कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीसामु युनाइटेड बन्ला तगारो ?

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले १२ वर्ष अगाडि वेम्बलीमा तीन उपाधिलाई पछ्याइरहेको म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । यो यस्तो खेल थियो, जसले इंग्लिस फुटबलको शक्ति स्थानान्तरण भइरहेको संकेत गरिरहेको थियो । अहिले सिटी आफैं तीन उपाधि पछ्याइरहेको छ । युनाइटेडसामु मौका छ त्यसलाई रोक्ने ।

सिटीसामु युनाइटेड बन्ला तगारो ?

म्यानचेस्टरका दुई क्लब शनिबार एफए कपको फाइनलमा भिड्दै छन् । सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब दुई जितसँगै सिटीले सन् १९९९ मा युनाइटेडले हात पारेको दुर्लभ उपलब्धिको बराबरी गर्न सक्छ । त्यो सिजन युनाइटेडले घरेलु लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेको थियो । सिटीसामु युनाइटेडपछि यस्तो उपलब्धि हात पार्ने दोस्रो टिम हुने अवसर छ । सिटी अहिले जुन शक्तिसहितको टिम छ, त्यसअगाडि युनाइटेड फिक्का देखिन सक्छ ।

सन् २०११ को एफए कप सेमिफाइनलमा यिनै दुई टिम भिड्दा यस्तो शक्ति समीकरण अकल्पनीय थियो । त्यतिबेला युनाइटेडले पाँच वर्षको अन्तरमा चौथोपल्ट इंग्लिस प्रिमियर लिग मात्र जितेन, युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको थियो ।

यो त्यही समय थियो, जतिबेला सर एलेक्स फर्गुसनको नेतृत्वमा युनाइटेडमा स्वर्णिम समय चलिरहेको थियो । अनि यो त्यही समय थियो, जतिबेला सिटी आफै युनाइटेडको छायाँमा थियो । केही पनि उपाधि जित्न नसक्ने टिमका रूपमा सिटीलाई व्यापक लज्जाबोध भइरहेको थियो ।

साँच्चै यस्तो थियो, हल्ला मात्र गर्न जान्ने सिटीमाथि युनाइटेडको दबदबा । ओल्ड ट्राफोर्डको स्ट्रेटफोर्ड दीर्घामा एउटा यस्तो ब्यानर राखिएको थियो । त्यसमा सिटीलाई सम्झाउने प्रयास गरिएको थियो, यो क्लबले उपाधि नजितेको कति भयो भनेर । त्यस ब्यानरमा लेखिएको थियो, ३५ । त्यस २०११ को सिजन सिटीले कुनै पनि उपाधि नजितेको ३५ वर्ष भइसकेको थियो । तर वेम्बलीको त्यस सेमिफाइनलपछि तय थियो, म्यानचेस्टरको आधा नीलो अर्को आधा रातोमाथि हाबी हुनेछ ।

त्यसै खेल जितेर सिटीले त्यो ब्यानरविरुद्ध मीठो उत्तरमात्र फर्काएको थिएन, एउटा ऐतिहासिक घोषणा पनि गरेको थियो, अब छायाँमा पर्ने टिम युनाइटेड हो सिटी होइन । वेम्बलीमा भएको पहिलो म्यानचेस्टर डर्बी परिवर्तनको सूचक नै थियो । सन् २००८ मा दुबईका शेख मन्सुरले सिटीको स्वामित्व किनेयता सिटी इंग्लिस फुटबलको वास्तविक शक्ति भएको छ । टिमले नयाँ उत्कृष्ट खेलाडी किन्नका लागि करोडौं डलर खर्चेको छ ।

सन् २००९ मै त हो फर्गुसनले सिटीलाई ‘हल्ला मात्र गर्ने छिमेकी’ को संज्ञा दिएको । अझ फर्गुसनले सिटी युनाइटेडका लागि कहिले पनि चुनौती नहुने दाबी गरेका थिए । तर उनको दाबीको ठीक विपरीत रोबर्टो मान्चिनीको नेतृत्वमा सिटीले आफूलाई अब्बल दर्जाको टिम बनाइरहेको थियो । त्यसकै आधारमा टिकेर याया टाउरेले खेलको एकमात्र गोल गरे, दोस्रो हाफको सात मिनेटपछि । फाइनलमा सिटीले स्टोकलाई हराएर उपाधि नै चुम्यो ।

त्यसको अर्को सिजन मान्चिनीको सिटीले युनाइटेडलाई ओल्ड ट्राफोर्डमै ६–१ ले हरायो । लिगको अन्तिम दिन क्विन्सपार्क रेन्जर्सलाई हराएर उपाधि पनि जित्यो । त्यो विजयी टिमका एक सदस्य नाइजेल डी जोङले भनेका थिए, ‘अब हामी हल्लामात्र गर्ने छिमेकी रहेनौं, हाम्रो त अब स्वरै ठूलो भएको छ ।’

सन् २०११ को त्यस सेमिफाइनलमा युनाइटेडलाई हराएयता सिटीले १५ ठूला उपाधि जितिसकेको छ । त्यसमा सात प्रिमियर लिगकै उपाधि पर्छन् ।

अहिले सिटी पेप ग्वार्डिओलाको नेतृत्वमा छ र टिमले अझ नयाँ उचाइ छोएको छ । पछिल्ला ६ सिजनमा सिटीले पाँचपल्ट लिग जितेको छ । यता एरिक टेन हागको नेतृत्वमा युनाइटेड आफैं पनि ब्युँझिने प्रयासमा छ । लिगमा तेस्रो आएको युनाइटेडले यसपल्ट लिग कप पनि जितेको छ । शनिबार यही युनाइटेडले एफए कप फाइनलमा सिटीलाई हराउने हो भने त्यसले एक अर्को नयाँ सन्देश दिन सक्छ । फाइनलमा साँच्चै सिटीलाई युनाइटेडले ऐतिहासिक तगारो तेर्साउँदै छ ।

प्रकाशित : जेष्ठ २०, २०८० ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?