कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

अन्जनलाई गोलको कीर्तिमान बनाउने अवसर

नेपाली राष्ट्रिय फुटबल टिमले थुवुना रंगशाला, यांगुनमा आज म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै
राजु घिसिङ

काठमाडौँ — विश्वकप २०२६ छनोटमा प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा यांगुन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार साँझ म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलको लागि मैदानमा उत्रिँदा अन्जन विष्ट व्यक्तिगत रूपमा अर्को एक खुड्किलो पार गर्ने संघारमा हुने छन् । उनले नेपाली पुरुष टिमको लागि सबभन्दा बढी गोलको कीर्तिमान भेटाउने प्रयास गर्नेछन् ।

अन्जनलाई गोलको कीर्तिमान बनाउने अवसर

गत असारमा बेंग्लोरमा भएको साफ च्याम्पियनसिप २०२३ को अन्तिम खेल (पाकिस्तानविरुद्ध १–० ले जितेको) चोटको कारण गुमाएका अन्जनले पूर्णत: फिट हुँदै दुई मैत्रीपूर्ण खेलका लागि यांगुन पुगेका छन् । सिनियर टिमसाग नौ वर्षको यात्रामा उनले १२ गोल गरेका छन् । उनले अन्तिम गोल साफ २०२३ को पहिलो खेल (कुवेतविरुद्ध ३–१ को हार) मा गरेका थिए, जसले उनलाई हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमाननजिक पुर्‍याएको थियो । तर, उनले उक्त साफको दोस्रो खेलमा (भारतविरुद्ध २–० को हार) चोटको कारण ४४ औं मिनेटमै मैदान छाड्नुपरेको थियो । त्यसयता उनी पहिलोपल्ट मैदानमा फर्किंदैछन् ।

विंगर वा स्ट्रइकरको भूमिकामा राष्ट्रिय टिमका लागि प्रभावशाली प्रदर्शन गरिरहेका २५ वर्षीय अन्जन केही वर्षयता नेपाली टिमको अग्रपंक्तिका मुख्य हतियारका रूपमा स्थापित छन् । उनले यांगुन उड्नुअघि भनेका थिए, ‘व्यक्तिगत गोलभन्दाभन्दा टिमको सफलता महत्त्वपूर्ण हुन्छ । टिमको लागि उत्कृष्ट प्रदर्शन गर्ने कोसिस गर्नेछु । गोल गर्ने प्रयास गर्नेछु ।’

नेपालले फिफा वरीयतामा १५ स्थानमाथिको टिम म्यान्मारविरुद्ध सन् २०१९ यता पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । चार वर्षअघि मान्डलयमा भएको मैत्रीपूर्ण खेल घरेलु टिम म्यान्मारले ३–० ले जितेको थियो । उक्त खेल अन्जनले पूरा समय खेलेका थिए । त्यसबेला पहिलो रोजाइमा खेलेका ११ खेलाडीमध्ये अन्जन र सेन्टरब्याक अनन्त तामाङ मात्रै अहिलेको टिममा छन् । अर्थात्, इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको आगमन र खेलाडीहरूको अस्ट्रेलिया पलायनले नेपाली टिममा ठूलै परिवर्तन ल्याएको छ ।

सन् २००३ मार्चमा दशरथ रंगशालामा भएको एएफसी कप २००४ छनोटमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो, जहाँ हरि र नीराजनले दुई–दुई गोल गरेका थिए । हरिको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल नै त्यही हो । नीराजनले सन् २००८ मा भएको साफ च्याम्पियनसिपमा माले (माल्दिभ्स) मा पाकिस्तानविरुद्ध निकालेको ४–१ को जितमा आफ्नो करिअरको अन्तिम गोल गरेका थिए । त्यसैले १३ गोलको कीर्तिमानलाई १३ वर्षपछि बराबरी गर्ने वा उछिनेर अगाडि बढ्ने अवसर अन्जनले पाएका छन् । अहिलेको टिममा अन्जन नजिक रहेका छन्, नवयुग श्रेष्ठ । नवयुगले १० गोल गरेका छन् ।

गत वर्ष दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल नेपालले ३–१ ले जित्दा ह्याट्रिक गरेका अन्जनलाई कीर्तिमानका लागि जर्मन प्रशिक्षक माइकल फेइटेनबेनरले सम्हालेको म्यान्मारविरुद्ध गोल गर्न सजिलो भने हुने छैन ।

विश्वकप छनोटको प्रारम्भिक चरणमा मकाउविरुद्ध खेल्ने तयारीमा रहेको म्यान्मारले नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि २७ सदस्यीय टिम बनाएको छ, जसमा थाइल्यान्ड, कम्बोडिया र इन्डोनसियमा लिग खेलिरहेका १० खेलाडीलाई पनि बोलाएको छ । त्यसैले पनि नेपाललाई म्यान्मारविरुद्ध उसैको घरेलु भूमिमा गाह्रो पर्नसक्छ । तर, विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणमा लाओसविरुद्ध खेल्ने तयारी भएकोले कमीकमजोरी पत्ता लगाएर अगाडि बढ्नु पनि नेपालको लागि राम्रो हुने छ ।

इन्डियन सुपर लिग (आईएसएल) क्लब पन्जाब एफसीमा आबद्ध गोलकिपर किरण चेम्जोङ, थाइल्यान्डको दोस्रो श्रेणीको लिग रायोङ एफसीका स्ट्राइकर/विंगर मनीष डाँगी र इन्डोनेसियाको लिग वान क्लब पर्सिक केडिरीका डिफेन्डर/मिडफिल्डर रोहित चन्दको एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको प्रशिक्षणमा नभए पनि उतैबाट यांगुन पुगेका छन् । प्रशिक्षक एनेसले २३ सदस्यीय टिममा हिसुब थपलिया, उत्सव राई, आशिष गुरुङलगायत केही नयाँ खेलाडीलाई पनि समेटेका छन् ।

प्रकाशित : भाद्र २२, २०८० १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?