कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्च ब्वाइज नजिकिँदै

हिमेश

काठमाडौँ — धेरै अर्थमा चर्च ब्वाइज युनाइटेडको प्रदर्शन च्याम्पियनकै जस्तो रह्यो । तर, यसको मुख्य कारण प्रतिद्वन्द्वी एपीएफको खराब प्रदर्शन पनि थियो । त्यसैले दशरथ रंगशालामा मंगलबार चर्च ब्वाइज सजिलै विजयी रह्यो । टोलीसँग ४१ अंक भएको छ । यो शीर्षस्थानमा ४ अंकको अग्रता हो । 

चर्च ब्वाइज नजिकिँदै

एपीएफविरुद्ध कप्तान अनन्त तामाङले गोल गरेपछि चर्च ब्वाइजका खेलाडी । तस्बिर : केशव थापा/कान्तिपुर

त्रिभुवन आर्मी क्लबमाथि मंगलबार दशरथ रंगशालामै भएको अर्को खेलमा सजिलो जित निकालेको जावलाखेलको ३७ अंक भएको छ । टोली दोस्रो स्थानमा उक्लेको छ । चर्च ब्वाइजको यो अग्रता कति बलियो भने हो भन्ने तथ्य बुधबारको खेलले निर्णय गर्नेछ, जतिबेला तेस्रो स्थानमा झरेको मछिन्द्रले सातदोबाटोको सामना गर्नेछ ।

दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रसँग ३६ अंक छ । यो चर्च ब्वाइजसँग ५ अंकको दूरी हो । सम्भवतः चर्च ब्वाइज आफ्नो अन्तिम तीन खेलमा नाटकीय नतिजाको सिकार भएन भने लिग उपाधितर्फ उन्मुख भएको छ । कम्तीमा उपाधि जित्ने समीकरण टोलीकै पकडमा छ । यस्तोमा चर्च ब्वाइजसामु लगातार ‘बी’ र ‘ए’ डिभिजनको उपाधि जितेको कीर्तिमान बराबरी गर्ने अवसर हुनेछ । यसअघि कीर्तिमान आठपल्टको च्याम्पियन मनाङ मर्स्याङ्दीले ०४२ सालमा ‘बी’ र लगत्तै अर्को वर्ष ०४३ मा ‘ए’ डिभिजनको उपाधि जितेको थियो । वर्ष ०६० देखि नेपाली घरेलु फुटबलमा आधुनिक लिग सुरु भएको तथ्य आधार मान्ने हो भने त्यसयताका ११ संस्करणमा उपाधि जित्ने टिमको अग्रता औसत ४ अंक पर्याप्त छ ।

चर्च ब्वाइजलाई यो ऐतिहासिक बाटोबाट रोक्ने सबैभन्दा ठूलो अवसर भने जावलाखेलको हातमा छ । दुवै टिमले २४ औं चरणमा एकापसको सामना गर्नेछ । यो सम्भवतः लिगको अघोषित फाइनल हुन सक्नेछ । त्यसपछि चर्च ब्वाइजले थ्रीस्टार र खुमलटारविरुद्ध खेल्नेछ । जावलाखेलको दुई खेल भने सातदोबाटो र थ्रीस्टारविरुद्ध छ । मछिन्द्रले अन्तिम दुई खेलमा हिमालयन शेर्पा र मनाङको चुनौती बेहोर्ने छ ।

लय कायम राख्ने उद्देश्य

चर्च ब्वाइजको जितमा मौसम सुब्बाले तेस्रो मिनेटमा गोलको खाता खोले । त्यसपछि कप्तान अनन्त तामाङले दुई गोल थपे । उनले पहिलो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेयता ५५ औं मिनेटमा अर्को गोल थपेका हुन् । आशिष चौधरीले ८९ औं मिनेटमा चौथो गोल गरे । त्यसको ठीक अगाडि एपीएफका लागि आभाष लामिछानेले एक गोल फर्काएका थिए । आभाषले लगातार तेस्रो खेलमा गोल गरेका छन् । यी तीन खेलमा उनको व्यक्तिगत गोलसंख्या ४ रहेको छ ।

यता पछिल्ला तीन खेलमा जितविहीन चर्च ब्वाइजले त्यसलाई अन्त्य गरेको हो । यो तीन खेलमा टोलीले दुई अंकमात्र बटुलेको थियो । ‘लगातार तीन खेलमा हामीले अंक गुमाएपछि आज स्पष्ट जितका लागि मैदानमा उत्रेका थियौं,’ खेलपछि प्रतिक्रिया दिँदै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हामी जितको लय कायम राख्ने उद्देश्यमा हुनेछौं । तीन चरणको खेल बाँकी छँदा अहिले नै उपाधि जित्नेमा ढुक्क भने हुन सकेका छैनौं ।’

उनले थपे, ‘लगातार अंक गुमाएपछि खेलाडीले थप मिहिनेत गरेका थिए र अहिलेको जितले खेलाडीमा आत्मविश्वास फर्केको छ । एपीएफविरुद्धको आजको खेल हाम्रा लागि निकै महत्त्वपूर्ण थियो । हाम्रो उद्देश्य भनेको लिग उपाधि जित्ने नै हो र टिम यसका लागि हकदार छ । जावलाखेविरुद्धको अबको खेल धेरै अर्थमा निर्णायक हुनेछ ।’ चर्च ब्वाइज संकटासँग पराजित हुनु अगाडि हिमालयन शेर्पा र मनाङसँग बराबरीमा रोकिएको थियो ।

आर्मीको महँगो जिद्दी

यसपल्टको लिगको एकमात्र अर्गानिक टिम रहेको छ आर्मी । अर्गानिक के अर्थमा भन्दा आर्मीको जितमा विदेशी खेलाडी छैनन् । विदेशी खेलाडी अनुबन्ध गर्ने आर्मीको नीति नै छैन । तर, यो जिद्दी टोलीका लागि महँगो साबित हुँदै छ । अन्य टिम विदेशी खेलाडीको मदतमा बलियो हुँदा आर्मीले त्यस विकल्पलाई अपनाउन नै खोजेको छैन । त्यसैले सायद आर्मी जावलाखेलसँग सजिलै पराजित रह्यो र ३० अंकमै सीमित रह्यो । यो हारले जहाँ आर्मीको उपाधि होडको सम्भावना समाप्त भएको छ, त्यहीं टोलीमाथि रेलिगेसनको दबाब बढेको छ ।

आर्मीले पछिल्ला तीन खेलमा एक अंकमात्र बटुलेको छ । ‘आर्मीको विदेशी खेलाडी अनुबन्ध गर्ने नीति रहेको छैन । यसले अबको लिगमा हामीलाई गाह्रो हुनसक्छ,’ सहायक प्रशिक्षक राजु तामाङले भने । तर, उनले आर्मीको यो नीतिले घरेलु फुटबल र राष्ट्रिय टिमको तयारीमा भने टेवा पुगिरहेको दाबी गरे ।

जावलाखेलको जितमा दुवै गोल संयोगले विदेशीकै नाममा रह्यो । एनकोटो मसोबीले ५६ औं मिनेटमा पहिलो गोल गरेपछि ७९ औं मिनेटमा दोस्रो थपे । जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले खेलपछि भने, ‘यो जितले हामी फेरि उपाधि होडमा फर्केका छौं ।’

प्रकाशित : जेष्ठ १७, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?