कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘ग्रुप अफ डेथ’ बाट उम्किने दाउ

विश्वकपको अन्य समूहको तुलनामा समूह ‘डी’ लाई निकै कठिन मानिएको छ, यही कठिन यात्रामा नेपालले सम्भावनाको ढोका खोल्ने विश्वास
विनोद पाण्डे

अमेरिका — नेपालले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउँदा सन् २०१४ को त्यो संस्करणमा श्रीलंका विजेता बनेको थियो । एक सातापछि अमेरिकी क्षेत्रमा सुरु हुने ट्वान्टी–२० विश्वकपमा नेपालले त्यही श्रीलंकासहित दक्षिण अफ्रिका लगायतका राष्ट्रसँग खेल्ने छ । 

‘ग्रुप अफ डेथ’ बाट उम्किने दाउ

समूह ‘डी’ मा नेपाल, श्रीलंका, दक्षिण अफ्रिकासहित बंगलादेश र नेदरल्यान्ड्स छन् । अन्य समूहको तुलनामा समूह ‘डी’ लाई निकै कठिन मानिएको छ । यही कठिन यात्रामा नेपालले दोस्रो चरणको सम्भावनालाई ढोका खोल्ने प्रयास गर्नेछ । ‘ग्रुप अफ डेथ’ सरह मानिएको समूह ‘डी’ को तुलनामा अन्य समूह तुलनात्मक सजिलो देखिन्छ ।

प्रत्येक समूहमा एसोसिएट क्षेत्रका कम्तीमा दुई टोली छन् । समूह ‘डी’ मा भने एसोसिएट क्षेत्रका दुई उत्कृष्ट टोली नेपाल र नेदरल्यान्ड्सले टेस्ट टोलीहरू श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न लागेका हुन् । कठिन समूहमा परेकाले प्रशिक्षक मोन्टी देसाईले विपक्षी टोलीहरूलाई ‘उच्च प्रतिस्पर्धी’ भनेर ठूलो सम्मान दिएका छन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका र क्यानडा, समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान तथा समूह ‘सी’ मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा छन् । समूहका शीर्ष दुई टोली सुपर ‘एट’ मा पुग्नेछन् ।

नेपालले जुन ४ मा डालासमा नेदरल्यान्ड्ससँग खेलेर विश्वकपको यात्रा सुरु गर्नेछ । नेपालले त्यसपछि अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग जुन ११ मा तथा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । नेपालले श्रीलंका र दक्षिण अफ्रिकासँग ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक खेल्न लागेको हो ।

कप्तान एडेन मारक्रम, हेनरिक क्लासेन र मार्को जानसेन आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादबाट कोलकाता नाइड राइडर्सविरुद्ध आइतबार फाइनल खेलेर अमेरिका आउने छन् । आईपीएलमा अन्य टोलीबाट खेलेका दक्षिण अफ्रिकाका खेलाडी क्विन्टन डी कक, डेविड मिलर, ट्रिस्टन स्टुब्स, जेराल्ड कोएट्जी, केशव महाराज, एनरिच नोकिए र कागिसो राबाडा अमेरिका आइपुगिसकेका छन् ।

आईसीसीको महत्त्वपूर्ण प्रतियोगितामा अन्तिम चरणमा पुगेर रोकिने इतिहास बनाएको दक्षिण अफ्रिकालाई त्यसका बावजुद सधैं दाबेदार टोलीको रूपमा हेरिन्छ । सन् २००९ र २०१४ को संस्करणमा सेमिफाइनलमा पुग्नु दक्षिण अफ्रिकाको ट्वान्टी–२० विश्वकपमा सबैभन्दा उत्कृष्ट नतिजा हो ।

श्रीलंकाका कप्तान वानिन्दु हसरंगा विश्वका शीर्षस्थ बलर हुन् । उनले ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १ सय ४ विकेट लिइसकेका छन् । चोटका कारण आईपीएल गुमाएका लेग ब्रेक बलर उनलाई स्पिनमा चेन्नई सुपर किंग्सबाट खेलेका अफ ब्रेक बलर माहिश थिकसानाले राम्रो साथ दिने अपेक्षा गरिएको छ । श्रीलंकाले स्पिनमा पूरा भरोसा देखाएको छ । टोलीमा अलराउन्डरको रूपमा रहेका धनन्जय डी सिल्भा, कामिन्डु मेन्डिस, चारिथ असलंका र दुनिथ वेलालगे उपयोगी बन्न सक्छन् ।

नेपालले बंगलादेशसँग भने दोस्रो पटक खेल्न लागेको हो । २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेपाललाई घरेलु टोली बंगलादेशले ८ विकेटले पराजित गरेको थियो, त्यही नै नेपाललाई उछिन्दै बंगलादेशलाई दोस्रो चरणमा पुग्ने आधार बनेको थियो । बंगलादेश अहिले संकटमा छ । बंगलादेश ह्युस्टनमा अमेरिकासँग पहिलो दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा पराजित भइसकेको छ ।

त्यसअघि बंगलादेशलाई विश्वकपमा छनोट हुन नसकेको जिम्बावेले पनि पराजित गरेको थियो । सन् २००७ को ट्वान्टी–२० विश्वकपको पहिलो संस्करणमा सुपर ‘एट’ पुग्नु बंगलादेशको सबैभन्दा राम्रो प्रदर्शन हो । त्यसयता बंगलादेशले ट्वान्टी–२० विश्वकपमा खासै राम्रो प्रभाव पार्न सकेको छैन ।

नेपालको नियमित प्रतिद्वन्द्वी जस्तै रहेको नेदरल्यान्ड्स ठूलो खेलमा नतिजा उलटफेर गर्न माहिर टोली हो । पाँचौं पटक ट्वान्टी–२० विश्वकप खेलिरहेको नेदरल्यान्ड्सले २०२२ को पछिल्लो संस्करणमा सुपर १२ मा पुगेको थियो । नोभेम्बरमा भारतमा भएको एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको थियो ।

तीन महिनाअघि काठमाडौं गएर नामिबियासम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा प्रतिस्पर्धा गर्दा नेदरल्यान्ड्सले नेपाललाई २ खेलमा हराएको थियो, त्यसमध्ये फाइनलमा पाएको ३ विकेटको विजय पनि समावेश छ । त्यसअघि नेपालले नेदरल्यान्ड्सलाई १ सय २० रनमा अलआउट गर्दै ६ विकेटको जित हात पारेको थियो ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?