कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

टेबलटेनिस उकास्न सक्रिय सुरज

खेलाडी, प्रशिक्षक, व्यवस्थापकका रूपमा तीन दशकयता सक्रिय सुरज केसी नेपाली टेबलटेनिसको स्तर बढाउन चाहन्छन्
राजु घिसिङ

काठमाडौँ — करिब ९ हजारको ज्यान लिएको ७.८ म्याग्निच्युडको भूकम्प गएको आठ वर्ष बितिसक्यो । तैपनि सुरज केसी कसैले ‘भूकम्प’ भन्यो कि दीपज्योति स्कुल गोंगबु सम्झन्छन् । उनी त्यो दिन (१२ वैशाख २०७२) दीपज्योतिका विद्यार्थीलाई टेबलटेनिस सिकाइरहेको हुनुपर्ने थियो । तर, उनी साथीभाइको लहैलहैमा दक्षिणकाली पुगेका थिए ।

टेबलटेनिस उकास्न सक्रिय सुरज

टेबलटेनिस प्रशिक्षक केसी नभएपछि त्यो दिन ठीक १२ बजे सुरु हुनुपर्ने प्रशिक्षण नै भएन । विद्यार्थी होस्टेलमै बसे, बाहिरका आएनन् । स्कुलको चारतले भवनको भुइँतलामा टेबलटेनिसको ट्रेनिङ हुन्थ्यो । त्यही भवन भूकम्पले ध्वस्तै भयो, पूरै ढल्यो । ‘हामीलाई भाग्यले बचायो,’ केसी झस्कन्छन्, ‘नियमित ट्रेनिङमा ८–१० विद्यार्थी हुन्थे । तर, त्यो दिन म साथीभाइसँग दक्षिणकाली हिँडेपछि त्यहाँ कोही भएनन् । स्कुल फर्कंदा ढलेको बिल्डिङ हेर्दा अझै पनि तर्सन्छु । त्यो दिन ट्रेनिङ गराएको भए हामी बाँच्थ्यौं भनेर सोच्न पनि सकिँदैन ।’

बुबा र काका फुटबलप्रेमी भए पनि उनी भने लैनचौरमा हुर्कंदा टेबलटेनिसतिर आकर्षित भए । खेलाडी छँदा क्षेत्रीय प्रतियोगितासम्म खेलेका उनले विभिन्न स्कुल र कलेजसहित भारतीय दूतावासमा टेबलटेनिस प्रशिक्षकको रूपमा काम गरे । अहिले सिकाउन छाडेका छन् । उनी खेल्ने उमेरमै व्यवस्थापनतिर लागे । २०५८ सालमा मेयर कप आयोजना गरेका उनले आफ्नै हजुरबाको नाममा कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता गर्दै खेलाडी उत्पादनमा टेवा दिन थाले । निस्ट कपलगायत कलेज र स्कुलस्तरीय थुप्रै प्रतियोगिता गरेका छन् ।

पूर्वराष्ट्रिय च्याम्पियन अजय सुवाल भन्छन्, ‘मैले प्लस टु पढ्दा ६ वटा प्रतियोगिता खेलेको थिएँ । त्यसमा पाँच प्रतियोगिता त सुरज दाइले आयोजना गर्नुभएको रहेछ । नेपालमा टेबलटेनिसका खासै प्रतियोगिता नभइरहेको अवस्थामा कृष्णध्वज स्मृति, मेयर कप, कलेज प्रतियोगिता गरिएको थियो । ट्रेनिङमात्रै गरिरहेको अवस्थामा ती प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लाग्थ्यो । त्यस्ता प्रतियोगिता धेरै भइरह्यो, बाहिर (विदेश) खेल्न पाइरह्यो, उच्चस्तरको ट्रेनिङ स्वदेश–विदेशमा गर्ने अवसर पाइरह्यो भने खेलाडीको स्तर बढ्ने हो, खेलको विकास हुने हो ।’ अजय अहिले टेबलटेनिस वेस्टर्न अस्ट्रेलियामा मुख्य प्रशिक्षक छन् ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

केसीसँग अस्ट्रेलियाको नेसनल टेबलटेनिस च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा अजयको सहायकको रूपमा ‘बेन्च कोच’ को भूमिका निर्वाह गरेको अनुभव छ । तर, अहिले उनी व्यवस्थापनमै केन्द्रित छन् । टेबलटेनिसमै सीमित छैनन्, फुटसल, फुटबल, बास्केटबललगायत विभिन्न खेलका वैदेशिक प्रशिक्षण र ‘टुर प्याकेज’ पनि व्यवस्थापन गरिरहेका छन् । अखिल नेपाल टेबलटेनिस संघका पूर्वसदस्यसमेत रहेका उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग २०१९) मा थाइल्यान्डमा भएको नेपाली राष्ट्रिय टिमको वैदेशिक प्रशिक्षणका लागि संयोजकको भूमिका निर्वाह गरे । नेपाली टेबलटेनिस टिमले घरेलु भूमिमा आयोजित उक्त सागमा १ रजत र ५ कांस्यसहित ६ पदक जितेको थियो ।

‘नेपाली टेबलटेनिसमा विभिन्न भूमिकामा तीन दशकयता सक्रिय छु । खुसी लाग्छ कि यति लामो समय खेलकुदमै क्रियाशील भइरहेको छु,’ काठमाडौं जिल्ला टेबलटेनिस संघका कोषाध्यक्ष रहेका ४० वर्षीय केसीले भने । समर युनिभर्सियाड २०१५ (ग्वाङजु, दक्षिण कोरिया), यूआईटीएम इन्टरनेसनल स्पोर्ट्स फिएस्टा मलेसिया २०१८ र २०१९ मा पनि नेपाली टिम सम्हालेका उनी आईटीटीएफ लेभल एक सर्टिफाइड कोच हुन् । उनले चार वर्षअघि पनि स्यान्टु श्रेष्ठ, नारायण घिमिरे, टेण्डी शेर्पा र घनश्याम शर्मालाई थाइल्यान्डमा विशेष प्रशिक्षण दिलाएका थिए ।

हुटिङ गर्दागर्दै खेलाडी

२०५१ देखि ०५४ सालसम्म लैनचौरको टेबलटेनिस कभर्डहलमा नियमित प्रशिक्षण गर्दै प्रतियोगिता खेलेका केसी भन्छन्, ‘शान्ति विद्या स्कुलमा पढ्दै गर्दा लैनचौरको कभर्डहलमा अन्तरस्कुल प्रतियोगिता हेर्न गइन्थ्यो । टेबलटेनिस रमाइलो लाग्यो । हुटिङ गर्न जान्थ्यौं, पछि यसमै लागियो ।’ त्यो बेला शान्ति विद्या जुनियर टेबलटेनिसमा राम्रो थियो । उसलाई चुनौती दिने स्कुल ग्यालेक्सी पब्लिक हुन्थ्यो । उनले भने, ‘नेपालका नम्बर एक सन्दीपसिंह महत, सुशील पौडेल, राजेन्द्र कपाली, गोपाल महर्जन, चन्दन शाही दाइ उत्कृष्ट खेलाडी हुनुहुन्थ्यो । त्यो बेलाको टेबलटेनिस धेरै राम्रो थियो, अनुशासित पनि ।’

‘जहाँ कोचसँग सिधै भेट्न पाइन्थ्यो, त्यहाँ पुगिहाल्थें,’ उनले भने, ‘यस्तैमा धर्ममान सर (वज्राचार्य) सँग प्रतियोगिता व्यवस्थापनबारे धेरै सिक्ने मौका पाएँ । त्यसैले चाँडै व्यवस्थापनतिर लागियो ।’ आफ्नै कम्पनी डार्कहर्स स्थापना गरी व्यवस्थापन थालेका उनी अचेल रेप्टायल्सबाट काम गर्छन् । शीर्ष १६ पुरुष खेलाडीले लिगको आधारमा प्रतिस्पर्धा गरेको सहाना प्रधान स्मृति घरेलु टेबलटेनिसकै एक उत्कृष्ट प्रतियोगिता मानिन्छ । तर, आर्थिक अभावमा निरन्तरता दिन नसकेको उनले बताए ।

२०६१ सालदेखि आयोजित कृष्णध्वज स्मृतिको सातौं संस्करणसम्म स्यान्टु, नविता श्रेष्ठ, दीप सावन, अजयदेखि विनेश खनियाँसम्म खेल्न भ्याएका छन् । स्यान्टु, नविता, दीप, अजय राष्ट्रिय च्याम्पियन भइसके । ‘कसैले नगरेका बेला मैले प्रतियोगिता आँटेको थिएँ, अहिले सम्झँदा खुसी लाग्छ,’ केसीले भने, ‘अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको रूपमा आठौं संस्करणलाई राजधानीबाहिर आयोजना गर्ने सोच्दैछु । किनभने बुटवल (रूपन्देही), विराटनगर (मोरङ), धरान (सुनसरी) बाट राम्रा खेलाडी आइरहेका छन् । मोफसलमा प्रतियोगिता आयोजना गर्दा आन्तरिक पर्यटन विकास पनि हुन्छ, बाहिरका खेलाडीले पनि सिक्ने र आफूलाई साबित गर्ने मोका पाउँछन् ।’

‘विकास रोक्नु हुँदैन’

सिक्न, सिकाउन, व्यवस्थापनमध्ये कुन काम गाह्रो ? उनी मुस्कुराए, ‘सिकाउने काम सधैं कठिन हुन्छ, स्कुल–कलेजमा सिकाएको छु, पहिलोपल्ट सिक्नेलाई सिकाउन त धेरै गाह्रो छ । आफै सिक्न पनि सजिलो छैन । त्योभन्दा गाह्रोचाहिँ व्यवस्थापन गर्नु रहेछ । तर, मैले टेबलटेनिस र नेपाली खेलकुदका लागि गर्नसक्ने काम गरिरहेको छु । यसमा खुसी छु ।’ औषधी व्यवसाय गरिरहेका उनी एकताका रेडियो नेपाल र एचबीसी ९४ एफएममा कार्यक्रम प्रस्तोता पनि थिए ।

तीन दशकयता नेपाली टेबलटेनिसको स्तरवृद्धि नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘यहाँसम्म पुग्छौं भन्ने हामीसँग कुनै आधार नै छैन । कोचहरूले मिहिनेत गरेका छन् तर अरू देश (टेबलटेनिसमा राम्रा) को लेभल नै अर्कै तहको छ, व्यावसायिकता धेरै छ, राम्रा खेलाडीलाई सबैखाले सुविधा छ । खेलकुदमा जबसम्म खेलाडीका अभिभावकको लगाव हुँदैन, तबसम्म खेल र खेलाडीको उच्चतम विकास हुँदैन ।’ स्तरवृद्धि नभए पनि टेबलटेनिसमा नेपालले गर्नसक्ने सम्भावता प्रशस्तै रहेको बताउँछन् ।

उनले थपे, ‘यहाँ खेलको विकास र उत्कृष्ट खेलाडी उत्पादनका निम्ति कार्ययोजना ल्याउने र कार्यान्वयन गर्ने दायित्व टेबलटेनिस संघको हो । तर, यहाँ खेलाडी र प्रशिक्षक मिहिनेत गर्छ, बाँकी कसैलाई मतलब छैन । त्यसैले त पढाइका लागि अस्ट्रेलिामा रहेका स्यान्टुले १५ दिनको तयारीमा यहाँ आएर राष्ट्रिय प्रतियोगिताको उपाधि जित्छन्, महिलातर्फ नविता अझै दुई–चार वर्ष नम्बर एक हुने देखिन्छ । विद्यालय र जुनियर स्तरबाटै प्रशिक्षक र प्रतियोगिता सञ्चालन नगरेसम्म नयाँ प्रतिभा आउन कठिन छ ।’

प्रकाशित : भाद्र ७, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?