कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

चर्च ब्वाइजको कठिन जित

अर्जुन राजवंशी

झापा — चर्च ब्वाइज युनाइटेड छैटौं झापा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार विजयी भएको छ । चर्च ब्वाइजले एनआरटी क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । 

चर्च ब्वाइजको कठिन जित

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा चर्च ब्वाइजको जितमा विदेशी खेलाडी अबायोमी फोकुन्लेले गरेको गोल निर्णायक बन्यो । खेलको ३६ औं मिनेटमा बक्सभित्रबाट सजित राईले मिलाएको पासमा फोकुन्लेले सेकेन्ड बार च्याप्दै गरेको प्रहार आकर्षक गोलमा परिणत भयो । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन ।

मंगलबार दुवै टिमले गतिलो खेल पस्कन सकेनन् । करिब आधा घण्टासम्म दुवै टिमले एकअर्काविरुद्ध कुनै अवसर सिर्जना गर्न सकेनन् । १० औं मिनेटमा चर्च ब्वाइजका फोकुन्लेले बक्सभित्र पाएको बल एनआरटीका डिफेन्डरले सदुपयोग गर्न दिएनन् । २९ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईले पहिलो पटक पोस्टमा प्रहार गरे । तर, उनको प्रहार एनआरटीका कप्तान तथा गोलकिपर पुजन होनाले सहजै नियन्त्रणमा लिए ।

एनआरटीका सिबेको ४८ औं मिनेटको प्रहार गोलकिपर दीप कार्कीको हातैमा पुग्यो । ६१ औं मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनाउने अवसर गुमाउन पुग्यो । एनआरटीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई फोकुन्लेले एक्लै अघि बढाएर पेनाल्टी एरियासम्म लगे पनि पोस्टमा प्रहार गर्न असफल भए । ७४ औं मिनेटमा चर्च ब्वाइजका सुरजज्यू ठकुरीले सिधैं पोस्टमा प्रहार गर्नुपर्ने बल पास मिलाउन खोज्दा खेर फाले ।

एनआरटीका विदेशी खेलाडी आफिज ओलावालेले ७६ औं मिनेटमा पेनाल्टी एरियामा पाएको बल प्रहार गर्न भ्याएनन् । ८५ औं मिनेटमा चर्च ब्वाइजका विजु भुजेलले एनआरटीका गोलकिपर पुजन बिट गरेर प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । आफ्नो टिमको खेलप्रति एनआरटीका प्रशिक्षक जीवन सिक्नेमान असन्तुष्ट देखिए । उनले आफ्ना खेलाडीले इनर्जी नै नभएजस्तो खेल पस्किएको गुनासो गरे । ‘जित–हार ठूलो कुरा भएन । तर, हाम्रा खेलाडीले फिनिसिङ नै दिन सकेनन् । उनीहरूले इनर्जी नै नभएजस्तो खेले,’ उनले भने ।

चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले खेल जिते पनि नतिजा सोचेजस्तो नआएको बताए । उनले झापा आएका टिमका चार खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पका लागि सोमबार काठमाडौं फर्किएकाले मंगलबार गतिलो खेल पस्किन नसकेको बताए । चर्च ब्वाइजका फरवार्ड समीर तामाङ, राजेश परियार, मिडफिल्डर सन्तोष खत्री र डिफेन्डर विशाल बस्नेत राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि काठमाडौं फर्किएका छन् । मंगलबार चर्च ब्वाइजका सजित राई प्लेयर अफ द म्याच भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरे । बुधबार त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफलाई कारबाही

झापा गोल्डकप आयोजक समितिले एपीएफ क्लबलाई कारबाही गरेको छ । खेलाडीको जर्सीको रंग र नम्बरविनाको जर्सीमा खेलाडी मैदानमा उतारेको भन्दै आयोजक समितिले एपीएफलाई लिखित स्पष्टीकरण सोध्नुका साथै ११ हजार रुपैयाँ जरिवाना गरेको छ ।

गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले मंगलबार पत्र जारी गर्दै झापा गोल्डकपको प्रतियोगिता नियमावलीको दफा १० को प्रावधान उल्लंघन गरेको भन्दै कारबाही गरिएको जनाएका छन् । एपीएफले सोमबार वाग्मती युवा क्लबविरुद्धको खेलमा तीन खेलाडीलाई नम्बरविनाको जर्सीमा मैदान उतारेको थियो ।

प्रकाशित : फाल्गुन २३, २०८० ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?