कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

झापा गोल्डकप : चर्च ब्वाइजसँग पुलिस पराजित

अर्जुन राजवंशी

बिर्तामोड — विभागीय टोली नेपाल पुलिस क्लबलाई रोक्दै चर्च ब्वाईज युनाइटेड छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न खेलमा पुलिसलाई २–० गोलले पराजित गर्दै चर्च ब्वाइज गोल्डकपको अन्तिम आठमा पुगेको हो ।

झापा गोल्डकप : चर्च ब्वाइजसँग पुलिस पराजित

चर्च ब्वाइजको जितमा विदेशी खेलाडी अबायोमी फोकुन्ले र समिर तामाङले गोल गरेका थिए । दुवै गोल दोसो हाफमा सम्भव भयो । ५४ औं मिनेटमा चर्च ब्वाइजले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो ।

उक्त अवसरलाई फोकुन्लेले सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए । वान भर्सेस वानको अवस्थामा बल अगाडि बढाएका फोकुन्लेलाई पुलिसका गोलकिपर सन्जित श्रेष्ठले अघि बढ्दै लडाएका थिए ।

रेफ्रिले गोलकिपर सन्जितलाई पहेंलो कार्ड देखाउदै चर्च ब्वाइजलाई पेनाल्टी प्रहार गर्ने निर्णय सुनाएका थिए । समिरले ७७ औं मिनेटमा टिमका लागि दोस्रो गोल थपेका थिए । मैदानको दायाँ भागबाट विदेशी खेलाडी फोकुन्लेले दिएको क्रस पासलाई समिरले बिना कुनै गल्ती पोस्टको दिशा दिएका थिए । खेलमा पहिलो २० मिनेट पुलिसले आक्रामक खेल पस्किएको थियो । तर, दोस्रो हाफमा भने चर्च ब्वाइज हाबी हुँदा पुलिस दबाबमा रहृयो ।

२२ औं मिनेटमा पुलिसका सन्जय धिमालले गरेको कडा प्रहार चर्च ब्वाइजका कप्तान समेत रहेका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए । ४३ औं मिनेटमा पुलिसका सन्जिव लामाको फ्रिकिक प्रहार चर्च ब्वाइजका गोलकिपर दिपले भलि गर्दै नियन्त्रणमा लिएका थिए । पहिलो हाफमा चर्च ब्वाइजले पुलिसको गोलपोस्टमा खासै आक्रमण बुन्न सकेन ।

२६ औं मिनेटमा चर्च ब्वाइजका सुरज जिउ ठकुरीले बक्सनजिकैबाट गरेको प्रहार फितलो बन्यो । ३७ औं मिनेटमा उसका राजेश परियारको फ्रिकिक बललाई फोकुन्लेले गरेको हेडर सशक्त बन्न सकेन ।

पुलिसले ६८ औं मिनेटमा खेलमा फर्किने अवसर गुमाएको थियो । उसका अनिश राईले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो । बक्सभित्रै रहेका पुलिसका विकास विकले फर्किएको बललाई पुनः प्रहार गरेका थिए । तर, उक्त प्रहार आकासिन पुग्यो । ७६ औं मिनेटमा पुलिसका कप्तान राम वाजीको छोटो पासमा विकासले वान टच प्रहार गरेपनि बलले पोस्टको दिशा लिएन ।

पहिलो हाफमा सम्हालिएको पुलिस दोस्रो हाफमा भने सन्तुलित बनेर खेल्न सकेन । पहिलो हाफमा सिर्जना गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गुमाउन पुगेको पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले बताए । उनले फ्रन्ट लाइनमा अनुभवी खेलाडी नभएकाले पनि प्राप्त अवसरहरु गुमेको बताए । उनले भने, ‘पहिलो हाफमा पाएका अवसरमा गोल गर्न सकेनौं । दोस्रो हाफमा डिफेन्स लाइन कमजोर बन्यो ।’

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले पेनाल्टी अवसरले टिमलाई खेलमा फर्किन सहयोग पुगेको प्रतिक्रिया दिए । ‘पेनाल्टी नपाएको भए खेल जित्न गाह्रो हुन्थ्यो । पेनाल्टीमार्फत गोल गरेपछि हामीलाई थप गोल गर्न र खेल नियन्त्रणमा राख्न सजिलो भयो’ राईले भने ।

आइतबारको खेलमा एक गोल गर्दै दोस्रो गोलका लागि पास निकालिदिएका चर्च ब्वाइजका विदेशी खेलाडी अबायोमी फोकुन्ले प्लेयर अफ दी म्याच भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा सोमबार सशस्त्र प्रहरीको एपीएफ र बागमती युवा क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ ।

प्रकाशित : फाल्गुन २०, २०८० २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?