्नेको भन्दा बढि रहेको चाहिं यथार्थ हो ।

सन् १९४० को अन्त्य देखि सन् १९६० सम्म निजी स्कुलसंग प्रतिष्पर्धा स्वरुप जाँच लिएर उत्कृष्ट विद्यार्थी सरकारी स्कुलमा पढाउने योजनाले ग्रामर स्कुल खोल्ने क्रम शुरु भयो । यसपछि केही ग्रामर स्कुलहरु निजी बने र ग्रामर स्कुलको स्थापना गर्ने प्रचलन खारेज भयो । अझैपनि केहि सरकारी ग्रामर स्कुल चाहिं चालु छन् । ग्रामर स्कुल भनेको एतिहासिक कालदेखि नै बेलायतलगायत अंग्रेजी बोल्ने देशहरुमा ल्याटिन भाषा पढाउन खोलिएको स्कुल बुझिन्छ ।

सरकारी र निजी स्कुलमा खास भिन्नताबारे बेलायतको निजी स्कुल पढेका अर्थ व्यवस्थापनविद आचार्यको अनुभवमा सरकारी स्कुलमा एउटा कक्षामा तीस जनासम्म विद्यार्थी हुन्छन् । तर, निजीमा यो भन्दा निकै कम । निजीमा बढि अनुशासन, पढ्ने तथा खेल्ने सुविधा अधिक र प्रत्येक विद्यार्थीको पढाइमा कडा निगरानी गरिन्छ ।

बेलायतको निजी स्कुलको शुल्क निकै चर्को रहेको चर्चा गर्दै आचार्य निजी स्कुल विद्यार्थीले तिरेको पैसाको मुल्य अनुरुप सेवा दिन क्रियाशील रहेको बताउँछन् । बेलायतमा १८ वर्ष उमेर नाघेपछि उच्च शिक्षा पढ्न सकिन्छ । सन् १९६० पछि केहि निजी कलेज स्नातक सम्मको पढाई गर्न खुलेपनि उच्च शिक्षाका लागि धेरै कलेज र युनिभर्सिटीहरु सरकारी स्वामित्वका छन् । बेलायत तथा ईयू देशका विद्यार्थीलाई सन् १९९० को दशकमा थोरै फि लाग्ने गरि शुरुवात गरिएको ट्युसन फि सन् २०१२ बाट वर्षको नौ हजार पाउन्डसम्म बनाइएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने अझ चर्को छ फि । सन् २०१० देखि अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा अध्यागमन नियम अत्यन्त कडा बनाइएकाले विद्यार्थी आगमन झिनो छ ।

विकेन्द्रिकरणको नीति अनुरुप सन् १९९९ देखि स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको संसदले आफैं यी राज्यमा शिक्षा नीति तय गर्छन् भने बेलायत सरकारले इंग्ल्यान्डको मात्र शिक्षा नीति हेर्छ । संयुक्त अधिराज्यको जनसंख्याको करिब ८५ प्रतिशत हिस्सा इंग्ल्यान्डमा छ ।

राम्रो शिक्षाका लागि सानै देखि बालबालिकाको पढाइको जग बलियो हाल्नु महत्वपूर्ण छ । सहि नीति र उपयुक्त व्यवस्थापनले शिक्षा क्षेत्रमा विकास गर्न सकिन्छ भन्ने पाठ नेपाल लगायत विकासोन्मुख मुलुकले बेलायतबाट सिक्न सक्छन् ।

प्रकाशित : चैत्र २४, २०७३ १६:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT