कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

आर्मीलाई रोक्दै एपीएफ झापा गोल्डकपको फाइनलमा

अर्जुन राजवंशी

झापा — डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबारको पहिलो सेमिफाइनलमा आर्मीलाई १–० गोलले पराजित गर्दै एपीएफ पहिलो पटक गोल्डकपको उपाधि नजिक पुगेको हो । 

आर्मीलाई रोक्दै एपीएफ झापा गोल्डकपको फाइनलमा

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा लगातार चार पटकको उपाधि विजेता आर्मी आत्मघाति गोलका कारण यो पटक सेमिफाइनलमै रोकिन पुग्यो । खेलको ७० औं मिनेटमा एपीएफका विदेशी खेलाडी फोडे फोफोनाको कडा प्रहार आर्मीका श्रीराम चौधरीलाई लाग्दै अनगोल हुन पुग्यो । कर्नर बललाई फोफोनाले गोल पोस्टमा चार्ज गरेका थिए । फाइनलमा पुगेको एपीएफले कम्तिमा ७ लाख रुपैयाँ सुरक्षित गरेको छ ।

यो सिजनमा एपीएफले आर्मीमाथि दोस्रो पटक जित हासिल गरेको हो । यसअघि बागमती गोल्डकपमा पनि एपीएफसँग आर्मी पराजित भएको थियो । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले प्राप्त अवसरहरुलाई गोलमा परिणत गर्न चुकेका थिए । २५ औं मिनेटमा आर्मीका फत्तेमान घलेको कडा प्रहार एपीएफका गोलकिपर अञ्जल श्रेष्ठले पञ्च गरेर बाहिर पठाएका थिए । ४२ औं मिनेटमा एपीएफका फोफोनाको पासमा पाएको बललाई अनिश महर्जनले फ्रेमभित्र पार्न सकेनन् ।

४७ औं मिनेटमा एपीएफका सर्ज सोङ्गको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्यो । ५५ औं मिनेटमा बक्सभित्र पाएको बललाई अनिशले हेड गर्न भ्याएनन् । ६९ औं मिनेटमा बुद्धिमान राईले पेनाल्टी एरियाबाट गरेको प्रहार फितलो भयो । ७८ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठको हेडर पोस्ट नजिकैबाट बाहिरिन पुग्यो । लगत्तै आर्मीका फत्तेमानको पासमा पुनः बल पाएको नवयुगको दोस्रो हेडर पनि खेर गयो ।

अग्रता गुमाएपछि आर्मी पछिल्लो २० मिनेट आक्रमक बनेको थियो । तर, प्राप्त अवसरहरुमा उसका स्ट्राइकरहरुले एपीएफको गोलपोस्टमा धावा बोल्न सकेनन् । आर्मीका प्रशिक्षक मेघराज केसीले मिडफिल्डर र स्ट्राइकर लाइन चल्न नसक्दा नतिजा गुमाउन पुगेको बताए । उनले सोचेजस्तो खेल्न नसकेको र, अनगोल हुनु दुर्भाग्य भएको बताए ।

विजेता टिम एपीएफका प्रशिक्षक सुशील अधिकारीले खेलाडीहरुले खटेर खेलेकाले नतिजा सुखद् आएको बताए । उनले आर्मीलाई गोल गर्न रोक्न सक्नु नै आफूहरुको जित भएको टिप्पणी गरे । उनले विदेशी खेलाडीहरुले पनि राम्रो खेल पस्किएकाले गोल्डकपको फाइनलसम्म पुगेको धारणा राखे ।

खेलमा एपीएफका फोडे फोफोना प्लेयर अफ दी म्याच भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपको शनिबार दोस्रो सेमिफाइनलमा घरेलु टोली झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकप आयोजक समितिले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार महिलालाई निःशूल्क गोल्डकप हेर्ने व्यवस्था मिलाएको थियो । २८ गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १३ लाख तथा उपविजेताले नगद ७ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन २५, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?