कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९
हाङझाउ एसियाली खेलकुद

इतिहासकै ठूलो टिम पठाउँदै

राजु घिसिङ

काठमाडौँ — नेपाली खेलाडीले छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीबाट सन् १९५१ मा सुरु भएदेखि नै एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न थालेको हो ।

इतिहासकै ठूलो टिम पठाउँदै

महादेशीय खेलकुदको सबैभन्दा प्रतिष्ठित बृहत् प्रतियोगिताका १८ मध्ये १७ संस्करणमा नेपाली खेलाडी सहभागी भएका छन् । १९ औं एसियाली खेलकुद चीनको हाङझाउमा असोज ५ देखि हुँदै छ, जहाँ नेपालले इतिहासकै सबैभन्दा बढी २ सय ५३ खेलाडी पठाउने भएको छ ।

कोभिड–१९ महामारीका कारण १९ औं संस्करण एक वर्ष पछाडि धकेलिएको हो । पाँच वर्षअघि इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालका १ सय ८५ खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गरेका थिए । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले ४–४ वर्षमा आयोजना गर्ने प्रतियोगिताको १७ औं संस्करण (२०१४/बुसान, दक्षिण कोरिया) मा २ सय ३ नेपाली खेलाडी २५ खेलमा सहभागी भएका थिए, जुन एसियाली खेलकुदमा सबैभन्दा ठूलो सहभागिता हो । बुसानको कीर्तिमान यसपालि हाङझाउको सहभागिताले उछिन्दै छ ।


नेपालले १९५४/मनिला र १९६२/जकार्ता बाहेक सबै संस्करणमा प्रतिस्पर्धा गरे पनि ७२ वर्षयताको सहभागिता यात्रा धेरै ठूलो उपलब्धिमूलक बनाउन सकेको छैन । सुरुआती सातपल्ट सहभागितामै सीमित भयो । बल्ल सन् १९८६ (सोल) मा आएर नेपालले पहिलोपल्ट पदक जितेको थियो, जहाँबाट ८ कांस्य आयो । नेपालले यति धेरै पदक त्यसपछि जितेको छैन । अहिलेसम्म एसियाली खेलकुदमा नेपालले दुई रजत र २२ कांस्य गरी कुल २४ पदक जितेको छ । सहभागी संख्या बढ्दै जाँदा पदक भने घट्दै गएको छ । झन्डै पदकविहीन हुनुपर्ने परिस्थितिबाट गुज्रिएको नेपालले पछिल्ला चार संस्करणमा एक–एक पदकमात्रै जितेको छ ।


देश आर्थिक संकटमा रहेको अवस्थामा के ठूलो टिमको कीर्तिमान बनाउनु जरुरी थियो ? परिषदका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘झट्ट सुन्दा जम्बो टिमजस्तै लाग्छ । तर, नेपाली खेलाडी वा टिमले छनोट नखेली खेल्न पाउने सबैभन्दा ठूलो प्रतियोगिता नै एसियाली खेलकुद हो । ओलम्पिक खेल्न छनोट हुनुपर्छ, सजिलो छैन । त्यसैले यहाँ मिहिनेत गरिरहेका खेलाडीले एसियाली खेलकुदमा खेल्ने अवसर पाउनुपर्छ, जुन ‘एक्सपोजर’ ले दक्षिण एसियाली खेलकुद वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने क्षमताको बनाउँछ । त्यसैले हाम्रा लागि सक्दो धेरै खेलाडी/टिमलाई एसियाली खेलकुदमा सहभागी गराउन आवश्यक छ ।’


महिला १२७ र पुरुष १२६ खेलाडीसँगै प्रशिक्षक ५२, व्यवस्थापक ३०, मेडिकल अफिसियल ११ र नेपाली टिमको सचिवालयका लागि १८ जना पनि हाङझाउ जाँदै छन् ।


१३ औं साग २०१९ मा स्वर्ण र रजत पदक जितेको, टोकियो ओलम्पिक २०२० को प्रदर्शनका आधारमा हाइपर्फर्मेन्स कमिटीको सिफारिसअनुसार २३ खेलमा खेलाडी छनोट गर्दै परिषद्ले गत वर्ष नै हाङझाउ यात्राको तयारी थालेको थियो । दुई महिनाको प्रशिक्षणपछि एसियाली खेलकुद एक वर्ष सर्न पुग्यो । त्यसपछि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद भयो । अनि फेरि एसियाली खेलकुदको तयारी थाल्दा ६ खेल (ई–स्पोर्ट्स, डान्स स्पोर्ट्स, स्क्वास, टेनिस, रग्बी र क्यानोइङ) थपिएर खेल संख्या २९ पुगेको हो । यसपालि महिलाको भलिबल, फुटबल, कबड्डी, ह्यान्डबल, पुरुषको रग्बी र डान्स स्पोर्ट्समा नेपालको पहिलो सहभािगता हुनेछ ।


हाङझाउ जाने नेपाली टिमलाई बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारस्थित निवासमा बिदाइ गरे, जहाँ १९ खेलका खेलाडी, प्रशिक्षक, व्यवस्थापक उपस्थित थिए । वैदेशिक प्रशिक्षण र राजधानीबाहिर रहेका १० खेलका खेलाडी अनुपस्थित रहे । खेलाडीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यसपालि नेपालले राम्रो गर्ने विश्वास छ । मार्सल आर्ट्समा बढी सम्भावना देखेको छु । म पनि उद्घाटनमा हाङझाउ जाँदै छु, त्यहाँ तपाईंहरूकै साथमा हुनेछु । यो मेरा लागि पनि रोमाञ्चित हुने समय छ ।’

प्रकाशित : भाद्र २९, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?