कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बंगलादेशविरुद्ध नेपालको सानदार बलिङ, सामान्य लक्ष्य पछ्याउँदै

सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) — नेपालले आइतबार सानदार बलिङ गर्दै ट्वान्टी-२० विश्वकप क्रिकेटमा बंगलादेशलाई सानो स्कोरमा आउट गरेको छ । स्पिनरहरूको चम्किलो प्रर्दशनपछि नेपालले टस जितेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९.३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको हो ।

बंगलादेशविरुद्ध नेपालको सानदार बलिङ, सामान्य लक्ष्य पछ्याउँदै

सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानको स्पिन मैत्री विकेटमा सोमपाल कामी, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिएपछि नेपालले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध सामान्य लक्ष्य पाएको हो ।

नेपालले सानदार सुरुआत गरेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गरी नेपाललाई स्वर्णिम सुरुआत दिलएका थिए । दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नजमुल हसनलाई ४ रनमा बोल्ड गरे । पाँचौँ ओभरमा सोमपालले लिट्टन दासलाई १० रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।

पावर प्लेको अन्तिम ओभरमा आफैं बलिङमा आउने कप्तान रोहित पौडेलको निर्णय आश्चार्यजनक थियो । उनले खेलको छैटौं ओभरको चौथो बलमै तोवहिद हृदयलाई सन्दीप लामिछानेबाट सानदार क्याच गराएपछि बंगलादेश पावर प्लेमा ३१–४ को स्थितिमा पुगेको थियो ।

भेट्रान महमदुल्लाहलाई रनआउट गरेपछि नेपालले पहिलो १० ओभरमा बंगलादेशलाई ५७–५ को स्थितिमा रोकेको थियो । शकिब अल हसनले ड्राइभ गरेको बलमा महमदुल्लाह नन स्ट्राइकबाट रनका लागि दौडिएपछि हातैको बलबाट गुलशन झाले सन्दीपमार्फत रन आउट गरेका थिए ।

रोहितले अनुभवी शकिबलाई पनि लामो समय टिक्न दिएनन् । रोहितको बलमा बिट भएपछि शकिब १७ रनमा एलबीडब्लु आउट भए ।

सन्दीपले जाकर अलीलाई १२ र तान्जिम हसन शकिबलाई बोल्ड गरी ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी बने । सन्दीपले यो सफलता आफ्नो ५४ खेलमा बनाएका हुन् । अफगानिस्तानका रशिद खानले ५३ खेलमा सबैभन्दा छिटो १ सय विकेट लिएका थिए ।

रिशाद हसन ७ बलमा १ चौका र १ छक्का प्रहार गरी १३ रनमा आउट भए । सोमपालले ३ ओभरमा १०, रोहितले ४ ओभरमा २०, सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १७ र दीपेन्द्रले ३.३ ओभरमा २२ रन खर्चे ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

नेपाल पहिलो तीन खेलमा २ हार र एक रद्द खेलको नतिजापछि सुपर ‘एट’ को दौडबाट बाहिरिसकेको छ । बंगलादेशले भने नेपाललाई पराजित गरेमात्र दोस्रो चराणमा स्थान सुरक्षित हुन्छ ।

नेपालले दक्षिण अफ्रिकाविरुद्धको अघिल्लो खेलबाट करण केसीको स्थानमा सन्दीप जोरालाई खेलाएको छ । स्पिनरहरूको दबदबा रहेको यस मैदानमा नेपालका मध्यम गतिका प्रमुख बलर अविनाश बोहरा १८ औं ओभरमा पहिलो ओभर लिएर बलिङ गर्न आएका थिए ।

नेपालले दुई दिनअघि यही मैदानमा दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोके पनि १ रनको हार बेहोरेको थियो ।

प्रकाशित : असार ३, २०८१ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?