१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

ई–स्पोर्ट्सलाई छैन प्रशिक्षक

एसियाली खेलकुदमा ई–स्पोर्ट्सलाई पदक खेलको रूपमा पहिलोपल्ट समावेश गर्दा नेपाली खेलाडी ५ खेलमा सहभागी हुँदै, प्रशिक्षकविहीन तयारीमा पदक जित्ने लक्ष्य
राजु घिसिङ

काठमाडौँ — अर्को महिना चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ, जहाँ नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दै छ । प्रशिक्षकको निगरानीमा २८ खेलको प्रशिक्षण स्वदेश–विदेशमा भइरहेका बेला ई–स्पोर्ट्सका खेलाडीहरू भने प्रशिक्षकविहीन छन् । यस्तै तयारीमा पनि पदक जित्ने आशा राखेका छन् ।

ई–स्पोर्ट्सलाई छैन प्रशिक्षक

पब्जी मोबाइलका सुविनकुमार प्रजापतिले भन्छन्, ‘कोच भएको भए के–कसरी खेल्ने भन्नेलगायत सबै कुरामा सहयोग हुन्थ्यो । आफ्नो कमजोरी सुधार गर्न सजिलो हुन्थ्यो । तर, हामीलाई त्यो सुविधा छैन । तैपनि पदक जित्ने लक्ष्य राखेका छौं, हामी कोसिस गर्नेछौं ।’

जाकार्ता–पालेम्बाङमा पाँच वर्षअघि भएको १८ औं संस्करणमा प्रदर्शनी खेलका रूपमा प्रवेश पाएको ई–स्पोर्ट्सलाई एसियाली खेलकुदमा यसपालि पदक स्पर्धाको रूपमा पहिलोपल्ट मान्यता दिइएको छ । हाङझाउमा ई–स्पोर्ट्सका सात स्पर्धा (खेल) समावेश गरिएको छ, जसमा युवापुस्तामा चर्चित पब्जी मोबाइललाई ‘पिस एलिट एसियन गेम्स भर्सन’ को रूपमा राखिएको छ ।

नेपाल ई–स्पोर्ट्स संघ (नेसा) द्वारा आयोजित एसियाली खेलकुदको छनोटमा सुविनसँगै दिपेश गुरुङ, समीर गुरुङ, साहस भण्डारी र संगीन भट्टराईको डीआरएस गेमिङको टिमले पब्जी मोबाइलमा सफलता पाएको थियो । डीआरएसले एउटा व्यावसायिक पब्जी टिमको रूपमा छलाङ मारिरहेको छ । पब्जीले व्यावसायिक प्रतियोगितामा पनि प्रशिक्षक वा मेन्टर अहिलेसम्म राखेको छैन । ‘पब्जीमा नेपाली कोच वा मेन्टर छैन,’ डीआरएस गेमिङका सीईओ भिक्टर पौडेल भन्छन्, ‘युरोपबाट कोच ल्याउन मासिक १० हजार डलर (अमेरिकी) बढी खर्च गर्नुपर्छ, यो हाम्रो क्षमतामा परेन ।’ उनले थपे, ‘हामीलाई एसियन गेम्समा प्रयोग गर्ने डिभाइस (मोबाइल सेट) किन्नै गाह्रो भइरहेको छ, जुन डिभाइस यहाँको बजारमा उपलब्ध छैन ।’

आयोजक चीन, जापान, दक्षिण कोरिया, ताइवानलगायत धेरैले प्रशिक्षकसहित पब्जीमा तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘श्रीलंकाले पनि अभ्यास थालेको ६–७ महिना भयो । हामीले भर्खर थाल्दैछौं । सामान्य प्रतियोगितामा कोच नभए पनि फरक पर्दैन । तर, एसियन गेम्स पूर्णतः फरक छ, रणनीतिक छ, जसमा एक सेकेन्ड पनि महत्त्वपूर्ण हुन्छ । सबै खेलाडीको समन्वय राम्रो हुनुपर्छ, यसका लागि रिसर्च गर्नुपर्छ, जुन काम कोचले गर्नुपर्छ । कोच नहुँदा खेलाडी आफैले रिसर्च गर्नुपर्ने बाध्यता छ, त्यसको असर प्रदर्शनमा पर्छ । कोच नभए पनि एसियन गेम्समा पदक जित्ने राम्रो अवसर छ, जसका लागि पर्याप्त अभ्यास आवश्यक छ ।’

भर्चुअल फुटबल ‘फिफा’ खेलाडी समीर गुरुङले प्रशिक्षकविहीन हुनुपर्दा रणनीतिक योजनामा सहयोग नपुगेको महसुस गरेका छन् । उनी भन्छन्, ‘कोच भएको भए धेरै सजिलो हुने थियो । खेलाडीभन्दा कोचको सोचाइ फरक हुन्छ । कोच हुनुको फाइदा हुन्छ । कोचले खेलको योजना र ट्याक्टिसमा सहयोग गर्छ । कोच नहुँदा खेलमा के–कसो गर्ने भन्ने कुरा आफ्नै हिसाबले गर्नुपरेको छ ।’ एसियाली खेलकुदका लागि वरीयता छुट्याउन सोल, दक्षिण कोरियामा भएको प्रतियोगितामा उनले राम्रै गरेको बताए, ‘म नम्बर एक हुनुपर्ने थियो तर भारतका खेलाडी र मेरै स्तर उस्तै थियो, जो जित्यो उही पहिलो भन्ने थियो, त्यस्तै भयो । एसियाली खेलकुदको तयारी राम्रै भइरहेको छ । हाङझाउमा जित्नकै लागि खेल्नेछु, उत्कृष्ट प्रदर्शन गर्नेछु ।’ सोलमा केही खेलाडी प्रशिक्षकसहित र केही प्रशिक्षकविना सहभागी भएको पनि उनले बताए ।

एरिना अफ भेलोर (एओभी) को प्रतिस्पर्धा पनि सामान्यभन्दा फरक स्वरुपमा एसियन गेम्स भर्सनमा हुँदै छ । यसमा पनि नेपाली खेलाडीको तयारी उस्तै छ । इन्साङ लिम्बू भन्छन्, ‘अरू टिमको कोच वा मेन्टर छ, सुविधा छ, हाम्रोचाहिँ केही छैन । हामी आफैं मिलेर ५ जनाएको टिम बनाएर छनोट भएका हौं । तयारी पनि हामीले आफ्नै हिसाबले गरिरहेका छौं । यहाँ सुविधा कम छ, एक्सपोजर छैन, त्यसैले पछाडि परेका छौं । इन्टरनेट जाने भइरहँदा समस्या छ । तर, हामीसँग कौशल राम्रो छ, सक्दो प्रयास गर्नेछौं । भाग्यले साथ दियो भने एसियन गेम्समा पदक जित्ने छौं ।’ वरीयताका लागि मकाउमा भएको प्रतियोगितामा नेपाली एओभी टिमले श्रीलंकालाई पराजित गरेर आफ्नो समूहमा दोस्रो स्थान हात पारेको थियो ।

एसियाली खेलकुदको तयारीमा चिनियाँ साथीले सहयोग गरिरहेको उल्लेख गर्दै इन्साङले भने, ‘राम्रो कोच वा मेन्टर भयो भने हामी धेरै माथिल्लो स्तरमा पुग्न सक्छौं जस्तो लाग्छ, पदक हात पार्न सक्छौं भन्ने लाग्छ ।’ उनीसहित सुयोगराज पौडेल, विजय राई, स्वष्तिक महर्जन, सुशान्तकुमार रोय र आयुष बस्नेतको एओभी टिमले आठ–नौ महिनायता नियमित अभ्यास गरिरहेको छ ।

डोटा–२ को टिम पनि उस्तै परिस्थितिबाट गुज्रिएको छ । ‘बेग्लाबेग्लै स्थानमा बसेर हामीले दैनिक ३ घन्टा अभ्यास गरिरहेका छौं। तर, बत्ती (बिद्युत) गइरहेकाले सोचेभन्दा गाह्रो भइरहेको छ,’ अभिनव शाक्य भन्छन्, ‘कोच नहुँदा त धेरै फरक पर्छ नै । खेलाडीको सोच खेलभित्रको हुन्छ । कोचको दृष्टिकोण खेलबाहिरबाट आउँछ, जसले खेलमा सुधार गर्न सजिलो बनाउँछ । कसैले नभनेसम्म आफ्नो गल्ती थाह हुँदैन, हामीले कोच नहुँदा यही अवसर गुमाइरहेका छौं ।’

दक्षिण कोरिया, इजरायल र इन्डोनेसियामा विश्व च्याम्पियनसिप र टर्कीमा ग्लोबल च्याम्पियनसिप खेलेका अभिनवले भने, ‘धेरै देशको टिममा कोच छन् । नेपालमा डोटाको कोच उपलब्ध छैन । प्रोफेसनल कोच ल्याउन मासिक २–३ हजार डलर पर्छ होला । सेसन (१ घन्टा) कै हिसाबले पनि प्रतिसेसन १–२ सय डलर पर्छ । यो सम्भव छैन ।’ उनका अनुसार नेसाले फिट गेमरमार्फत् एसियन गेम्सका लागि ई–स्पोर्ट्सका सबै खेलका खेलाडीलाई ‘मेन्टल हेल्थ’ र ‘मोटिभेसन सेसन’ दिइरहेको छ ।

१२ वर्षयता डोटा खेलिरहेका अभिनवसहित लुजा महर्जन, सिजन कार्की, प्रज्वल विष्ट, लक्ष्य तामाङ र लिगल साङ्बो लिम्बूको टिमले वरीयताका लागि भएको प्रतिस्पर्धामा भारतलाई हराएको थियो । ‘पदक जित्ने सम्भावनाचाहिँ गाह्रै देख्छु,’ अभिनवले भने, ‘चाइना, मलेसियाबाट विश्वकै उच्चस्तरका खेलाडीको टिम आउँदै छन् । उनीहरूका स्किल र तयारी राम्रो छ । हामी दक्षिण एसियामा राम्रो छौं तर एसियाली स्तरमा प्रतिस्पर्धा गर्न अझै समय लाग्छ । नेपालले सम्भावनाअनुसार डोटामा राम्रो गर्न सकेको छैन ।’

पब्जी मोइबल, एओभी, फिफा, डोटामा मात्रै होइन, ड्रिम थ्री किङडोम्स २ (डीथ्रीके) ले पनि प्रशिक्षक पाएको छैन । सुमिन श्रेष्ठ, सौजन्य श्रेष्ठ, पुकार आचार्य, अरुण मिश्र र विशेष पौडेलको डीथ्रीके टिमले प्रशिक्षकविना नै तयारी गरिरहेको छ । एसियाली खेलकुदका लागि व्यवस्थापकको जिम्मेवारी पाएका नेसाका कार्यसमिति सदस्य विमल ताम्राकार भन्छन्, ‘एओभी, डीथ्रीकेले दुई–तीन घन्टाको सेसन लिएको छ तर प्रोफेसनल कोच नै चाहिँ ल्याएका छैनौं । ई–स्पोर्ट्सका व्यावसायिक कोच वा मेन्टर नेपालमा छँदै छैन । डोटा, एओभी, डीथ्रीकेको कोचका लागि चाइनामा कुरा भइरहेको छ । अनलाइन कोचिङका लागि पब्जीमा पनि प्रयास गरिरहेका छौं ।’

एसियाली खेलकुदमा समावेश ई–स्पोर्ट्सका सात खेलमध्ये नेपालले लिग अफ लिजेन्ड्स र स्ट्रिट फाइटर ५ मा प्रतिस्पर्धा गर्ने छैन । व्यक्तिगत स्पर्धाको फिफा तथा टिम स्पर्धाको रूपमा रहेका पब्जी मोइबल, एओभी, डोटा र डीथ्रीकेमा नेसाले २३ खेलाडी छनोट गरेको छ । तर, राष्ट्रिय खेलकुद परिषद्ले ई–स्पोर्ट्सलाई ५ जनाको कोटामात्रै दिएको छ, जसमा पब्जीका चार र फिफाका एक खेलाडी छन् । त्यसैले बाँकी १८ खेलाडीको लाग्ने खर्च व्यवस्थापनले नेसालाई समस्या पारेको छ । ‘बजेट छैन, प्रायोजक खोजिरहेका छौं, सक्दै सकिएन भने एक–दुई जना तलमाथि हुनसक्छ,’ सदस्य ताम्राकारले भने । महादेशीय खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको लागि नेपाल ओलम्पिक कमिटीले २ सय ५३ खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

...

१९ औं एसियाली खेलकुद

नेपालले प्रतिस्पर्धा गर्ने ई–स्पोर्ट्सका विधा र सहभागी हुने खेलाडी/टिम

१) पिस एलिट एसियन गेम्स भर्सन (पब्जी मोबाइल)

खेलाडी : सुविनकुमार प्रजापति, दीपेश गुरुङ, समीर गुरुङ, साहस भण्डारी, संगीन भट्टराई

२) एरिना अफ भेलोर एसियन गेम्स भर्सन (एओभी)

खेलाडी : सुयोगराज पौडेल, विजय राई, स्वष्तिक महर्जन, इन्साङ लिम्बू, सुशान्त कुमार रोय, आयुष बस्नेत

३) ड्रिम थ्री किङडोम्स २ (डीटीके)

खेलाडी : सुमिन श्रेष्ठ, सौजन्य श्रेष्ठ, पुकार आचार्य, अरुण मिश्र, विशेष पौडेल

४) डोटा २

खेलाडी : लुजा महर्जन, अभिनव शाक्य, सिजन कार्की, प्रज्ज्वल विष्ट, लक्ष्य तामाङ, लिगल साङ्बो लिम्बू

५) फिफा अनलाइन ४

खेलाडी : समीर गुरुङ

प्रकाशित : भाद्र २१, २०८० ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?