कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सत्यवती एकेडेमीलाई एलपीएल लिग

चित्रांग थापा

धनगढी — अत्तरियाको सत्यवती एकेडेमीले आठौं संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ ।

सत्यवती एकेडेमीलाई एलपीएल लिग

सत्यवतीले फाप्ला क्रिकेट मैदानमा शनिबार फाइनलमा धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले हराएको थियो । रोमाञ्चक खेलमा १ सय २७ रनको लक्ष्य पछ्याएको धनगढीले १९.२ ओभरमा सबै विकेट गुमाई १ सय २१ रनमात्र बनायो । वसन्त कार्कीले ३५, सुनील धमलाले २८ र अमरसिंह राउटेलाले २७ रनको योगदान दिए । ३६/५ को स्थितिमा पुगेको धनगढीका लागि वसन्त र भुवनले छैटौं विकेटमा ३३ रनको साझेदारी गरेका थिए । सातौं विकेटमा वसन्तले अमरसिंहसँग ४३ रन जोडे । १८ औं ओभरमा अभिषेक कोइरालाले अमरसिंहको विकेट लिँदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृतराज दासले वसन्त कार्की र दीपक चन्दको विकेट लिएका थिए ।

जितका अन्तिम ओभरमा १० रन आवश्यक हुादा धनगढी स्पोर्ट्स क्लबसँग १ विकेट थियो । अन्तिम ओभर बलिङ गरेका सन्दीप खत्रीले पहिलो बलमा वाइड र दोस्रो बलमा २ रन दिएपछि तेस्रो बलमा विकास अग्रीलाई अन्तिम विकेटको रुपमा गुमायो । प्लेयर अफ द म्याच अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए । उनले त्यसका लागि ४ ओभरमा १५ रन खर्चिए । तृतराज दासले २, फिर्दोष अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले १–१ विकेट लिए ।

यसअघि टस जितेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनायो । पाँचौं नम्बरमा ब्याटिङ गरेका सन्दीप रजालीले ४१ रन बनाए । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । तृतराजले १३ बलमा २७ रन बनाउँदा ४ चौका र १ छक्का प्रहार गरे । फिर्दोष अन्सारीले २२, सन्तोष कार्की र समीर कार्कीले १० रन बनाए ।

पावर प्लेमा ३ विकेट गुमाएको अवस्थाबाट चौथो विकेटमा सन्दीप र फिर्दोशले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे । आठौं विकेटमा तृतराज र समीरले अविजित ३६ रनको साझेदारी गरे । धनगढीका दीपक चन्द, भोजराज भट्ट र भुवन कार्कीले २–२ विकेट लिए ।

विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर धनगढी स्पोर्ट्सका कप्तान भुवन कार्की घोषित भए । उनले ५ खेलमा १२ विकेट लिए । उत्कृष्ट ब्याटर शुक्लाफाँटा ब्ल्याकबक्सका किरण ठगुन्ना भए । उनले ३ खेलमा १ सय ३४ रन बनाएका थिए ।

उदीयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल भए । विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले पुरस्कृत गरे । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका १६ टिमको सहभागिता थियो ।

प्रकाशित : मंसिर ३०, २०८० २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?