कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हालन्डको ह्याट्रिकमा सिटी विजयी

एपी

म्यानचेस्टर — म्यानचेस्टर सिटीका लागि इर्लिङ हालन्डले गरेको चौथो ह्याट्रिकको मद्दतले पेप ग्वार्डिओलाको टिमले आइतबार इंग्लिस प्रिमियर लिगमा रेलिगेसन दबाबबाट गुज्रिरहेको उल्भ्सलाई ३–० ले हराएको छ । यस प्रदर्शनसँगै सबै प्रतियोगितामा गरेर हालन्डको गोल संख्या यस सिजन ३१ पुगेको छ ।

हालन्डको ह्याट्रिकमा सिटी विजयी

सिटी आएयता उत्कृष्ट प्रदर्शन गरिरहेका नर्वेली खेलाडीले उल्भ्सविरुद्ध अझ माथिल्लो दर्जाको खेल प्रदर्शन गरेका थिए । पछिल्लो बिहीबार मात्रै टोटेनहमविरुद्ध तीन खेलको गोल खडेरी तोडेका हालन्डले पहिलो र दोस्रो हाफबीचको १४ मिनेटको अन्तरमा तीन गोल गरे । केभिन डे ब्रुएनाको पासमा हालन्डले ४० औं मिनेटमा पहिलो गोल गरे । लगत्तै दोस्रो हाफको सुरुमै प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरे । उल्भ्सका कप्तान रुबेन नाभेसकाले इलकयी गुन्डोगनमाथि गरेको फलमा सिटीलाई पेनाल्टी प्राप्त भएको थियो र हालन्डले त्यसमा ५० औं मिनेटमा दोस्रो गोल थपे ।

खेलको ५४ औं मिनेटमा उनले आफ्नो सानदार ह्याट्रिक पूरा गरे । यससँगै हालन्डले सिटीका लागि लिगका २० खेलमा २५ औं गोल पूरा गरेका छन् । लिगमा आधा सिजन बाँकी रहेको स्थितिमा हालन्ड नै गोल्डेन बुट अवार्डका लागि निकै बलियो प्रत्याशी भएका छन् । सन् १९९२ देखि इंग्लिस प्रिमियर लिग सुरु भएको थियो र त्यसको आधा सिजनमा २५ गोल नै यो अवार्ड जित्नका लागि पर्याप्त रहेको थियो । यस्तोमा हालन्डले एकै सिजन सर्वाधिक गोलको कीर्तिमान पनि बनाउन सक्नेछन् ।

हालन्डले चौथो ह्याट्रिक गर्दै लिभरपुलका मोहम्मद सलाहको बराबरी पनि गरेका छन् । यस्तै सिटीकै लागि सर्जियो एगुइरोले गरेको १२ ह्याट्रिकको एकतिहाइ पनि पूरा गरेका छन् । अर्जेन्टिनी एगुइरोले सिटीका लागि एक दशक बिताउने क्रममा यो उपलब्धि हात पारेका हुन् । एकै सिजन सर्वाधिक ह्याट्रिकको कीर्तिमान भने इंग्ल्यान्डकै एलान सिएररको नाममा छ र उनले त्यसमा पाँच तीन गोलको उपलब्धि आत्मसात् गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिँदै सिटीको डिफेन्डर जोन स्टोन्सले हालन्डको खुलेर प्रशंसा गरे र भने, ‘उनी निकै उम्दा खेलाडी हुन् । म उनको प्रदर्शनलाई लिएर निकै गर्व महसुस गर्छु । उनको लगातार गोल गर्ने बानी छ ।’ यो जितपछि सिटीको २० खेलबाट ४७ अंक भएको छ । आइतबारको अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले । यो नतिजापछि ब्रेन्टफोर्ड ३० अंकमा आठौं स्थानमा रह्यो । लिड्स भने १८ अंकमा १५ औं स्थानमा छ ।

प्रकाशित : माघ ९, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?