कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

दीपेन्द्रको नयाँ वर्ष उपहार : एकै ओभरमा ६ छक्का

‘लगातार चौथो छक्का गएपछि भने पूरा ओभर नै छक्का हान्छु भन्ने मनसाय बनाएको थिएँ, सफल पनि भएँ’
अमेरिकाका जसकरण मलहोत्राले भने : ‘लगातार ६ छक्का प्रहार गर्नु सजिलो विषय होइन, लगातार ६ छक्का प्रहार गर्ने क्लबमा स्वागत छ ।’
विनोद पाण्डे

काठमाडौँ — एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्नु चानचुने कुरा हैन । त्यसैले पनि यो उपलब्धि विश्व क्रिकेटमै दुर्लभ मानिन्छ । जस्तोसुकै उम्दा ब्याटरका लागि पनि एकै ओभरका छ बलमा लगातार ६ छक्का प्रहार गर्नु ठूलो उपलब्धि हो । अन्तर्राष्ट्रिय क्रिकेटमै पनि ब्याटरले देखाएको प्रदर्शनले भन्छ, यो सजिलै बन्ने कीर्तिमान होइन ।

दीपेन्द्रको नयाँ वर्ष उपहार : एकै ओभरमा ६ छक्का

नेपालका दीपेन्द्रसिंह ऐरीले शनिबार एकै ओभरमा लगातार ६ छक्का प्रहारको कीतिमान बनाएका छन् । एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा दीपेन्द्रले उक्त कीर्तिमान बनाएका हुन् । उनले मस्कटस्थित अल अमेरातमा कतारका बलर कामरान खानले अन्तिम ओभरमा फालेको सबै बलमा छक्का प्रहार गरेका हुन् । ‘लगातार चौथो छक्का गएपछि भने पूरा ओभर नै छक्का हान्छु भन्ने मनसाय बनाएको थिएँ, सफल पनि भएँ,’ दीपेन्द्रले आफ्नो पछिल्लो उपलब्धिबारे खुसी व्यक्त गर्दै भने ।

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तेस्रो खेलाडी बनेका छन् । यसअघि दक्षिण अफ्रिकाका हर्षल गिब्सले सन् २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सका डान भान बुङ्गेलाई वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ कै ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डका स्टुवार्ट ब्रोडलाई दक्षिण अफ्रिकाको डर्बनमा एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए ।

त्यसैगरी वेस्ट इन्डिजका किइरन पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनन्जयको ओभरमा र अमेरिकाका जसकरण मलहोत्राले २०२१ मै पपुवा न्युगिनीका गौडी टोकाको एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । मल्होत्राले दीपेन्द्रको सफलतापछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘लगातार ६ छक्का प्रहार गर्नु सजिलो विषय होइन, लगातार ६ छक्का प्रहार गर्ने क्लबमा स्वागत छ ।’

दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो पहिलो भने होइन । चीनको हाङचउमा गत वर्ष भएको १९ औं एसियाली खेलकुदमा पनि उनले मंगोलियाविरुद्ध दुई ओभरभित्रका लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए । एकै ओभरमा ६ छक्का प्रहार गरेको भने उनले पहिलो पटक हो । कतारसँगको अन्तिम २० औं ओभरमा ६ छक्का प्रहार गरेपछि दीपेन्द्रले भारतका युवराज सिंहको दुई कीर्तिमानको बराबर गरेका छन् । एसियाली खेलकुदमा दीपेन्द्रले ९ बलमै अर्धशतक बनाएर ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अजेय कीर्तिमान राखेका थिए ।

दीपेन्द्रको उक्त कहिल्यै नतोडिने कीर्तिमानले भने त्यसअघिको युवराजले १२ बलमा बनाएको अर्धशतकको कीर्तिमानलाई तोडेको हो । कतारविरुद्ध अन्तिम ओभर खेल्नुअघि दीपेन्द्र १५ बलमा २८ रन बनाएर खेलिरहेका थिए । १९ बलमा अर्धशतक पूरा गरेका दीपेन्द्रले २१ बलमा अविजित ६४ रन बनाए । जसमा उनका सात छक्का र ३ चौका सामेल छन् । नेपालले कतारलाई ३२ रनले पराजित गरी प्रतियोगितामा लगातार दोस्रो विजय पनि हात पारेको छ ।

दीपेन्द्रले यसै खेलमा २ विकेट पनि लिए । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरे पनि यसअघिका चार खेलाडीले सोही खेलमा विकेट भने लिएका थिएनन् ।

प्रकाशित : वैशाख २, २०८१ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?