प्रथम महिला उपमेयर कपको उपाधि आठराई त्रिवेणीलाई

आनन्द गौतम

ताप्लेजुङ — फुङ्लिङ नगरपालिकाद्वारा आयोजित प्रथम उपमेयर कप महिला फुटबलको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले जितेको छ । आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो ।

प्रथम महिला उपमेयर कपको उपाधि आठराई त्रिवेणीलाई

बुधबार सम्पन्न खेलमा जितका लागि आठराई त्रिवेणीकी अनुसा आङ्बुहाङ र प्रिती गुरुङले गोल गरेका थिए । अनुसाले २३ र प्रितीले ४२ औं मिनेटमा गोल गरे । फुङ्लिङको तर्फबाट विनिता खवासले गरेको गोल नै सान्तवना बन्यो । विनिताले पहिलो हाफको १४ औं मिनेटमा नै खाता खोलेकी थिइन् । सुरुआती अग्रता लिएको नगरपालिकाले त्यसैमा चित्त बुझाउनु पर्‍यो ।

उपाधि हात पारेको आठराई त्रिवेणीले नगद १ लाख ११ हजारसहित ३ वर्षे रनिङ कप र प्रमाणपत्र पाएको छ । उपविजेता फुङ्लिङले नगद ५५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र पायो । कप १ सय तोला चाँदी र आधा तोला सुनजडित रहेको नगरपालिका उपप्रमुख भिमादेवी ओझाले बताइन् ।

विधागत पुरस्कारतर्फ बेष्ट डिफेन्डरमा फुङ्लिङकी अनुसार थेबे, मिडफिल्डरमा आठराई त्रिवेणीकी रेश्मा थलङ, किपिङमा आठराई त्रिवेणीकी एलिसा लिम्बू, फरवार्डमा फुङ्लिङकी सुजता पालुंवा बनिन् । उदयमान खेलाडी फुङ्लिङकी विनिता खवास र बेष्ट प्लेयरमा आठराई त्रिवेणीकी अनुसा आङ्बुहाङ नगदसहित सम्मानित भए । उनीहरुलाई नगदसहित सम्मान गरियो ।

महिला खेलाडीहरुको क्षमता प्रदर्शन गर्न र अगाडि बढाउनका लागि नारी दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । महिलालाई समाजमा थप सशक्त बनाउन खेल क्षेत्रमा उनीहरुको सहभागिता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उपप्रमुख ओझाले बताइन् ।

एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा आठ पालिकाको सहभागिता रहेको थियो । मैवाखोला गाउँपालिकाले भने प्रतियोगितामा सहभागिता जनाएन । नगरपालिकाले वार्षिक क्यालेण्डर बनाएको प्रतियोगिता प्रत्येक वर्ष नारी दिवसकै अवसरमा गरिने ओझाले बताइन् ।

विजेतालाई जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख ओझा, मिक्वाखोला गाउँपालिका अध्यक्ष भत्तबहादुर कार्की, आठराई त्रिवेणीका अध्यक्ष दिपेन पोमु लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : फाल्गुन २४, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?