मुकेश र राजपुरा १० किमि रोड रेस च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्मीका धावक मुकेश पाल र पुलिसकी धाविका राजपुरा पछाईले चौथो वीर गणेशमान सिंह १० किमि रोड रेसको उपाधि जितेका छन् । शनिबार काठमाडौंको दरबारमार्गमा आयोजित प्रतियोगितामा राजपुराले कोर्स रेकर्डसहित ३६ मिनेट ४३.२ सेकेन्डमा दौड पूरा गरिन् । उनले आफ्नै नामको ३७ मिनेट १०.५ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । डिफेन्डिङ च्याम्पियन एपीएफका गोपीचन्द्र पार्की दोस्रो भए । उनले ३१ मिनेट ३८.६८ सेकेन्ड लगाए । आर्मीका दीपक अधिकारी ३१ मिनेट ४७.४२ सेकेन्डबाट तेस्रो भए । दीपक दुई साताअघि एसियन क्रसकन्ट्रीमा स्वर्ण जितेका थिए ।

महिलामा पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेन्डबाट दोस्रो र एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट २६.०३ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे । दुवैका विजेताले समान ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार पाए । कोर्स रेकर्ड बनाएकी राजपुराले थप १० हजार प्रदान गरिएको आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७९ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्

‘पर्याप्त सुनचाँदी नहुँदा कालोबजारी’

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले सरकारले बजार मागअनुसार पर्याप्त सुनचाँदी आपूर्ति गर्न नसक्दा कालोबजारी मौलाइरहेको बताएका छन् । राज्यले १५ वर्षदेखि सुनमा लगाएको कोटा प्रणाली र बैंकहरूले मात्र आयात गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायी ठूलो पीडामा परिरहेको उनको भनाइ छ ।

‘मुलुकमा प्रतिदिन ३० किलो सुन आवश्यक रहे पनि नेपाल राष्ट्र बैंकले १० किलो मात्र उपलब्ध गराउँदै आएको छ । आपूर्ति कम र माग बढी भएका कारण यस क्षेत्रमा कालोबजारी मौलाइरहेको छ,’ काठमाडौं सुनचाँदी व्यवसायी संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष शाक्यले भने, ‘यसले सम्पूर्ण व्यवसायीको बदनाम भइरहेको छ ।’

बैंक र व्यवसायीमार्फत सिजनमा दिनको ३० किलो र अफसिजनमा २० किलो सुन आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष उनले माग गरे । विदेशबाट आफ्नो सुविधामा ल्याउने सुनलाई उनीहरूको आवश्यकताअनुसार खरिदविक्रीका लागि मान्यता दिन पनि संघले आग्रह गरेको छ । स्थानीय बजारमा पुराना गरगहना फिर्ता एवं बिक्री हुन आउने खरिदलाई पनि आधिकारिक मान्यता दिनुपर्ने संघको माग छ ।

कार्यक्रममा व्यवसायीका माग सम्बोधन गर्न आफूले सक्दो पहल गर्ने वाग्मती प्रदेश सांसद हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रतिबद्धता जनाइन् । ‘पहिला गरगहना निर्यात हुन्थ्यो । अहिले त्यो अवस्था छैन,’ उनले भनिन्, ‘सुनचाँदी व्यवसाय प्रवर्द्धन गर्न आवश्यक भूमिका खेल्नेछु ।’


प्रकाशित : चैत्र ११, २०७९ २२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×