२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्र

गुल्शन र रोहितको अर्धशतक, नेपालद्वारा ओमानलाई १८५ रनको लक्ष्य

काठमाडौँ — गुल्शन झाको आक्रामक र कप्तान रोहित पौडेलको जिम्मेवारीपूर्ण अर्धशतकमा नेपालले ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा ओमानलाई १ सय ८५ रनको लक्ष्य दिन सफल भएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णयमा गुल्शनले रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १ सय ८४ रन बनाएको हो ।

गुल्शन र रोहितको अर्धशतक, नेपालद्वारा ओमानलाई १८५ रनको लक्ष्य

गुल्शनले त्रिवि क्रिकेट मैदानमा २० बलमै अर्धशतक बनाएका थिए । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा गुल्शनको यो पहिलो अर्धशतक हो । उनले कुल २५ बल खेली ५ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

नेपाल १० ओभरमा ४ विकेट गुमाइ ६० रनमात्र बनाउन सकेको अवस्थामा गुल्शन र कप्तान रोहित पौडेलले ७ ओभरमा ७८ रनको साझेदारी गरेका थिए । बिलाल खानको बलमा गुल्शन आउट भएपछि यो साझेदारी टुटेको थियो । रोहितले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । उनले कुल ३७ बलमा ५२रन बनाउनेक्रममा ५ चौका र २ छक्का प्रहार गरे ।

रोहित र करणले अन्तिम ओभरमा फायज बटलाई २४ रन प्रहार गरेका थिए, जसमा करणले दुई छक्कासहित १९ रन बनाएका थिए । नेपालले अन्तिम ५ ओभरमा ७५ रन जोडेको थियो ।

नेपालको सुरुआत राम्रो रहेन । दोस्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोलेका आसिफ शेख ६ रनमै आउट भए । तेस्रो नम्बरको ब्याटिङमा नेपालले पुनः एक अर्को प्रयोग गर्दै सन्दीप जोरालाई पठाएको थियो । १३ बलमा १० रनमात्र बनाउन सकेका उनलाई ओमानका कप्तान जिसन मक्सुदले बोल्ड गरे ।

ओपनर कुशल भुर्तेलले ३१ रन बनाए । उनले २२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अफ स्पीनर अकिब इल्यासले भुर्तेल र कुशल मल्ललाई आउट गरि नेपाललाई पूर्ण रुपमा दबाबमा राखेका थिए । बोल्ड हुनु पूर्व मल्लले ९ बलमा ३ रनमात्र बनाउन सके । विवेक यादवले पनि १ रनमात्र बनाउन सके ।

फाइनलमा पुगेसँगैं नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

प्रकाशित : कार्तिक १९, २०८० १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?