कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

जीतपुरसिमरा गोल्डकप : सोमबार मच्छिन्द्र र पुलिसको उपाधि भीडन्त

लक्ष्मी साह

बारा — १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भीडन्त हुने भएको छ । सोमबार बेलुका सिमरा रंगशालामा  फ्लड लाइटमा 'ए' डिभिजनका यी दुई क्लबबीच उपाधि भीडन्त हुने निश्चित भएको हो । 

जीतपुरसिमरा गोल्डकप : सोमबार मच्छिन्द्र र पुलिसको उपाधि भीडन्त

दुबै टोली उपाधि जितेर नयाँ वर्ष २०८१ का लागि आ–आफ्नो सौभाग्य बनाउन खोजेका हुन् । आठ वर्षपछि पुलिस दोस्रोपटक जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि भीडन्त गर्दैछ भने मच्छिन्द्र पहिलोपटक । पहिलोपटकमै मछिन्द्रले उपाधि नजिक पुगेर उपाधि हात पार्न लागेपछि हौसिएको छ । पुलिसले दोस्रोपटकमा उपाधि जित्ने दाउ बनाइरहेको छ ।

यसअघि छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो । मछिन्द्र भने चौँथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिन पुगेको थियो । मनाङ मर्स्याङ्दी क्लबसँग १–० ले पराजित भएर फेरि फर्किएको मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा मैदानमा आएर उपाधिको होडमा उत्रिदैँ उपाधि हात पार्ने योजनामा छ ।

अघिल्लो साता बिराट गोल्डकपको उपाधि लिएर सिमरा मैदानमा उत्रेका मच्छिन्द्र मोफसलमा हुने प्रतियोगिताको चौँथो उपाधि हात पार्ने लक्ष्यमा छ । ०८० मा आयोजित मोफसलकै प्रतियोगितालाई लक्षित गरी मच्छिन्द्रले विराटसहित मकवानपुरको वाग्मती गोल्डकप र काठमाडौंमा भएको केपी ओली कपको उपाधि जितेको थियो ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले जीतपुरसिमराको उपाधिसमेत आफ्नै पोल्टामा पर्ने दाबी गरेका छन् । ‘यो सिजनको चौँथो उपाधि जित्ने लक्ष्यमा छौं, त्यसैअनुसार टीम निर्माण गरिएको छ,’ प्रशिक्षक न्यौपानेले भने । उता पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरु वर्षको दोस्रो उपाधि जित्ने लक्ष्य लिएर सिमरा मैदानमा उत्रने बताए ।

वर्ष ०८० को सुरुवातमा वीरगन्ज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजय बेहोरेको थियो । उनले वर्ष ०८० मा पुलिसका युवा खेलाडी सम्मलित टोलीले मोफसलका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै जीतपुरसिमरा गोल्डकपको उपाधिसहित वर्ष ०८१ को सुरुवातका लागि आफूहरु उत्साहित रहेको बताए । ‘हाम्रा उर्जावान यूवा शक्तिले यस वर्ष सिमरा रंगशालामा इतिहास रच्नेमा विश्वस्त छु’ प्रशिक्षक घिमिरेले भने ।

दोहोरो पहेंलो कार्डका कारण पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ । शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टीमलाई फाइनलसम्म पुर्‍याउन राम्रो प्रदर्शन गरेका थिए ।

यता स्टार खेलाडी विमल घर्तीमगर, मनिष डाँगी सम्मलित मछिन्द्रको टीममा भने कुनै परिवर्तन हुने छैन् । मच्छिन्द्रका प्रशिक्षक न्यौपानेले आयुष घलान टीममा थपिने सम्भावना रहेपनि निश्चित भने नभएको जानकारी दिए ।

प्रतियोगिता अवधिभरको खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुबै टीमलाई उपाधिको बलियो दाबेदारको रुपमा आकलन गरिएको छ । मच्छिन्द्रले आफनो पहिलो खेलमा त्रिभुवन आर्मी फुटवल क्लबलाई १–० र सेमीफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाइनलको यात्रा जोडेको थियो । पुलिसले भने क्वार्टरफाइनलमा आयोजक सिमरालाई २–१ र सेमीफाइनलमा विभागिय टीम एपीएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा जुटेको हो ।

रंशालामा आइतवार भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र बाजे दुबैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताए । फाइनल खेल मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा हुने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए ।

फाइनल खेलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । सिमरा रंगशालाको मैदानमा तीन वर्षदेखि फ्लड लाइटमा हुँदै आएको हो । विजेताले १० लाख र उपविजेताले नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्दै आएका छन् ।

प्रकाशित : वैशाख २, २०८१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?